नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक खोजी गर्न प्रकृया शुरु, आवेदन माग गरिँदै

Technology Khabar २० मंसिर २०७८, सोमबार

नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक खोजी गर्न प्रकृया शुरु, आवेदन माग गरिँदै
NTC_Advt

काठमाडौं ।

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक छनौटको प्रकृया शुरु गरेको छ।

हालै मन्त्रिपरिषदले सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक छनौटका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकको नियुक्ति र सेवा सुबिधासम्बन्धी निर्देशिका २०७८ स्वीकृत गरेसँगै नयाँ प्रबन्ध निर्देशक नियुक्तिको बाटो खुलेको हो। मंसिर १६ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्देशिका स्वीकृत गरेको हो।

तर सो निर्देशिका मन्त्रिपरिषद स्वीकृत गरेको ४ दिन बितिसक्दा पनि  हालसम्म मन्त्रालयले त्यसलाई सार्वजनिक नगरी गोप्य राखेको छ।

यसको लागि सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा छनौट तथा सिफारिस समिति गठन गरेको बताईएको छ।

सो समितिले नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशकको लागि आवेदन माग गर्नेदेखि खुला छनौट गरेर तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गर्नेछ।

त्यसैगरी सो समितिले आवेदन दिने योग्यता निर्धारण गर्नुका साथै सम्पूर्ण कामहरु सकेर सरकारलाई तीनजनाको नाम सिफारिस गर्ने छ। सोहि सिफारिस गरिएका नामबाटै सरकारले एकजनालाई आगामी प्रबन्ध निर्देशक पदमा नियुक्त गर्नेछ।

समितिमा सचिवको संयोजकत्वमा दूरसञ्चार वा सूचना प्रबिधि वा वित्तिय लेखा वा सार्वजनिक व्यवस्थापन सम्बन्धी विज्ञ र मन्त्रालयकै एक जना सहसचिव सदस्यको रुपमा समितिमा रहने प्रावधान छ।

समितिले आजभोलीमा नै सार्वजनिक सूचना निकालेर नयाँ प्रबन्ध निर्देशकको लागि आवेदन माग गर्ने तयारी गरेको छ।

“निर्देशिका स्वीकृत भईसकेको छ। ढिलोमा बुधबारसम्ममा आवेदन माग गर्दै सूचना जारी हुनसक्नेछ,” मन्त्रालय स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।

हालका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल यहि पुस २२ गते* सकिने हुँदा समयमा नै सरकारले नयाँ प्रबन्ध निर्देशक नियुक्तीको लागि प्रकृया अगाडि बढाएको हो।

प्रबन्ध निर्देशक अधिकारीलाई तत्कालिन नेकपाको सरकारका सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको कार्यकालमा सरकारले ३ वर्षका लागि नियुक्त गरेको थियो।

टेलिकममा १० औं तह* मा कार्यरत अधिकारीलाई फोरजी बिस्तारको प्रमुख जिम्मेबारीसहित टेलिकमको नेतृत्वमा ल्याईएको थियो। जुनियरलाई प्रमुख बनाएको भन्दै त्यसबेला उनको नियुक्तीको चर्को आलोचना समेत भएको थियो। तर नियुक्तिपछि भने उनले विवादरहित रुपमा काम गर्दै आएका छन्।

हालका प्रबन्ध निर्देशक अधिकारीले आगामी दोस्रो कार्यकालका लागि अनिच्छुक भएको जानकारी सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई दिएसँगै सरकारले नयाँ प्रबन्ध निर्देशकको खोजी शुरु गरेको बताईएको छ। उनलाई हालका सञ्चार मन्त्री तथा सञ्चार सचिव दुबैले दोहोर्याउन चाहेको स्रोतले बताएको छ।

तर उनले यसअघिदेखि नै कार्यकाल सकिएसँगै बिदामा बस्ने भन्दै आएका छन्।

अहिलेको निर्देशिकाअनुसार पनि कार्यरत प्रबन्ध निर्देशकको पदावधि २ वर्षसम्म थप गर्न सकिने प्रावधान रहेको छ। र यसको लागि कम्पनी सञ्चालक समितिले सिफारिस गर्नुपर्ने हुन्छ।

हालसम्म टेलिकम भित्रैबाट नियुक्त हुँदै आएको प्रबन्ध निर्देशक पदमा क-कसले आवेदन दिनेछन् भन्ने जानकारीको लागि भने केहि समय कुर्नैपर्ने हुन्छ।

समितिले नयाँ निर्देशिकाको आधारमा मापदण्ड लागू गरेर सूचना जारी गर्ने तयारी गरेको बताईएको छ। अन्य विषयहरु यसअघिकै निर्देशिका जस्तै भएपनि यस पटक प्रबन्ध निर्देशकको सेवा अवधि सम्बन्धमा भने नयाँ व्यवस्था हुनेछ।

यसअघि नै नेपाल टेलिकमको कर्मचारी विनियमावली संसोधनमार्फत लोकसेवा आयोगले प्रबन्ध निर्देशकको सेवा अवधिलाई परिवर्तन गरिदिएको छ।

सम्बन्धित समाचार-

नेपाल टेलिकमका प्रबन्ध निर्देशकले अब अनिवार्य अवकाश पाउने, कर्मचारीलाई अनावश्यक आन्दोलनमा रोक

जसअनुसार प्रबन्ध निर्देशक नियुक्त हुने टेलिकमका कर्मचारीहरु प्रबन्ध निर्देशकको समय अवधि सकिएपछि अब आफ्नो पुरानै पदमा बाँकी समयका लागि फर्किन पाउने छैनन्। यसको अर्थ नेपाल टेलिकम भित्रैबाट कर्मचारीहरु नियुक्त भएको खण्डमा सो कर्मचारी प्रबन्ध निर्देशक पदबाटै स्वतः अवकाश हुनेछ।

यो समाचार पनि हेर्नुस्-

बढेको पोल भाडा दर समायोजन गर्न समितिको सुझाब, केबुल टिभी सेवा प्रदायकहरुलाई सहुलियत

*१० औं तह हुनुपर्ने तथा पुस २२ गते हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ -सम्पादक

प्रकाशित: २० मंसिर २०७८, सोमबार