Technology Khabar १७ पुष २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अक्सनमार्फत एनसेल प्रालिलाई दिन लागेको १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी लिन कम्पनीले पूँजीगत लाभकर तिरेको प्रमाणसतिको दाबी पेश गरेको छ ।
कम्पनीलाई दूरसंचार प्राधिकरणले अक्सनबाट पाएको सो फ्रिक्वेन्सी लिन र प्रयोग गर्न पूँजीगत लाभकर चुक्ता गरेको प्रमाण पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । सोहि आधारमा एनसेलले बुधबार आफ्नोतर्फबाट पूँजीगत लाभकर तिरेको दाबीसहितको भौचर तथा कागजात दूरसंचार प्राधिकरणमा पेश गरेको हो ।
कम्पनीले आफूले पूँजिगत लाभकरको किस्ताबन्दीको पहिलो किस्ता बापत ४ अर्ब ५० करोड रुपैयाँ तिरेको भन्दै अक्सनबाट पाएको फ्रिक्वेन्सी लिन निवेदन दिएको हो ।
कम्पनीले आफूले पूँजीगत लाभकर तिर्न माग गरेको ५ किस्ता मध्ये पहिलो किस्ता भुक्तानी गरेको र अन्य रकम किस्ताबन्दीमा तिर्न ठूला करदाता कार्यालयले अनुमति दिएको दाबी पेश गरेको दूरसंचार प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
‘प्राधिकरणको बोर्ड निर्णयअनुसार एनसेलले १५ दिनभित्र पूँजीगत लाभकर तिरेको प्रमाण पेश गर्नुपर्ने थियो, सोहि प्रमाण हेरेर मात्र प्राधिकरणले निर्णय गर्ने हुँदा एनसेलले रकम तिरेको प्रमाण बुझाएको हो,’ ती अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।
एनसेलले आफूले किस्ताबन्दीमा पहिलो किस्ता रकम बुझाएको प्रमाण बुझाउने १५ दिने म्याद पुस १७ गते बिहिबार पुग्छ। त्यसैगरि ठूला करदाता कार्यालयले पनि ५ किस्तामा रकम तिर्नका लागि कति रकम कहिले तिर्ने किस्ता बिबरण बारे जानकारी गराउन कम्पनीलाई म्यादसहितको पत्र दिएको छ ।
पूँजीगत लाभकर तिर्न एनसेलले ५ वर्षको म्याद मागेको थियो तर कर कार्यालयले सो अवधिलाई अस्विकार गर्दै ऐनअनुसार चालु आर्थिक वर्षभित्र अर्थात आगामी ६ महिनाभित्र पूँजीगत लाभकरको सम्पूर्ण रकम तिर्न भनेको छ ।
एनसेलले पूँजीगत लाभकर तिरेको प्रमाण दूरसंचार प्राधिकरणमा पेश गरेसँगै प्राधिकरणले समेत सो बारेमा ठूला करदाता कार्यालयसँग जानकारी माग गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कर कार्यालयलाई सो बारेमा जानकारी गराईदिन पत्र पठाएको पुष्टि गरे ।
‘हामीले ठूला करदाता कार्यालयलाई पत्र पठाएर बुझाएको रकम र किस्ताबन्दीको बारेमा स्पष्ट पारिदिन अनुरोध गरेका छौं,’ अध्यक्ष खनालले टेक्नोलोजीखबरसँग भने ।
अध्यक्ष खनालकाअनुसार एनसेलले समय सीमाभित्र आफ्नो तर्फबाट प्रमाण बुझाएपनि कर कार्यालयको स्पष्ट र आधिकारीक पत्र नपाएसम्म एनसेलले फ्रिक्वेन्सी पाउने छैन् । हाल तिरेको रकम र बाँकी रकममा किस्ता पाएको हो वा होईन् भन्ने स्पष्ट भएपछि मात्र प्रकृया अगाडी बढ्ने उनको भनाई थियो ।
एनसेलले लग्यो प्रति मेगाहर्ज ५ करोड ८०लाख रूपैयाँमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी
प्राधिकरणका निर्देशक तथा अक्सन एडमिनिस्ट्रेटर अम्बर स्थापितकाअनुसार सो पत्रको आधारमा दूरसंचार प्राधिकरणको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी अक्सनको बिजेता कम्पनी एनसेललाई फ्रिक्वेन्सी अवार्ड गर्नेछ । सो अवार्ड घोषणा गरेको मितिले १५ दिनभित्र कम्पनीले तोकिएको सीमाको हदसम्म आफूले प्रयोग गर्न चाहेको फ्रिक्वेन्सीको बोलकबोलअनुसारको रकम दाखिला गरेपछि मात्र फ्रिक्वेन्सी प्रयोग गर्न पाउनेछ ।
‘हाम्रो प्रकृयाअनुसार पूँजिगत लाभकर तिरेपछि प्राधिकरणले कम्पनीलाई अवार्ड गर्नेछ र १५ दिनभित्र फ्रिक्वेन्सीको रकम तिर्न भन्नेछ, सो रकम तिरेपछि मात्र एनसेलले फ्रिक्वेन्सी लान पाउँछ,’ निर्देशक अम्बर स्थापितले भने ।
तर कम्पनीले पूँजीगत लाभकर तिर्नुभन्दा पहिले नै आफूले अक्सनमा जितेको १८०० मेगाहर्ज ब्याण्डको बाँकी ९ मेगाहर्ज फ्रिक्वेन्सीको रकम ५२ करोड २० लाख रुपैयाँ दूरसंचार प्राधिकरणको खातामा यसअघि नै जम्मा गरिसकेको छ ।
अक्सनमार्फत एनसेलले १८०० मेगाहर्ज ब्याण्डमा ९ मेगाहर्ज फ्रिक्वेन्सी मात्र प्रयोग गर्न सक्नेछ भने यसअघि नै कम्पनीसँग ११ मेगाहर्ज फ्रिक्वेन्सी रहेको छ ।
यहि पुस २ गते आयोजना गरिएको सो अक्सनमा नेपाल टेलिकम र एनसेलबिच प्रतिस्पर्धा भएको थियो ।
यो पनि हेर्नुहोस्-
प्रकाशित: १७ पुष २०७६, बिहीबार