टेलिभिजन वितरकहरुद्धारा भारतीय टेलिभिजन च्यानलहरु प्रशारणमा रोक

Technology Khabar २५ असार २०७७, बिहीबार

टेलिभिजन वितरकहरुद्धारा भारतीय टेलिभिजन च्यानलहरु प्रशारणमा रोक

काठमाडौं ।

नेपालका टेलिभिजन वितरकहरुले नेपालमा भारतीय टेलिभिजन च्यानलहरु प्रशारणमा रोक लगाएका छन् ।

उनीहरुले नेपाल सम्बन्धी अफवाहपूर्ण समाचार र विषयवस्तु सम्प्रेषण गरेपछि स्वस्फूर्तरुपमा भारतीय समाचार च्यानल प्रशारणमा रोक लगाएका हुन्।

बितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको जानकारी दिएका छन् ।

दर्जनभन्दा बढी भारतीय समाचार च्यानलको प्रशारण नेपालमा हाल बन्द भएका हुन् । विभिन्न केबल सेवा प्रदायक र आईपीटीभी सेवा प्रदायकहरुबाट वितरित टेलिभिजन प्रशारणमा यस किसिमको रोक लगाएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

उनले नेपालको अश्मिता माथि नै आँच आउने गरि भारतीय च्यानलहरुले समाचार देखाएको हुँदा हामीलो राष्ट्रियताको कारणले बन्द गरेका हौं ।

‘अब हामी क्लिन फिडको समेत नजिक छौं र सरकारले कानूनअनुसार ल्याएमा बन्द गर्न र सरकारलाई सहयोग गर्न तयार छौं भन्ने संदेश समेत दिएका छौं,’ उनले भने ।

उनकाअनुसार सबै अपरेटरहरुले आफैंले निर्णय गरेर बन्द गरेका छन् ।

देशको प्रधानमन्त्रीको चरित्रमाथि नै आक्षेप लगाउँदै गलत समाचार सम्प्रेषण गरेपछि सेवाप्रदायकले सो निर्णय गरिएको बताएका छन् ।

उता नेपाल केबल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले भने त्यस्तो कुनै निर्णय नभएको बताए।

‘हामीले त्यस्तो कुनै निर्णय गरेका छैनौं कम्पनीहरुले अहिलेको भारतीय समाचार च्यानलको गलत कार्य हेरेर आफैं निर्णय गरेका हुनसक्छन्,’ उनले भने ।

सरकारले भने औपचारिकरुपमा भारतीय टेलिभिजन च्यानल प्रतिबन्धको निर्णय गरेको छैन्।

आजै मात्र सूचना तथा सञ्चार प्रविधि मन्त्री डा युवराज खतिवडाले नियमित पत्रकार सम्मेलनमा त्यस बारेमा राजनीतिक तथा कानूनी उपचार खोज्ने बताएका थिए ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले पनि कुनै निर्णय नभएको जानकारी दिएको छ ।

‘मन्त्री ज्यूले पत्रकार सम्मेलनमा जे भन्नुभयो त्यही हो थप सरकारी निर्णय भएको छैन्,’ मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने ।

टेलिभिजनबाट प्रशारण हुने च्यानलमाथि प्रतिबन्ध लागेपनि फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने कार्य भने चुनौतिपूर्ण देखिएको छ ।

easy care

प्रकाशित: २५ असार २०७७, बिहीबार