लाइसेन्सका लागि भरिएका सम्पूर्ण पुराना अनलाइन फारम खारेज भएको होइनः यातायात विभाग

Technology Khabar २५ जेष्ठ २०७९, बुधबार

लाइसेन्सका लागि भरिएका सम्पूर्ण पुराना अनलाइन फारम खारेज भएको होइनः यातायात विभाग

काठमाडौं ।

यातायात व्यवस्था विभागले पुरानो अनलाइन फारम पूर्ण रुपमा खारेजी नभएको जनाएको छ।

‘लाइसेन्सको (नयाँ तथा वर्ग थप) गर्नका लागि हासम्म परेका अनलाइन आवेदनहरु आजदेखि रद्द भएका छन्। २०७९ जेठ १६ गते सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली शुरु हुनेछ,’ विभागको सूचनामा लेखिएको थियो।

सूचनामा हालसम्म परेका अनलाइन आवेदनहरु रद्द भएको लेखिए पनि जेठ १५ गतेभन्दा अगाडि सम्बन्धित लाइसेन्स कार्यालय पुगेर बायोमेट्रिक गरेका, राजश्व, बुझाएका र लिखित परीक्षा उत्तीर्ण  गरेर ट्रायलमा अनुत्तीर्ण भएकाको अनलाइन आवेदन खारेज नभएको विभागका आईटी इन्जिनियर सन्तोष पोखरेलले जानकारी दिए।

जेठ १५ गतेभन्दा अघिसम्म अनलाइन फारम भरेर पनि लाइसेन्स कार्यालयको सम्पर्कमा नआएकाको भने आवेदन खारेज भएको हो।

विभागले २०७८ चैत १ गतेदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन फारम बन्द गर्नु अघि करिब साढे ५ लाखले आवेदन दिएका थिए।

उक्त अवधिसम्म अनलाइन आवेदन दिएकाहरुलाई लाइसेन्स कार्यालयहरुले विभिन्न चरणमा सूचना प्रकाशित गरि जेठ १५ गतेभित्रमा सम्पर्क राख्न अनुरोध गरेका थिए।

कार्यालयहरुले बारम्बार ताकेता गर्दा पनि सम्पर्कमा नगएकाहरुको भने आवेदन खारेज भएको छ।

‘यस्ता धेरै दोहिरिएका आवेदनहरु छन्। केही अपवादलाई छोड्ने हो भने धेरैले जेठ १५ गतेभन्दा अघि नै कार्यालयमा सम्पर्क गरेर लाइसेन्सको प्रक्रियामा सहभागी भइसका छन्। छुटपुटका लागि पर्खँदा अन्य सेवाग्राही लाइसेन्स लिनबाट वञ्चित हुने अवस्था थियो,’ पोखरेलले भने, ‘त्यस्तो अवस्था लामो समयसम्म कायम हुन नदिन कार्यालयको सम्पर्कमा गएर लाइसेन्स प्रक्रियामा सहभागी नभएकाहरुको मात्र आवेदन खारेज गरिएको हो।’

यदि उहाँहरु साँच्चिकै लाइसेन्स लिन चाहनु हुन्छ भने नयाँ अनलाइन आवेदन दिएर प्रक्रियामा सहभागी हुन सक्ने पनि उनले जानकारी दिए।

विभागका अनुसार दोहोरिएको र लाइसेन्स प्रक्रियामा सहभागी हुनबाट वञ्चितको हिस्सा कुल आवेदकमध्ये १० प्रतिशतभन्दा कम रहेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

ताजा समाचार