Technology Khabar ३० जेष्ठ २०७९, सोमबार
काठमाडौं ।
सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) मा वर्ग थप गर्न सकिने भएको छ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले आज (सोमबार)देखि वर्ग थप गर्न सकिने जानकारी दिएका हुन्।
वर्ग थप भन्नाले कुनै एउटा क्याटेगरीमा रहेका सवारी चालकले त्यसभन्दा अन्य प्रकारका सवारी चलाउनका लागि अर्को वर्ग वा क्याटेगरी थप गर्न सक्छन्। उदाहरणका लागि वर्ग ‘ए’ को लाइसेन्स लिएर मोटरसाइकल, मोपेड तथा स्कूटर चलाइरहेका व्यक्तिले कार, जीप तथा डेलिभरी भ्यान चलाउनुपर्यो भने वर्ग ‘बी’ थप गर्नुपर्ने हुन्छ।
२०७८ चैत १ गतेदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्सको अनलाइन फारम विभागले गत जेठ १६ गते सञ्चालनमा ल्याएको थियो। अनलाइन फारम खुलाइए पनि वर्ग थपको सुविधा भने उपलब्ध थिएन।
‘नयाँ सर्भरमा केही प्राविधिक समस्या देखिएकाले वर्ग थपको सेवा उपलब्ध गराउन असमर्थ थियौं। प्राविधिक जटिलता हल गरेर वर्ग थपको सुविधा उपलब्ध गराउने प्रयासमा छौं। आज बिहानबाटै वर्ग थपको सेवा दिने योजना थियो’ सूचना अधिकारी पनेरुले भने, ‘तर नेपाल टेलिकमको सर्भरमा समस्या देखिएको छ। यसले गर्दा योजना अनुरुप बिहानैबाट सेवा दिन असमर्थ छौं। प्राविधिक साथीहरुले काम गरिराख्नु भएको छ। आज साँझसम्म वर्ग थपको सुविधा उपलब्ध हुनेछ।’
वर्ग थपको लागि अनलाइन आवेदन दिने सेवाग्राहीका लागि नेपाल टेलिकमबाट ओटीपी (वान टाइम पासवर्ड) प्रदान हुन्छ। सर्भरमा समस्या देखिएकाले ओटीपी जेनेरेट हुन सकेको छैन। साँझसम्म यो समस्या हल गरेर वर्ग थपको सुविधा उपलब्ध गराउने उनले जानकारी दिए।
विभागले नेपाली कम्पनी कामक्ष आईटीसँगको सहकार्यमा लाइसेन्सको अनलाइन आवेदन दिन सर्भर तयार गरेको हो। यस अघि भारतको मद्रास सेक्युरिटीले तयार गरेको सर्भरबाट अनलाइन आवेदन लिने गरिन्थ्यो।
पुरानो सर्भरबाट नयाँ सर्भरमा डाटा सार्न केही प्राविधिक समस्या देखिएकाले विभागले जेठ १६ गतेदेखि नै वर्ग थपको सेवा उपलब्ध गराउन नसकेको उनले बताए।
सम्बन्धित समाचार
लाइसेन्सका लागि भरिएका सम्पूर्ण पुराना अनलाइन फारम खारेज भएको होइनः यातायात विभाग
आज साँझ ६ बजेदेखि लाइसेन्सको अनलाइन आवेदन दिन सकिने, पुराना अनलाइन आवेदन रद्द
साढे २ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन फारम
ड्राइभिङ लाइसेन्सको अनलाइन फारम आजदेखि सञ्चालनमा आउने, कार्यालय समयमा पनि फारम भर्न सकिने
प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार