Technology Khabar १० मंसिर २०७७, बुधबार
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) राख्नका लागि चावहिलमा कार्यालय भवन बनाउने भएको छ ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले एमडिएमएसलाई स्थाईरुपमा नै चावहिलमा राखेर संचालन गर्ने योजनाअनुसार प्रिफ्याब कार्यालय भवनको लागि टेण्डर खोलेको छ ।
चावहिलमा रहेको प्राधिकरणको करिब ३ रोपनी जग्गामा एमडिएमएस सिस्टम राख्ने योजनाअनुसार आजै प्रिफ्याब भवन बनाउनका लागि टेण्डर आव्हान गरिएको हो ।
यसअघि दूरसञ्चार प्राधिकरणले खुमलटारमा सरकारले उपलब्ध गराउने भनिएको रेडियो नेपालको ४२ रोपनी जग्गामा नै एमडिएमएस राख्ने तयारी गरेको थियो ।
तर सरकारले नै सो जग्गा प्राधिकरणलाई उपलब्ध गराउन नसकेपछि चावहिलमा सिस्टम राखेर संचालन गरिने योजना गरिएको हो।
एमडिएमएसको प्रारम्भिक उपकरणहरु आएको करिब २ महिनाभन्दा पनि बढि समय भईसकेको भएपनि निकै ढिलोगरी सिस्टम राख्ने स्थान तय भएको हो ।
हालको टेण्डरअनुसार चावहिलको स्थानमा एमडिएमएस सिस्टम संचालनको लागि आवश्यक पूर्वाधार तयार हुनेछ भने सम्पूर्ण कार्यालय नै सोहि स्थानबाट संचालन गरिने प्राधिकणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए ।
‘अब चावहिलमा नै राख्ने निश्चित भएसँगै एमडिएमएस संचालन गर्न भवन बनाउन लागिएको हो । करिब ४ करोड रुपैयाँ लगानीमा प्रिफ्याब भवन बनाउने र सोहि स्थानमा सिस्टम संचालन गरिनेछ,’ प्रवक्ता अर्यालले भने ।
सम्झौताअनुसार सिस्टम सञ्चालनको लागि आवश्यक स्थान र भवन प्राधिकरणले नै उपलब्ध गराउनेपर्नेछ । जसअनुसार चावहिलमा भवन बनाउन लागिएको हो ।
उनकाअनुसार हाल पहिलो चरणमा आएको उपकरणहरु स्थान अभावका कारण राष्ट्रिय सूचना प्रविधि केन्द्रमा नै राखिएका छन् ।
एक वर्षअघि नै सञ्चालनमा आईसक्नुपर्ने सो सिस्टम पटक पटकको ढिलासुस्तीका कारण २ वर्षमा पनि सञ्चालन हुन सकेको छैन् । पछिल्लो समयमा कोभिड-१९ संक्रमणका कारण सरकारले लकडाउन गरेको र हवाई उडान खुला नगरेको भन्दै सो सिस्टम सञ्चालनको जिम्मा पाएको नूमेरा जेभीका प्रतिनिधिहरु आउन सकेका छैनन् ।
त्यसैगरि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएका उपकरणहरुसमेत सञ्चालनमा आउन सकेका छैनन् ।
एमडिएमएसको पहिलो लटको उपकरणहरु आईपुग्यो, सूचना प्रविधि केन्द्रबाट संचालन गर्ने तयारी
प्रकाशित: १० मंसिर २०७७, बुधबार