दूरसंचार प्राधिकरणको पत्र बारे ठूला करदाता कार्यालयको जवाफ, एनसेलले लग्ला त फ्रिक्वेन्सी ?

Technology Khabar १७ माघ २०७६, शुक्रबार

दूरसंचार प्राधिकरणको पत्र बारे ठूला करदाता कार्यालयको जवाफ, एनसेलले लग्ला त फ्रिक्वेन्सी ?
२०७६ पुस २ गते १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सनबाट जितेपछि नेपाल टेलिकमका प्रबन्ध निर्देशकसँग हात मिलाउँदै एनसेलका सिईओ एन्डी चाङ्ग । फाइल फोटो

काठमाडौं ।

अनुज राज ।

काठमाडौं । एनसेलले बुझाउनुपर्ने पूँजीगत लाभकर, किस्ताबन्दी पाए/नपाएको तथा कर चुक्ता भए/नभएको बारेमा ठूला करदाता कार्यालयले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र पठाएर जानकारी दिएको छ ।

दूरसंचार प्राधिकरण स्रोतले ठूला करदाता कार्यालयबाट बिहिबार पत्र आएको दाबी गर्दै सो पत्रमा एनसेलले तिरेको पूँजीगत लाभकरको बारेमा उल्लेख गरेको तर के बेहोरा छ भन्ने बारेमा भने जानकारी नभएको बताएको छ ।

‘आज(बिहिबार)* मात्रै पत्र आएको हो, अन्तिम कार्यालय समयमा पत्र आएको हुँदा बेहोरा के उल्लेख छ भन्ने जानकारी छैन्,’ प्राधिकरण स्रोतले भन्यो ।

अब सो पत्र बोर्डमा पेश हुने र त्यसैको आधारमा एनसेलले कहिले फ्रिक्वेन्सी पाउँछ भन्ने स्पष्ट हुने स्रोतको भनाई छ ।

पत्रमा यसअघि दूरसंचार प्राधिकरणले ठूला करदाता कार्यालयसँग मागेको विषयको बारेमा जानकारीहरु उल्लेख गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि दूरसंचार प्राधिकरणले ठूला करदाता कार्यालयलाई पत्र लेखेर एनसेलले कर तिरेको वा नतिरेको बारेमा जानकारी माग गरेको थियो । सो पत्रमा एनसेलको पूँजीगत लाभकरको बारेमा स्पष्ट पारिदिन भन्दै जानकारी माग गरिएको थियो ।

उता ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले भने करको विषयमा दूरसंचार प्राधिकरणले जानकारी माग्नु नै उचित नभएको बताए ।

‘कर तिरे नतिरेको विषय हेर्ने भनेको हामीले हो, कानूनीरुपमा करदाताको बारेमा अन्य कसैलाई जानकारी दिन मिल्दैन्,’ ठूला करदाता कार्यालयका प्रमुख अधिकारीले भने ।

उनले दूरसंचार प्राधिकरणले एनसेललाई फ्रिक्वेन्सी दिने र कर तिर्ने विषय फरक भएको भन्दै दूरसंचार प्राधिकरणले कुनै कम्पनीले कर तिरेको वा नतिरेको विषयमा सोध्न नपाउने बताए ।

‘हामीकहाँ अर्को निकायलाई दोष देखाउने प्रवृत्ति रहेको छ,’ प्रमुख कर प्रशासक अधिकारीले स्पष्ट पारे ।

जानकारी दिएपनि एनसेलले साढे चार अर्ब रुपैयाँ कर तिरेको र तिर्नुपर्ने पूँजीगत लाभकर रकम बारे उल्लेख गरेर पठाईने उनले बताए । एनसेलले साढे ४ अर्ब रुपैयाँ तिरेको भौचरको प्रतिलिपि र कर चुक्ता प्रमाणपत्र प्रदान गरेको अवस्था भए त्यसको बारेमा जानकारी दिन सकिने उनको भनाई छ ।

एनसेलले भने हालसम्म पूँजीगत लाभकर किस्ताबन्दीमा पाउनुपर्ने माग गरेर ठूला करदाता कार्यालयमा निवेदन दिएको र पहिलो किस्ता बापत साढे ४ अर्ब रुपैयाँ बुझाएको प्रमाणसहित दूरसंचार प्राधिकरणमा आफूले अक्सनमार्फत पाएको फ्रिक्वेन्सी लिन निवेदन दिएको थियो ।

एनसेलले अक्सनको फ्रिक्वेन्सी लिन पूँजिगत लाभकर तिरेको प्रमाण दूरसंचार प्राधिकरणमा बुझायो

दूरसंचार प्राधिकरणले भने सो प्रमाणको बारेमा ठूला करदाता कार्यालयसँगै जानकारी माग गरेर पत्र पठाएको थियो ।

यसअघि दूरसंचार प्राधिकरणले पूँजीगत लाभकर सम्पूर्ण नतिरेसम्म अक्सनमा बोलकबोलमार्फत पाएको फ्रिक्वेन्सी लैजान नपाउने निर्णय गरेको थियो । सोहि आधारमा एनसेलले पूँजीगत लाभकर तिरेको प्रमाण दूरसंचार प्राधिकरणमा पेश गर्नुपर्ने भएको हो ।

दूरसंचार प्राधिकरणले गत महिना नेपालमै पहिलो पटक १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सीको लागि अक्सन गराएको थियो । जसमा एनसेलले अधिक बोली लगाउँदै आफूले प्रयोग गर्न पाउने करिब ९ मेगाहर्ज फ्रिक्वेन्सी हात पारेको थियो ।

तर दूरसंचार प्राधिकरणको पूँजीगत लाभकर सम्पूर्ण तिरेको प्रमाण पेश गर्नुपर्ने शर्तका कारण हालसम्म सो फ्रिक्वेन्सी प्रयोग गर्न पाएको छैन् ।

*थपिएको ।

यो पनि हेर्नुस्-

एनसेलले लग्यो प्रति मेगाहर्ज ५ करोड ८०लाख रूपैयाँमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

Global Bank
easy care

प्रकाशित: १७ माघ २०७६, शुक्रबार