‘लासेल एसयू’का पूर्व सीईओ तथा दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारी कस्को लागि काम गर्दैछन्?

Technology Khabar १ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) का अध्यक्ष भुपेन्द्र भण्डारीले एकै समयमा देश भित्र र बाहिरका फरक कम्पनीहरुमा जागिर खाएको सार्वजनिक भइसकेको छ। टेक्नोलोजीखबरले प्रमाणसहित सो समाचार प्रकाशित गरेको थियो। यसले भण्डारी माथि नैतिक प्रश्न खडा गरेको छ।

अझ महत्वपूर्ण भनेको उनले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा करिब ८ वर्ष जागिर खाएको विदेशी कम्पनी लासेल एसयू अर्थात पछि नाम परिवर्तन भएर बनेको “स्मार्ट” ले बुरुण्डीमा सरकारी कर तिर्न नसक्दा सरकारले बन्द गराएको थियो।

कम्पनीले तत्कालिन समयमा बुरुण्डी सरकारलाई कर बापतको करिब ३२ लाख अमेरिकी डलर बराबरको रकम टेलिकम सेवा संचालन गरेबापत कर तिर्नुपर्ने थियो तर उक्त रकम कर कार्यालयमा दाखिला नगर्दा कम्पनीलाई बुरुण्डी सरकारले बन्द गराएको डेभ्लपिङटेलिकम्स नामक अनलाइनले सन् २०२२ सेप्टेम्बरमा प्रकािशत गरेको समाचारमा उल्लेख छ।

समाचार अनुसार, बुरुण्डीको दूरसञ्चार नियामक एजेन्सी डे रेगुलेसन एट डे कन्ट्रोल डेस टेलिकम्युनिकेसन (एआरसीटी) ले बन्द गर्नुको एउटा कारण स्मार्टले आफ्नो कर बक्यौता तिर्न असफल हुनु रहेको थियो।

यसको अर्थ भण्डारी पूर्व सीईओ रहेको स्मार्टले बुरुण्डी सरकारलाई राजस्वनै तिरेको थिएन र सोही प्रमुख कारणले कम्पनी बन्द भएको थियो। उक्त कम्पनीले त्यसपछि कर तिर्यो वा तिरेन र फेरी कहिले सञ्चालनमा आउँछ भन्ने कुनै जानकारी देखिँदैन्।

उक्त कम्पनी हाल बन्द रहेको छ भने त्यसका वेबसाइट डाउन गरिएको तथा फेसबुक पेज समेत सन् २०२२ पछि अपडेट छैन्।

रोचक विषय भनेको, हाल उनी अध्यक्ष रहेको नेपाल दूरसञ्चार प्राधिकरणको अधिनमा त्यस्तै नाम गरेको र हाल बन्द रहेको टेलिकम कम्पनी छ, जसले नेपाल सरकारलाई अर्बौं रुपैयाँ बक्यौता तिर्न बाँकी छ। ‘स्मार्ट टेलिकम प्रालि’ ले सरकारलाई करिब १० अर्ब रुपैयाँ तिर्नुपर्ने प्राधिकरण स्रोतको भनाई छ। यसअघि नै प्राधिकरणले ७ अर्ब रुपैयाँ भन्दा धेरै तिर्नुपर्ने सार्वजनिक सूचनानै जारी गरेको थियो।

कर नतिरेर बुरुण्डी सरकारले बन्द गराएको लासेल एसयू/स्मार्ट बुरुण्डीका पूर्व सीईओ तथा दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले केहि दिनअघि मात्रै आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको नेपालको दूरसञ्चार सम्बन्धित अन्तरक्रिया कार्यक्रममा पनि नियम/कानून पालना नगर्ने र सरकारी रकम नतिरेसम्म नेपाली दूरसञ्चार कम्पनीहरुलाई सहजीकरण नहुने स्पष्ट रुपमा बताएका थिए।

उद्योगबाट सहजीकरण रोकियो र स्पेक्ट्रम आएन भनेर गुनासो आएकोमा पहिले सरकारी नियम-कानून र बाँकी बक्यौता तिर्नुपर्ने उनले धारणा राखेका थिए।

“हामी रेगुलटरी बडी हौं। रेगुलटरी कम्प्लायन्स फर्स्ट हो। देशको कानून चैं पहिलो शर्त हुन्छ, कुनैपनि कन्ट्रिमा जाँदाखेरी,” उनले भनेका थिए, “म देशको कानून चैं फलो गर्छु र मलाई फ्यासिलिटेसन गर्नुपर्यो भनेर पहिलो शर्त हो।”

“म सबैलाई निवेदन के गर्छु भने हामी चैं रेगुलेटरी कम्प्लायन्समा एकदम स्ट्रिक्ट हौं। त्यो सर्भिस दिन डे-नाइट खटेर दिन तयार छौं। कानूननै नमानेर सर्भिस दिनचैं संभावना कम हुन्छ।”

रोचक कुरा भनेको, अध्यक्ष भण्डारी ८ वर्ष सीईओ रहेको बुरुण्डीकै टेल्को लासेल एसयू/स्मार्ट; उनले भनेजस्तै सरकारी कर नतिरेपछिनै बन्द भएको थियो। यदपी भण्डारीले त्यसअघि नै उक्त कम्पनी छोडिसकेका थिए।

अर्को तर्फ, नेपाल टेलिकम र एनसेल दुबैले २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी प्रयोग बापतको दस्तुर नतिरेको भन्दै दुबैको सहजीकरण लामो समय रोकिएको थियो। टेलिकमले यस बारेमा अदालतमा मुद्दा हालेकोमा पूर्ण पाठ समेत आईसकेको छ। टेलिकमले यसका साथमा तोकिएअनुसार रकम तिरेपछि मात्र सहजीकरण गरिएको थियो भने एनसेलको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको छ।

बुरुण्डीमा रहेको लासेल एसयू/स्मार्टको कुरा गर्दा, उक्त कम्पनी नेपाली व्यवसायी डा. उपेन्द्र महतोको नाममा रहेको कम्पनीको अधिनमा रहेको विभिन्न अनलाइन तथा विदेशी समाचार साइटहरुको तथ्यांकमा देखिएको छ। उनको अधिनमा रहेको र साइप्रसमा दर्ता रहेको कम्पनी ‘टाइमटर्न्स होल्डिङ्ग्स लिमिटेड’ नामक कम्पनीमा महतोसहित अन्य ८ जना-निर्देशकको रुपमा रहेको देखिन्छ। महतोसहित अमितकुमार साह, रन्जित कुमार महतोलगायत विदेशी मुलका व्यक्तिहरु उक्त कम्पनीको निर्देशकको पदमा रहेको देखिन्छ।

टाइमटर्न्स होल्डिङ्ग्सले त्यस समयमा बुरुण्डीका साथै अफ्रिकी देशहरु युगाण्डा, कङ्गो, सिरिया-लियोनमा समेत टेलिकम कम्पनीहरु संचालन गरिरहेको देखिन्छ। यस्तै, उपेन्द्र महतोको कम्पनी टाइमटर्न्सले नै क्याम्बोडियामा पनि टेलिकम कम्पनी संचालन गरेको टीएडभाइजर डटकमको तथ्यांकमा देखाउँछ।

पछि, क्याम्बोडियामा रहेको महतोको उक्त टेलिकम कम्पनी- मलेशियामा रहेको आजियाटा ग्रुप बर्हादलाई बेचेको तथ्यांकले देखाउँछ।

स्मरणरहोस्, आजियाटाले नेपाली टेल्को एनसेलमा ८० प्रतिशत शेयर लगानी भएको रेनोल्ड होल्डिङ्ग्सलाई अधिनमा लिएको थियो र गत वर्ष सतिशलाल आचार्यको १ पाउण्डको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई सबै शेयर बेचेको थियो। जसको बारेमा कानूनी विवाद जारी छ।

सम्बन्धित समाचार-

आजियाटाले एनसेलको आफ्नो शेयर सतिशलालको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्यो

आजियाटाले महतोको कम्पनी टाइमटर्न्सको अधिनमा रहेको ग्लासउल्स होल्डिङ्ग्स लिमिटेडमार्फत क्याम्बोडियाली टेलिकम कम्पनी ‘लाटेज कम्पनी लिमिटेड’लाई पुरै किनेको थियो। उक्त जानकारी आजियाटाले आधिकारीकरुपमा सार्वजनिक गरेको थियो।

प्राधिकरणका अध्यक्ष भण्डारी तत्कालिन समयमा ‘स्मार्ट’ मा ‘सीईओ’ को पदमा रहेर काम गरेका थिए, जुन कम्पनी व्यवसायी महतोको अधिनमा रहेको थियो र उक्त कम्पनीले सरकारी कर नतिर्दा बन्द भएको थियो। यता, नेपालमा सोही समयमा ‘मेरो मोबाइल’ कम्पनीमा पनि उपेन्द्र महतोको लगानी रहेको थियो।

टाइमटर्न्स होल्डिङ्ग्स लिमिटेडको उत्पत्ति रसियाबाट भएको रुसी मिडियाले उल्लेख गरेका थिए। जसमा रुसी राजनीतिज्ञ तथा मस्को सिटी डुमाका डेपुटी अलेक्जेन्डर मिलियाभ्स्की र नेपाली महिला व्यवसायी सामथा (समता) प्रसाद प्रमुख मालिक रहेको उल्लेख छ।

यी दुबै मालिक भएर त्यसबेला, रसियामा टेलिभिजन निर्माण गर्ने कम्पनी संचालन गरेको देखिन्छ। उनीहरुले ‘द रुबिन मस्को टेलिभिजन प्लान्ट’ (एमटीपी) सन् २०११ मा संचालन गरिहरेका थिए। त्यस कम्पनीको अध्यक्ष मिलियाभ्स्की रहेका थिए भने त्यसको स्वामित्व मिलियाभ्स्कोगो जान्ना की आमासँग ४१.७८ प्रतिशत र समथा (समता) प्रसादसँग ३८.६ प्रतिशत रहेको देखिन्छ।

टेलिकम क्षेत्रका जानकारहरुकाअनुसार, समथा (समता) प्रसाद व्यवसायी महतोकी श्रीमती हुन्। यस बारेमा थप हेर्दा, उनको बारेमा जनआस्था डटकमले २०७९ असारमा “उपेन्द्र महतोकी श्रीमतीलाई आन्तरिक राजश्व कार्यालयको पुर्जी” हेडलाइनमा समाचार प्रकाशित गरेको देखिन्छ।

एनसेलको पुरानो नाम मेरो मोबाइल (स्पाइस नेपाल प्राइभेट लिमिटेड) महतोको लगानी नेतृत्वमा सञ्चालनमा आएको थियो। र सोही समयमा महतोको कम्पनी बुरुण्डीको ‘स्मार्ट’ मा प्राधिकरणका अध्यक्ष भण्डारीले सीईओको पदमा एकै समयमा काम गरेका थिए। तर उनी यसबारेमा सार्वजनिकरुपमा बोल्न चाहेको देखिँदैन्।

“त्यसबेला यी दुबै कम्पनी महतोकै थिए र उनी त्यसका कर्मचारी थिए। तर उनले त्यसलाई फरक देखाउनकै लागि २००८ मा मेरो मोबाइलबाट जागिर छोडेपनि करिब १० वर्षपछि मात्र एनसेलको अनुभव पत्र लिएको देखिन्छ,” जानकार स्रोतको दाबी छ।

स्मरण रहोस्, भण्डारीले स्पाइस नेपाल/मेरो मोबाइल मा सन् २००७ जुन १० तारिखदेखि २००८ जनवरी २० सम्म सालाखाला ७ महिना १० दिन काम गरेको एनसेल आजियाटाले सन् २०१७ जुन १ तारिखमा दिएको अनुभव पत्रमा उल्लेख छ।

सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले एकैसाथ जागिर खाएका थिए स्वदेश र विदेशका उस्तै प्रकृतिका कम्पनीहरुमा: नैतिक प्रश्न खडा

यसको अर्थ जतिबेला उनले एकै समयमा दुई स्थानमा जागिर खाएका थिए, ती दुबै कम्पनीहरु व्यवसायी डा. उपेन्द्र महतोको स्वामित्वमा रहेका थिए।

यसले अर्को प्रश्न उब्जाएको छ- “त्यसोभए अध्यक्ष भण्डारी व्यवसायी महतोकै सहयोगमा प्राधिकरण नेतृत्वमा आएका हुन ? उनी त्यसैअनुसार काम गर्दैछन् ?” किनकी उनकै नेतृत्वमा रहेको प्राधिकरणले तेस्रो टेलिकम अपरेटर ल्याउने तयारी गरिरहेको छ। प्राधिकरणले तयार पारेको तेस्रो अपरेटरको संभाव्यता अध्ययन रिपोर्ट हालसम्म गोप्य राखिएको र उक्त रिपोर्ट भण्डारीले आफूसँगै राखेको स्रोतको दाबी छ।

अहिले, सरकारी एउटा र अर्को निजी गरेर दुई ‌ओटा अपरेटरहरु मात्र संचालनमा रहेका छन भने अन्य दुई कम्पनी सरकारी बाँकी बक्यौता नतिरेर बन्द भएका छन्। यसै बारेमा, यस क्षेत्रका एक अनुसन्धानकर्ताले हालै प्रकाशित आफ्नो लेखमा पनि नियामक निकाय प्राधिकरणको अवस्था र वर्तमान नेतृत्वको कमजोरी उजागर गरिदिएका छन्।

“हिजो ६ ओटा दूरसञ्चार सेवा प्रदायक थिए आज घटेर २ ओटामा सिमित भएका छन् र यी दुईओटा सेवा प्रदायकको आर्थिक अवस्था झन् कमजोर हुँदै गइरहेको छ। बन्द भएका केही सेवा प्रदायकले त राज्यलाई अर्बौंको आर्थिक भार बोकाइ दिएका छन्। ऐन कानूनमा तोकिएको र आफूले गर्नुपर्ने काम नगरेर नै चलिरहेको देखिन्छ दूरसञ्चार क्षेत्रको नियामक निकाय। यसबीचमा, पछिल्ला वर्षहरूमा विभिन्न खरिदका विषयहरूमा पनि नियामक निकाय विवादमा आइरहेका छन्,” उनले आफ्नो लेखमा लेखेका छन्।

दुईओटा सेवा प्रदायकको आर्थिक अवस्था झनै नाजुक हुँदै गईरहेको समयमा भण्डारीले नयाँ/तेस्रो अपरेटरको योजना बनाउँदै गरेको प्राधिकरण स्रोतको भनाई छ।

यसअघि नै, टेक्नोलोजीखबरले सो अध्ययन रिपोर्टमा भएका केहि विषयहरुसहित समाचार प्रकाशित गरेको थियो। सोही समयपछि अध्यक्ष भण्डारीले त्यसलाई गोप्य राखेका बताईएको छ।

सम्बन्धित समाचार-

तेस्रो टेलिकम अपरेटर ल्याउने बाटो खुलाउँदै नियामक निकाय, समितिले बुझायो प्रतिवेदन

त्यसोभए- “के फेरी व्यवसायी महतोले भण्डारीमार्फत नयाँ टेलिकम अपरेटर ल्याउने तयारी गरेका हुन् ? यो प्रश्नको उत्तर अध्यक्ष भण्डारीले मात्रै दिन सक्नेछन्।

तर, यसले “स्वच्छ छवि” भएको भनेर तथा मन्त्रीकै विज्ञ रहेरै नियुक्ती पाएका अध्यक्ष भण्डारी माथि अर्को नैतिक प्रश्न उब्जाएको छ।

प्रकाशित: १ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Ncell’s 11GB data to 11 lucky customers

  • Technology Khabar
  • १ चैत्र २०८१, शुक्रबार

inDrive launches new campaign- Your journey begins with your choice

१ चैत्र २०८१, शुक्रबार

Samsung Nepal introduces Galaxy Buds3 FE

१ चैत्र २०८१, शुक्रबार