Technology Khabar १६ जेष्ठ २०७९, सोमबार
काठमाडौं ।
सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन फारम आज (सोमबार) साँझसम्म खुल्ने भएको छ।
यातायात व्यवस्था विभागका एक अधिकारीले आज साँझदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुलाउने तयारी गरिएको जानकारी दिए।
‘ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुलाउने तयारी सकिसकिएको छ। नयाँ सर्भरको सफलतापूर्वक परीक्षण सकेर तयार अवस्थामा छौं। फारम खुलाउनका लागि आवश्यक सूचना तयार हुँदैछ,’ ती अधिकारीले टेक्नोलोजीखबरसँग भने, ‘यो सबै काम सकेर ढिलामा साँझ ४ बजेसम्म लाइसेन्सको अनलाइन फारम सेवा सञ्चालनमा आउने छ।’
विभागले दिउँसो २ बजेसम्म लाइसेन्सको अनलाइन फारम खुलाउने तयारी गरेको भए पनि ढिलामा ४ बजेसम्म सेवा सञ्चालमा ल्याइसक्ने ती अधिकारीको भनाइ छ।
लाइसेन्स लिन चाहने सेवाग्राहीको अधिक चाप र सर्भरमा देखिने समस्याका करण विभागले गत चैत १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गरेको थियो।
सेवाग्राहीलाई सहज र सरल तरिकाले लाइसेन्स प्राप्त गर्ने वातावरण निर्माण गर्नका लागि विभागले अहिले नयाँ सर्भरबाट सेवा दिन खोजिरहेको छ।
लाइसेन्सको अनलाइन आवेदन लिनका लागि विभागले नेपाली कम्पनी कामक्ष आईटीसँगको सहकार्यमा नयाँ सर्भर तयार गरिसकेको छ। पुरानो सर्भरमा अनलाइन आवेदन दिनेको उच्च चापका कारण विभागले कार्यालय समयमा अनलाइन फारम सेवा बन्द गर्दै आइरहेको थियो।
नयाँ सर्भरबाट भने सेवाग्राहीले कार्यालय समयमा पनि आवेदन दिन सक्ने ती अधिकारीले जानकारी दिए।
विभागले जेठकै पहिलो साताबाट लाइसेन्सको अनलाइन आवेदन खुलाउने योजना बनाएको थियो। विगतमा विभागले भारतको मद्रास सेक्युरिटी प्रेसले तयार गरेको सर्भरबाट लाइसेन्सको आवेदन लिने गरेको थियो।
मद्रास सेक्युरिटीले तयार गरेको सर्भरबाट नेपाली कम्पनीले तयार गरेको सर्भरमा डाटा सार्न केही प्राविधिक समस्या उत्पन्न भएको थियो।
पुरानो सर्भरबाट नयाँ सर्भरमा वर्ग थपका लागि आवश्यक डाटा सार्न कठिनाइ हुँदा विभागको योजना अनुसार जेठको पहिलो साताबाट लाइसेन्सको अनलाइन फारम खुलाउन नसकिएको विभागका अधिकारीहरु बताउँछन्।
अहिले पनि राजश्व भुक्तानी अनलाइन प्रणालीबाट गर्न सकिएको छैन। तर पनि सेवाग्राहीलाई लाइसेन्स लिनबाट लामो समय वञ्चित नगर्नका लागि विभागले अनलाइनबाट राजश्व भुक्तानी गर्न नसकिए पनि आवेदन भने खुलाउने जानकारी दिएको छ।
लाइसेन्सको आवेदन खुलेपछि सेवाग्राहीले अनलाइनबाट राजश्व भुक्तानी गर्न नसकेपनि राजश्व भुक्तानीका लागि आवश्यक पर्ने रसिद भने अनलाइनबाटै प्राप्त गर्न सक्नेछन्।
उक्त रसिदको सहायताले सेवाग्राहीले लाइसेन्स कार्यालयले भुक्तानी लिने बैंकमा राजश्व तिर्न सक्छन्। यस व्यवस्थाबाट सेवाग्राहीले लाइसेन्सको लागि राजश्व तिर्न लाइसेन्स कार्यालयमा लामो भिडमा बस्नु पर्दैन।
प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार