Technology Khabar २८ भाद्र २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, २८ भदौ । मोबाइल एक्स्पो २०७२ को तेस्रो दिन ब्राण्डेड मोबाइल खरिद गर्ने ग्राहकहरुको भिड देखिएको छ ।एक्स्पोको तेस्रो दिनसम्म आईपुग्दा ग्राहकहरुले विभिन्न मोडलका ब्राण्डेड मोबाइल खरिद गरेका छन् ।
विभिन्न ब्राण्डका गुणस्तरीय र वारेन्टीसहितको मोबाइल मात्र बिक्री गर्ने गरिएको मोबाइल एक्स्पोमा उपभोक्ताहरुले आफ्नो रुचीका ब्राण्डको मोबाइलको बारेमा निकै सोधखोज गरिरहेको आयोजकमध्येका एक संजिव थापाले जानकारी दिए । उनले भने, ‘हाम्रो उदेश्य पनि उपभोक्तालाई ब्राण्डेड फोनहरु सूपथ मूल्यमा बिक्री गर्नु हो, त्यसैले पनि ग्राहकहरु आकर्षित भएका हुन् ।’
एक्स्पो तथा मलका सबै मोबाइल शपहरुबाट गुणस्तरीय मोबाइल फोनहरु सिल प्याक अवधारणामा मात्र बिक्री गरिएका छन् । अन्य बजारहरुमा सिल प्याकेट खोलिएका र विभिन्न एसेसरिजहरु साटिएका फोनहरु बिक्री हुने गरेकोमा यो मोबाइल कम्प्लेक्सबाट भने कम्पनीको लोगो सहितको सिल प्याक फोनहरु मात्र बिक्री गरिएको छ । सिल प्याकसहितको मोबाइल बिक्री गर्ने अवधारणा नेपालमा नै पहिलो पटक लागू गरिएको हो, जसले उपभोक्ताले गुणस्तरीय मोबाइल फोन र एसेसरिजहरु खरिद गर्न पाउनेछन् ।
एक्स्पोमा मोबाइल खरिद गर्न विभिन्न क्षेत्रबाट ग्राहकहरु आउने क्रम निरन्तर रहेको छ भने मोबाइल शपहरुमा पनि निकै भिडभाड रहेको छ । तेस्रो दिनसम्म आईपुग्दा मोबाइल एक्स्पोमा १ लाख ५० हजार भन्दा बढि अवलोकनकर्ताहरुले अवलोकन गरिसकेका छन् ।
एक्स्पोमा विभिन्न ब्राण्डहरुका बिचमा पनि सामसुंग तथा हुवावे ब्राण्डको माग निकै देखिएको छ । एक्स्पोमा तेस्रो दिनसम्म सामसुंगका विभिन्न मोडलका स्मार्टफोनहरु सबैभन्दा धेरै बिक्री भएका छन् भने सामसुंगलाई हुवावे मोबाइल ब्राण्डले प्रतिस्पर्धा दिईरहेको आयोजकहरुले जानकारी दिए ।
एक्स्पो अवधिभर मल्टिब्राण्ड शोरुम तथा अन्य मोबाइल शपबाट ४० भन्दा बढि ब्राण्डका मोबाइलहरुको खरिदमा विशेष छुट दिईएको छ । ललितपुर मोबाइल कम्प्लेक्सले संचालन गरेको मल्टिब्राण्ड मोबाइल शोरुममा ४० भन्दा बढि मोबाइल ब्राण्डहरु, मोबाइल पसलहरु तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आएका छन् । त्यस्तै नेपालमा सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् ।
भदौ २५ गतेदेखि ३ गतेसम्म ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्सपो २०७२ आयोजना भईरहेकोछ । कम्प्लेक्सको शुभारम्भको अवसरमा आयोजना भएको मेला अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराईएको छ ।
एक्स्पोको अवसरमा हरेक दिन लक्कि ड्रमार्फत पाँच वटा स्मार्टफोन उपहार प्रदान गरिनेछ । मलको उदघाट्न तथा मोबाइल कम्प्लेक्सको शुभारम्भसँगै आयोजना भईरहेको एक्स्पोमा करिब १० लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरुमध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित: २८ भाद्र २०७२, सोमबार