जनवरीदेखि लागू हुने एमडिएमएसको परीक्षण र प्रमाणित गर्न दूरसंचार प्राधिकरणले माग्यो परामर्शदाता

Technology Khabar १९ भाद्र २०७६, बिहीबार

जनवरीदेखि लागू हुने एमडिएमएसको परीक्षण र प्रमाणित गर्न दूरसंचार प्राधिकरणले माग्यो परामर्शदाता

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सन् २०२० को जनवरी महिनादेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने तयारी गरेको छ । यसअघि नै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)को लागि टेण्डर अवार्ड गरेको दूरसंचार प्राधिकरणले हाल सो सिस्टमलाई परीक्षण गर्ने परामर्शदाताहरुको लागि आवेदन माग गरेको छ ।

दूरसंचार प्राधिकरणले आफ्नो चालु आर्थिक वर्षको बजेटमा पनि यसै वर्षभित्र सो सिस्टम ल्याईसक्ने उल्लेख गरेर काम अगाडी बढाईरहेको जानकारी दिएको छ । आगामी जनवरी अर्थात पुष महिनादेखि संचालनमा ल्याउन लागिएको सो सिस्टमको परीक्षण गर्न परामर्शदाताको माग गरेको हो ।

दूरसंचार प्राधिकरणले हालै सार्वजनिक सूचना जारी गरेर एमडिएमएसको परिक्षण गर्न ईच्छुक परामर्शदाताहरुको माग गरेको हो ।

दूरसंचार प्राधिकरणले यसअघि नै मलेशियन कम्पनी न्यूमेरा जेभीलाई सो सिस्टम बनाएर संचालन गर्न टेण्डरमार्फत जिम्मा दिईसकेको छ । कम्पनीले सो सिस्टमको लागि काम अगाडि बढाईसकेको र सरोकारबालाहरुसँग समेत छलफल र जानकारी लिईसकेको प्राधिकरणको भनाई छ ।

शुरुभयो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको काम, कम्पनीले सरोकारबालाहरुसँग छलफल गर्दै

परामर्शदाताले भने न्यूमेराले बनाएको सिस्टमको अनुगमन तथा मूल्यांकन, परीक्षण तथा प्रमाणिकरण, सिस्टम डिजाइनको प्रमाणिकरण, सफ्टवेयरको प्रमाणिकरण र अपरेटरको प्रमाणिकरणको कार्यहरुलगायतका काम गर्नुपर्ने हुन्छ । त्यस्तै परामर्शदाता सो एमडिएमएस सिस्टम दूरसंचार प्राधिकरणले तोकेको मापदण्डअनुसारको डिजाइन, निर्माण, आपूर्ति र संचालन योग्य छ वा छैन भन्ने प्रमाणित समेत गर्नुपर्ने हुन्छ।

दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसंचार प्राधिकरणले ल्याउन लागेको एमडिएमएस तोकेको मापदण्डअनुसार भए/नभएको परीक्षण गर्न परामर्शदाता माग गरेको बताए । उनले प्राधिकरणसँग त्यस्तो विज्ञता नभएको हुँदा तेस्रो पक्षद्धारा परीक्षण र प्रमाणित गर्न आवेदन माग गरिएको जानकारी दिए ।

‘हामीले आउँदो जनवरीदेखि लागू गर्ने गरि एमडिएमएस ल्याउन लागेका छौं र त्यो हामीले तोकेको मापदण्डअनुसार निर्माण भएको छ/छैन भनेर परीक्षण गरेर प्रमाणित गरेपछि मात्र संचालनमा ल्याउँछौं,’ अध्यक्ष खनालले भने ।

उनकाअनुसार एमडिएमएस सिस्टम न्यूमेराले बनाएपछि त्यसलाई परामर्शदाताले विभिन्न चरणमा परीक्षण र प्रमाणित गरेपछि मात्र आधिकारीकरुपमा संचालनमा आउनेछ । त्यसैगरि परामर्शदाताले सो सिस्टममा प्रयोग हुने डाटा सेन्टर सुरक्षित भए नभएको, त्यसको बारेमा समेत जाँच गर्नुपर्नेछ ।

एमडिएमएसको परीक्षण र प्रमाणिकरणको कार्य गर्नका लागि दूरसंचार प्राधिकरणले करिब १ करोड रुपैयाँ छुट्याएको जनाएको छ ।

यो पनि हेर्नुस्-

एमडिएमएस सिस्टमको लागि कम्पनी छनौट, मोबाइल फोनको अवैध कारोबार रोकिने

easy care

प्रकाशित: १९ भाद्र २०७६, बिहीबार