ब्याण्डविथ स्वीकृतिमा देखिएका समस्याहरु समाधान गर्न समिति गठन

Technology Khabar २७ चैत्र २०७७, शुक्रबार

ब्याण्डविथ स्वीकृतिमा देखिएका समस्याहरु समाधान गर्न समिति गठन
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको ब्याण्डविथ स्वीकृतिमा देखिएका समस्याहरुलाई समाधान गर्नेगरि अध्ययन समिति गठन गरेको छ।

प्राधिकरणले कानून तथा अनुमतिपत्र महाशाखा प्रमुख निर्देशक सन्तोष पौडेलको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरेको हो।

समितिमा प्राधिकरणका तर्फबाट संयोजकसहित ३ जना तथा इन्टरनेट सेवा प्रदायकहरुको तर्फबाट २ जना रहनेछन् ।

सो समितिले हाल देखिएका समस्याहरुलाई समाधान गरेर कसरी सेवा प्रदायकहरुलाई ब्याण्डविथ स्वीकृतिको समयमा सहजीकरण गर्न सकिन्छ भनेर सुझाब दिनेछ ।

समितिका संयोजक तथा प्राधिकरणका प्रवक्ता पौडेलले इन्टरनेट सेवा प्रदायकहरुको प्रतिनिधित्वसहित अध्ययन तथा सुझाब समिति गठन गरेको र त्यसले आजैदेखि छलफल शुरु गरेको जानकारी दिए ।

‘अहिलेको समस्याहरुलाई समाधान गरेर सेवा प्रदायकहरुलाई सहजीकरण गर्ने र उनीहरुको विषयलाई सम्बोधन कसरी गर्ने भनेर छलफलसहित सुझाब दिनेछ,’ प्रवक्ता पौडेलले भने ।

यसको लागि समितिले इन्टरनेट सेवा प्रदायक संघलाई पनि हालको समस्या समाधानका उपायहरु दिन र त्यसलाई कसरी लागू गर्ने भन्ने बारेमा सुझाब दिनसमेत भनेको छ।

समितिले १५ दिनभित्र व्याण्डविथ स्वीकृतिमा देखिएका समस्याहरु समाधान गर्न प्राधिकरणलाई सुझाब दिनेछ।

यसअघि इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठनले प्राधिकरणमाथि गंभिर आरोप लगाउँदै ब्याण्डविथ स्वीकृति दिँदा झुलाउने गरेको आरोप लगाएका थिए।

उनीहरुले दूरसञ्चार प्राधिकरणका अध्यक्षलाई पत्र पठाउँदै आफूहरुको कागतपत्र र प्रकृया पूरा गर्दा पनि प्राधिकरणले झुलाउने गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

यो पनि हेर्नुस्-

दूरसञ्चार प्राधिकरणले ब्याण्डविथ स्वीकृति गर्न ‘झुलाउने’ गरेको आइस्पानको आरोप

TK Viber

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

Loading...