सञ्चार मन्त्रालयको पूँजीगत खर्च ५.१९ प्रतिशत मात्रै, मातहत तीन निकायको खर्च प्रगति शुन्य

Technology Khabar १६ जेष्ठ २०७८, आईतवार

सञ्चार मन्त्रालयको पूँजीगत खर्च ५.१९ प्रतिशत मात्रै, मातहत तीन निकायको खर्च प्रगति शुन्य
File Photo

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ को पूँजीगत खर्च निकै कमजोर देखिएको छ ।

हालै अर्थमन्त्रालयले प्रकाशित गरेको तथ्यांकअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आवको फागुन मसान्तसम्म कुल ५.१९ प्रतिशत मात्र पूँजीगत खर्च गर्न सकेको देखिएको हो । पूँजीगत बजेटमा विकास निर्माण र भौतिक निर्माणलगायतका विषयहरु राखिएका हुन्छन् ।

मन्त्रालय मातहतका सम्पूर्ण निकायहरुको पूँजीगत खर्चको अवस्था सार्वजनिक गर्दै खुद बजेट १ अर्ब ८८ करोड ५८ लाख ६० हजार रुपैयाँ मध्ये फागुनमसान्त सम्म केबल ९ करोड ७८ लाख ९७ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको देखिएको छ ।

तथ्यांकमा मन्त्रालय आफैंले भने पूँजीगत बजेटमध्ये १०.४८ प्रतिशत रकम उपयोग गर्न सकेको देखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई मात्रै चालु आवमा १ करोड १४ लाख रुपैयाँ पूँजीगत बजेट बिनियोजन गरिएको थियो ।

मन्त्रालय मातहका निकायहरुमध्ये तीनवटाको पूँजीगत खर्च नै शुन्य रहेको देखिन्छ । जसमा सूचना तथा प्रशारण विभाग, केन्द्रीय धनादेश कार्यालय र सुरक्षण मुद्रण केन्द्र रहेका छन् ।

मन्त्रालयअन्तरगत सबैभन्दा धेरै पूँजीगत खर्च गर्ने निकायमा न्यूनतम पारिश्रमिक निर्धारण समिति रहेको छ जसले बजेटको ९९.९५ प्रतिशत खर्च फागुन मसान्तसम्ममा गरिसकेको छ ।

मन्त्रालयले पूँजीगत खर्चमा झिनो प्रगति गरेपनि चालु खर्चतर्फ भने ५१.०९ प्रतिशत खर्च लक्ष्य हासिल गरेको छ । चालु खर्चमा कर्माचारीहरुको तलब भत्ता लगायतका विषयहरु रहन्छन् ।

मन्त्रालयलाई चालु आवमा चालु खर्चतर्फ खुद बजेट ५ अर्ब २५ करोड ९४ लाख ६३ हजार रुपैयाँ बिनियोजन गरिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा भने मन्त्रालयले पूँजीगत खर्चमध्ये खुद बजेटको ७२.१० प्रतिशत खर्च लक्ष्य हासिल गरेको थियो ।

easy care

प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार