एनसेलले लग्यो प्रति मेगाहर्ज ५ करोड ८०लाख रूपैयाँमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

Technology Khabar २ पुष २०७६, बुधबार

एनसेलले लग्यो प्रति मेगाहर्ज ५ करोड ८०लाख रूपैयाँमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

काठमाडौं ।

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक गरेको फ्रिक्वेन्सी अक्सन एनसेलले हात पारेको छ । कम्पनीले प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँमा अक्सन हासिल गर्न सफल भएको छ ।

दूरसंचार प्राधिकरणले आजै बुधबार नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल प्रालि बिच १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सीको अक्सन गराएकाेमा एनसेलले अक्सनमा अधिक रकमको बाेली लगाउँदै १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी लगेको हो ।

सो अक्सन प्रकृयामा दुबै कम्पनीहरुले बोलकबोलअनुसार फ्रिक्वेन्सीको बोली लगाएका थिए । जसमध्ये अधिक बोली लगाउने कम्पनी एनसेलले फ्रिक्वेन्सी हासिल गरेको छ भने आफूलाई आवश्यक पर्ने फ्रिक्वेन्सी सो मूल्यमा खरिद गर्न पाउने भएको छ ।

अक्सनलाई तीन चरणमा गरिएको थियो र प्रत्येक चरणमा दुबै कम्पनीहरुले बन्द खामभित्र आफूले चाहेको रकम बाेली लगाउँदै अक्सन एडमिनिस्ट्रेसनलाई बुझाएका थिए र तेस्रो तथा अन्तिम चरणमा अधिक बाेली लगाउने एनसेल कम्पनीले अक्सनमार्फत फ्रिक्वेन्सी अवार्ड हात पारेको थियो र अन्तिममा सो अक्सन जित्ने कम्पनीको घोषणा गरिएको थियो ।

पहिलो पटक गरिएको फ्रिक्वेन्सी अक्सनबाट मात्रै सरकारले कम्तिमा प्रति मेगाहर्ज* ५ करोड ८० लाख रुपैयाँ हासिल गरेको छ ।

अब सो कम्पनीले अक्सनबाट हासिल गरेको रकममा १८०० मेगाहर्ज ब्याण्डको ९ मेगाहर्ज पेयर्ड फ्रिक्वेन्सी प्राप्त गर्नेछ । किनकी प्रत्येक कम्पनीले अधिकतम २० मेगाहर्जको सिमामा मात्र फ्रिक्वेन्सी प्रयोग गर्न पाउने कानूनी प्रावधान छ ।एनसेलसँग यसअघि नै ११ मेगाहर्ज फ्रिक्वेन्सी रहेको छ ।*

अक्सन अवार्ड पाएको कम्पनीले अब प्राधिकरण बाेर्डबाट सो मूल्यमा कम्पनीलाई माग गरेको फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णयपछि मात्र फ्रिक्वेन्सी प्राप्त गर्नेछ ।

यसअघि नेपाल टेलिकमले पहिलो चरणमा प्रतिमेगाहर्ज ३ करोड ७८ लाख तथा एनसेलले ३ करोड ९६ लाख बोली लगाएका थिए । दोस्रो चरणमा टेलिकमले ४ करोड २० लाख रूपैयाँ र एनसेलले ४ करोड ३२ लाख रूपैयाँको बोली लगाएका थिए ।

तेस्रो चरणमा टेलिकमले ५ करोड १ हजार रूपैयाँ र एनसेलले ५ करोड ८० लाखरूपैयाँ बोली लगाएका थिए ।

* सच्याईएको ।

easy care

प्रकाशित: २ पुष २०७६, बुधबार