Technology Khabar १५ मंसिर २०८०, शुक्रबार
काठमाडौं ।
एनसेलले आफ्नो शेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको पुष्टि गरेको छ।
स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको हो। यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिनेछ।
एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ। स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख छ।
स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन्। उनी सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् । उनले भने, “एनसेलको सेयर होल्डिङको लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ । दूरसञ्चार क्षेत्रको मेरो वृहद् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौ ग्राहकलाई विभिन्न परिस्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं।”
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “एनसेलको स्वामित्वमा आगामी दिनमा हुने परिवर्तन देखि हामी खुसी छौं र नयाँ लागानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पुर्वाधारको एक नेपाली कम्पनीका रुपमा अघि बढाउन हामी तत्पर छौं । आगामी दिनमा कम्पनीको परिष्कृत योजनाहरु घोषणा गदै सेवाहरूको दायरा फराकिलो बनाइने छ जसले यो कम्पनीलाई एक प्रमुख डिजिटल सेवा प्रदायक तथा डेटा सेवा प्लेटफर्म बनाउनेछ।”
एनसेलमा हाल बाँकी २० प्रतिशत सेयर लगानी रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिमा पनि आचार्य परिवारको स्वामित्व रहेको छ।
एनसेललाई आजियाटाले सन् २०१६ मा किन्ने समयमा स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो। त्यतिबेला एनसेलको भ्यालुएसन एक खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी थियो।
एनसेलमा ८० प्रतिशत लगानी विदेशी हुँदा २५ वर्षे अनुमति पत्रको प्रावधानले असर पार्ने देखेपछि कम्पनीले शेयर बेचेको देखिएको छ।
दूरसञ्चार ऐनको दफा ३३ मा दूरसञ्चार कम्पनीमा जम्मा पुँजीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुने व्यवस्था गरेको छ। एनसेलको अनुमति पत्र अझै ६ वर्ष बाँकी छ।
खरिद बिक्री सम्झौताअनुसार खरिद गर्ने कम्पनीले ५० मिलियन डलरको मूल्यमा खरििद गर्ने भएको छ। जसमा ६ महिनाभित्र करिब ५ मिलियन डलर दिनुपर्नेछ भने बाँकी ४८ महिनाभित्र बाँकी ४५ मिलियन डलर भुक्तानी गर्नेछ। यस बाहेक अन्य दायित्वहरु समेत सकार्नुपर्ने देखिएको छ।
कम्पनीकाअनुसार आजियाटा आएदेखि हालसम्म देशभित्र करिब २८३ अर्ब रुपैयाँ विभिन्न करहरु र दस्तुरको रुपमा तिरेकोछ।
लाइसेन्सको अवधिभरको डिभिडेन्ड आजियाटाले लिने, त्यसबीचमा आकस्मिक लाभ केही भयो भने त्यो पनि आजिआटाकै हुने गरी स्पेक्ट्रलाइट युकेसँग सम्झौता भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै सरकारले पटकपटक निर्धारण गरेको करका लागि सम्पूर्ण रकम भुक्तानी गर्दा दोहोरो कर परेको र आफूले खरिद गरेको मूल्यको ६२ दशमलव ७ प्रतिशत कर तिर्नुपर्ने अवस्था तत्कालिन समयमा भएको आजियाटाले उल्लेख गरेको छ।
यसका साथै एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी २५ हजार रोजगारी सृजना गरेको र १ करोड ७० लाख ग्राहकलाई सेवा दिएको पनि जनाएको छ।
प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार