तेस्रो टेलिकम अपरेटर ल्याउने बाटो खुलाउँदै नियामक निकाय, समितिले बुझायो प्रतिवेदन

Technology Khabar २ माघ २०८१, बुधबार

तेस्रो टेलिकम अपरेटर ल्याउने बाटो खुलाउँदै नियामक निकाय, समितिले बुझायो प्रतिवेदन
Global IME Bank

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले तेस्रो दूरसञ्चार कम्पनी भित्र्याउनका लागि बाटो खुलाएको छ। प्राधिकरणले नयाँ (तेस्रो) अपरेटर आवश्यक भए नभएको बारेमा अध्ययन गर्न गठन गरेको अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।

प्राधिकरणले गठन गरेको समितिले प्रतिवेदन बुझाए पनि उक्त प्रतिवेदन हाल ‘अति गोप्य’ राखिएको र त्यसको बारेमा प्राधिकरण बोर्डमा थप छलफल गरेपछि मात्र काम अगाडि बढ्ने प्राधिकरण स्रोतले टेक्नोलोजीखबरलाई जानकारी दियो।

स्रोतकाअनुसार गत सातानै उक्त प्रतिवेदन प्राधिकरणमा बुझाईएको छ जसमा नयाँ अपरेटर आउनसक्ने सम्भावना रहेको र अनुमति पत्र दिन सकिने लगायतका सुझाब दिईएको छ।

यसैगरी प्रतिवेदनमा वर्तमान दूरसञ्चार क्षेत्रको अवस्था, समस्या र आगामी चुनौतीहरुका साथै कानूनी प्रावधानहरुको बारेमा समेत व्याख्या गरिएको उल्लेख छ।

“अहिलेका समस्याहरु समाधान नगरिकन तेस्रो अपरेटर आउन सक्ने देखिँदैन त्यसैले कानूनी र व्यवहारिक समस्याहरु समाधान गर्नुपर्ने सुझाब राखिएको बुझिन्छ,” स्रोतले दाबी गर्यो।

यसअघि, दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले आफ्नो १०० दिने कार्य योजना सञ्चार तथा सूचना मन्त्रालयमा पठाउँदा नै कार्य योजना बिबरणमा नयाँ टेलिकम अपरेटर (तेस्रो) भित्र्याउने सम्बन्धमा अध्ययन गरिने बुँदासमेत राखेर पठाएको थियो। जसको आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणको चालु आवको बजेट मंसिर मध्यमा मात्र स्वीकृत गरेको थियो।

उक्त कार्ययोजनाअनुसारनै प्राधिकरणले निर्देशक अम्बर स्थापितको संयोजकत्वमा कमिटी गठन गरेर अध्ययन गराएको थियो। तीन महिनाको म्याद रहेको उक्त कमिटीमा अर्का निर्देशक सन्तोष पौडेल, उपनिर्देशकहरु डा प्रदिप पौड्याल र सुन्दर प्याकुरेल तथा सहायक निर्देशक सुनिल खतिवडा रहेका छन्।

स्रोतकाअनुसार, कमिटीको म्याद पुस मसान्तसम्म रहेकोमा सो अवधि अगाडि नै रिपोर्ट तयार पारेर बुझाईएको हो।

सोही कमिटीको अध्ययन रिपोर्टले नयाँ (तेस्रो) अपरेटरको संभावना औंल्याएको हो।

कमिटीको रिपोर्ट र त्यसमा दिईएका सुझाबहरुको बारेमा जानकारी लिन प्राधिकरणका प्रवक्ता सन्तोष पौडेललाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन्।

सरकारले नयाँ फ्रिक्वेन्सी नीतिमार्फत समेत तेस्रो अपरेटर आउने बाटो खुला गरिसकेको छ। नीतिमा फ्रिक्वेन्सी अक्सन गराएर नयाँ अपरेटरलाई भित्र्याईने प्रावधान राखिएको छ।

यसैगरी, प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी नयाँ अपरेटर जसरी पनि ल्याउनुपर्ने उद्देश्यका साथ तयारीमा जुटेका यस विषयमा जानकार अर्को स्रोतले बताएको छ।

“उनी नयाँ अपरेटर भित्र्याउनका लागि आवश्यक तयारीमा जुटेका छन्, स्रोतले टेक्नोलोजीखबरलाई भन्यो, “तर कसरी र कस्ले पाउँछ भन्ने अझै स्पष्ट छैन्।”

हाल नेपालमा दुईओटा टेलिकम अपरेटरहरु सक्रिय रहेका छन्। सरकारी कम्पनी नेपाल टेलिकमले सेवा दिईरहेको छ भने निजी क्षेत्रको एनसेल आजियाटा नेपाल टेलिकमसँग बजार प्रतिस्पर्धामा रहेको छ।

यस बाहेक अन्य टेलिकम कम्पनीहरु रहेपनि ति सक्रिय सञ्चालनमा छैनन्।

हाल सेवा बन्द रहेकामा युनाइटेड टेलिकम लिमिटेड (यूटिएल) र स्मार्ट टेलिकम प्रालि रहेका छन्।

स्मार्टलाई नियामकले नै अधिनमा लिएर बन्द गराएको छ भने युटिएलको अनुमति पत्र खारेजी गर्ने बाटो सर्वोच्च अदालतले खोलिदिएको छ।

यूटिएललाई गत महिना पत्र पठाएर आफ्नो बाँकी बक्यौता तिर्न भनिएको छ तर कम्पनीले बाँकी बक्यौता रकम तिरिसकेको छैन्।

स्मार्ट टेलिकमलाई नियामकले अधिनमा लिएपनि सेवानै बन्द रहेको उक्त कम्पनीलाई अनुमतिपत्र बहाल नरहेका दूरसञ्‍चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार अक्सन मूल्यांकनमार्फत बेच्नुपर्नेमा उक्त प्रकृया ठप्प जस्तै रहेको छ।

Sajilo Visa

प्रकाशित: २ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार