ब्रोण्डब्याण्ड बिस्तारको यूटिएलको काम टेली इन्फ्राले गर्ने, प्राधिकरणद्धारा अग्रिम भुक्तानी

Technology Khabar ७ फाल्गुन २०७५, मंगलवार

ब्रोण्डब्याण्ड बिस्तारको यूटिएलको काम टेली इन्फ्राले गर्ने, प्राधिकरणद्धारा अग्रिम भुक्तानी

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले प्रदेश नम्बर ४ र ५ मा ब्रोडब्याण्ड निर्माण र संचालनको लागि यूनाईटेड टेलीकम प्रालि(यूटिएल)लाई दिएको टेण्डर विवादित कम्पनी टेली इन्फ्रा नेपालमार्फत गराउने भएको छ ।

प्राधिकरण र यूटिएलबीच बिवादका कारण लामो समयदेखि रोकिएको रकम टेली इन्फ्रालाई भुक्तानी गरेसँगै ब्रोडब्याण्ड बिस्तारको बाटो खुलेको हो । प्राधिकरणले मंगलवार टेली इन्फ्रालाई बैंक ग्यारेन्टी रकमको २० प्रतिशतले हुन आउने रकम भुक्तानी गरेको हो ।

प्राधिकरणले यसअघि टेली इन्फ्राले राखेको बैंक ग्यारेन्टीको रकमलाई मान्यता नदिएको कारण विवाद उत्पन्न हुँदा लामो समयदेखि सो परियोजनाको काम रोकिएको थियो । प्राधिकरणले आफूले सो टेण्डरको जिम्मा यूटिएललाई दिएको तर ज्वाइन्ट भेन्चर कम्पनीले सो काम गर्न नसक्ने दाबी गर्दै रकम भुक्तानी गर्न अस्विकार गर्दै आएको थियो ।

प्राधिकरणले अदालतको आदेशअनुसार टेली इन्फ्रा नेपालको बैंक ग्यारेन्टीलाई स्विकार गर्दै म‌ंगलबार अग्रिम रकम भुक्तानी गरेको प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले बताए।

‘हामीलाई अदालतले नै रकम भुक्तानी दिन आदेश दिएको थियो, त्यसैले २० प्रतिशत अग्रिम रकम भुक्तानी दिएको हो,’ उनले टेक्नोलोजी खबरसँग भने ।

उनकाअनुसार प्राधिकरणले अदालतको आदेशानुसार बैंक ग्यारेन्टी बराबरको रकम ४० करोड २ लाख रुपैयाँ भुक्तानी दिएको अर्थात टेण्डर कबोल रकमको २० प्रतिशत रकम दिएको र सो कम्पनीले अब ब्रोडब्याण्ड बिस्तारको काम शुरु गर्नुपर्नेछ ।

गत वैशाखमा टेली इन्फ्राले पाटन उच्च अदातलबाट बैंक ग्यारेन्टी स्विकार गरि रकम भुक्तानी गराउने आफ्नो पक्षमा अन्तरिम आदेश जारी गराएसँगै प्राधिकरण समस्यामा पर्दै आएको थियो । सोहि कारण प्राधिकरणले लामो समयसम्म सो टेण्डरको विषयमा निर्णय गर्न सकेको थिएन् ।

यसअघि यूटिएल र नेपाल इन्फ्रा एण्ड कम्यूनिकेसन्स प्रालिको ज्वाइन्ट भेन्चर कम्पनीको रुपमा टेली इन्फ्रा नेपाल लिमिटेड नामक कम्पनीमार्फत ब्रोडब्याण्ड बिस्तारको कार्य गर्ने भन्दै यूटिएलले प्राधिकरणलाई पत्र पठाएको थियो ।

सो पत्रको जवाफमा प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झाले टेली इन्फ्रा नेपाललाई शुरुमा प्राधिकरणको टेण्डरको काम गर्ने गरि स्वीकृति दिएर कार्य सम्पादन जमानत राख्न अनुमति दिएको थियो तर त्यसपछि पुनः अर्को पत्र पठाउँदै त्यस्तो स्वीकृती नपाउने पत्र पठाएको थियो । तर कम्पनीले भने पहिलो पत्रको आधारमा आफूले बैंक ग्यारेन्टी राखेको र टेली इन्फ्राले प्राधिकरणबाट मान्यता पाएको भन्दै बैंक ग्यारेन्टी रकम स्विकार गर्दै अग्रिम भुक्तानीको माग गरेको थियो ।

सो विषयमा प्राधिकरण र कम्पनीबिच विवाद उत्पन्न भएपछि कम्पनीले अदातलबाट अन्तरिम आदेश जारी गराएको थियो । तर पछि प्राधिकरणलाई अदातलले सो कम्पनीको कानूनी अस्तित्व स्विकार गर्दै बैंक ग्यारेन्टी स्विकार गर्न आदेश दिएको थियो ।

यो पनि हेर्नुस्-

Global Bank
easy care

प्रकाशित: ७ फाल्गुन २०७५, मंगलवार

ताजा समाचार