नेपाल टेलिकमले पुस भित्रै फाइभजी परीक्षण गर्ने, स्पेक्ट्रम उपलब्ध गराउन माग गर्दै कार्ययोजना पेश

Technology Khabar २३ जेष्ठ २०७८, आईतवार

नेपाल टेलिकमले पुस भित्रै फाइभजी परीक्षण गर्ने, स्पेक्ट्रम उपलब्ध गराउन माग गर्दै कार्ययोजना पेश

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले फाइभजी सेवाको परीक्षण आगामी पुस मसान्तसम्ममा गर्ने योजनाका साथ नियमनकारी निकायमा प्रस्ताव पेश गरेको छ ।

सरकारी लगानीको कम्पनी नेपाल टेलिकमले गत साता नै नेपाल दूरसञ्चार प्राधिकरणमा आफ्नो कार्ययोजना पेश गर्दै ५जी सेवा परीक्षणका लागि स्पेक्ट्रम उपलब्ध गराउन माग गरेको हो ।

टेलिकमले पेश गरेको कार्ययोजनामा आफूहरुले फाइभजी परीक्षण गर्न चाहेको र उपयुक्त देखिएको स्पेक्ट्रमको प्रस्तावसहित अनुमति माग गरेको छ । टेलिकमले स्पेक्ट्रम उपलब्ध गराउन, अनुमति प्रदान गर्न र भविश्यको योजनासहित निवेदन पेश गरेको हो ।

टेलिकमले कार्ययोजना पठाएको र त्यसबारेमा थप अध्ययन हुँदै गरेको दूरसञ्चार प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ‘टेलिकमले फाइभजीको लागि वर्कप्लान बुझाएकोछ । हामीले त्यसमा अध्ययन गरिरहेका छौं,’ अध्यक्ष खनालले टेक्नोलोजीखबरसँग भने ।

टेलिकमले आफ्नो कार्ययोजनामा फाइभजी परीक्षण गर्नका लागि उपयुक्त देखिएका लोअर प्रिक्वेन्सी ब्याण्ड र मिड फ्रिक्वेन्सी ब्याण्डको लागि अनुमति माग गरेको छ । जसअनुसार कम्पनीले ७०० वा ८०० मेगाहर्ज ब्याण्ड तथा २६०० मेगाहर्ज ब्याण्डमा फाइभजी परीक्षण गर्न चाहेकोछ ।

टेलिकमले हाल परीक्षणको लागि शहरी र ग्रामीण क्षेत्रमा एकैपटक निश्चित शहरहरुमा ५जी सेवाको परीक्षण गर्न चाहेको उल्लेख गरेको छ ।

टेलिकमले दूरसञ्चार प्राधिकरणको अनुमतिको आधारमा आगामी उपकरणहरु खरिद गर्ने उल्लेख गरेको छ ।

सम्बन्धित समाचार-

नेपाल टेलिकमको ५जी सेवाको परीक्षण बारे नोकियाको लागि फिनल्याण्डको चासो

दूरसञ्चार प्राधिकरणका नियमन महाशाखा प्रमुख तथा निर्देशक अम्बर स्थापितले टेलिकमको कार्ययोजनासहितको पत्र आएको जानकारी दिँदै मापदण्ड तयार पार्ने काम भईरहेको बताए ।

‘दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणसहित स्पेक्ट्रमको अध्ययन गर्न र कार्यबिधि बनाउन र मापदण्ड तयार गर्न कमिटी गठन गरेका छौं । कमिटिको निर्णयपछि मात्र फाइभजी परीक्षणको लागि स्पेक्ट्रम उपलब्ध गराएर सो बारेमा निर्देशन दिन सकिनेछ,’ निर्देशक स्थापितले टेक्नोलोजीखबरसँग भने ।

कमिटीले १५ दिनभित्र कार्यबिधि तयार पार्ने र त्यसको आधारमा प्रविधि तटस्थताअन्तरगत कसरी फाइभजीलाई स्पेक्ट्रम दिन सकिन्छ भन्ने निर्णय हुने कमिटीका संयोजकसमेत रहेका स्थापितले जानकारी दिए । उनकाअनुसार प्राधिकरणले सबै टेलिकम कम्पनीहरुलाई उपयुक्त हुने फाइभजी स्पेक्ट्रमको लागि मापदण्ड तयार पार्नेछ र सोही आधारमा चालु आर्थिक वर्षभित्रै फाइभजी परीक्षणका लागि टेलिकमलाई फ्रिक्वेन्सी उपलब्ध गराउनेछ ।

अर्कोतर्फ नेपाल टेलिकमले आफूलाई दिईने फाइभजी फ्रिक्वेन्सीको आधारमा मात्र उपकरणहरु किन्ने योजनामा स्पष्ट पारेको कम्पनी स्रोतले जानकारी दियो ।

‘स्पेक्ट्रमको अनुमति र फाइनल भएपछि मात्र कम्पनीले सोहिअनुसार रेडियो उपकरणहरु किन्न सक्नेछ । त्यसको लागि केहि समय लाग्छ,’ कम्पनीको योजना बारेमा जानकार स्रोतले भन्यो, ‘हामीले योजनाअनुसार काम भएमा आउँदो पुसभित्रै फाइभजी सेवा परीक्षण शुरु गर्नेछौं ।’

कम्पनीले फाइभजी सेवा परीक्षणको लागि आवश्यक पर्ने उपकरणहरुको विभिन्न भेण्डरहरुसँग प्रारम्भिक छलफल गरिसकेको बताईएको छ । कम्पनीलाई चाहिने उपकरणहरु आवश्यकताअनुसार कसरी उपलब्ध गराउन सकिन्छ भन्ने बारेमा छलफल गरिएको बताईएको छ ।

यो पनि हेर्नुस्-

यस्तो छ नेपालमा फाइभजी सेवा उपलब्ध गराउने सरकारी योजना र चरणहरु

Global Bank
easy care

प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार

ताजा समाचार