देशभर सामुदायिक सूचना प्रविधि केन्द्र स्थापना गर्न १ अर्ब रुपैयाँ खर्च गर्दै दूरसञ्चार प्राधिकरण

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

देशभर सामुदायिक सूचना प्रविधि केन्द्र स्थापना गर्न १ अर्ब रुपैयाँ खर्च गर्दै दूरसञ्चार प्राधिकरण
सांकेतिक
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वर्षको बजेटदेखि सामुदायिक सूचना प्रविधि केन्द्र स्थापना गर्ने तयारी गरेको छ ।

प्राधिकरणले देशैभर सूचना प्रविधिमा पहुँच नभएका मानिसहरुलाई लक्षित गरेर सरकारको निर्देशनअनुसार सामुदायिक सूचना प्रविधि केन्द्र (कम्युनिटी आईटी सेन्टर/ल्याब) स्थापना गर्ने भएको हो ।

यसको लागि प्राधिकरणले करिब १ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।

प्राधिकरणकाअनुसार गत माघ २९ गते मन्त्रिपरिषदले दिएको निर्देशनअनुसार देशभर ब्रोडब्याण्ड इन्टरनेटका साथसाथै कम्युनिटी आईटी सेन्टर स्थापना गर्ने लक्ष्य लिएको हो ।

यहि जेठ ११ गते प्राधिकरणले मन्त्रालयको निर्देशन र मन्त्रीको अवधारणाअनुसार काठमाडौं उपत्यका वाहेकका ७४ जिल्लाहरुका सबै सामुदायिक आधारभुत विद्यालयहरुमा इन्टरनेट सेवाको पहुँच पुर्याउने योजना सार्वजनिक गरेको थियो । जसअनुसार पहिलो चरणमा भुकम्प अति प्रभावित ८ जिल्लाहरुबाट सो अभियान शुरु गरिएको छ।

आठ जिल्लाका स्थानीय तहलाई दूरसञ्चार प्राधिकरणले बोलायो, सबैलाई ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने

प्राधिकरण स्रोतकाअनुसार नयाँ परियोजनाअन्तरगत देशभर ७३२ स्थानहरुमा सामुदायिक सूचना प्रविधि केन्द्र स्थापना गर्ने तयारी गरेको छ । यसको लागि प्राधिकरणले आन्तरिक गृहकार्य गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिस्तृत परियोजना बिबरणहरु बुझाईसकेको छ भने मन्त्रालयले यसलाई आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमा पार्ने तयारी गरेको छ ।

मन्त्रालय स्रोतले मन्त्रिपरिषदको निर्णय र मन्त्रालयको निर्देशनअनुसार सो योजना आउन लागेको जानकारी दिएको छ । यस्ता केन्द्रहरुले पहुँच नभएका ग्रामीण भेगहरुका बासिन्दालाई देशभर निशुल्क इन्टरनेटमा पहुँच दिने दाबी गरिएको छ ।

यस्ता सामुदायिक सूचना प्रविधि केन्द्र वा ल्याबहरुमा न्यूनतम ७ देखि १० वटा ब्राण्डेड कम्प्युटरहरु जडान गरिनेछ भने ती केन्द्रहरुमा सरकारले नै तिब्रगतिको ब्रोडब्याण्ड इन्टरनेट जडान गरिदिनेछ ।

‘अधिकांश स्थानहरुमा ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन पुगिसकेको हुँदा सोहि कनेक्सनलाई उपयोग गरेर केन्द्रमा इन्टरनेट जोड्न सकिनेछ,’ प्राधिकरण स्रोतले भनेको छ ।

त्यस्ता केन्द्रहरुले स्थानीयबासीहरुलाई निशुल्क इन्टरनेट र डिजिटल प्लेटफर्ममा पहुँच दिनेछन् ।

यसको लागि करिब १ अर्ब १० करोड रुपैयाँ खर्च हुनेछ र सो रकम प्राधिकरणले आफ्नै योजनाको बजेटतर्फबाट उपलब्ध गराउनेछ ।

ती केन्द्रहरु कुन मोडालिटीमा सञ्चालन हुनेछन्, कसको मातहतमा हुन्छन वा कसले जिम्मा लिएर सञ्चालन गर्दछ भन्ने बारेमा कुनै स्पष्ट जानकारी छैन् ।

चालु आर्थिक वर्षमा पनि प्राधिकरणले देशभरका सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि ल्याब स्थापना गरिरहेको छ । गत वर्षबाट शुरु भएको सो योजनाअनुसार देशभर ९९० स्थानका छानिएका माध्यमिक विद्यालयहरुमा सूचना प्रविधि ल्याब बनाईने छ । शुक्रबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार हालसम्म ४८५ स्थानका विद्यालयहरुमा त्यस्तो ल्याब स्थापना भईसकेको छ ।

यसअघि नै प्राधिकरणले कोरोना महामारीका कारण तोकिएको अवधिभित्र सो काम पुरा हुन नसकेको जनाएको छ ।

यो पनि हेर्नुस्-

एनसेलको सहायक कम्पनीलाई भुक्तानी सेवा प्रदायकको काम गर्न स्वीकृति

TK Viber

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

Loading...