युटिएललाई पूँजी वृद्धिको अनुमति, कहिले होला सेवा शुरु ?

Technology Khabar १६ बैशाख २०७५, आईतवार

युटिएललाई पूँजी वृद्धिको अनुमति, कहिले होला सेवा शुरु ?
Classic Tech

काठमाडौं । यूनाइटेड टेलिकम लिमिटेड (युटिएल) ले चार अर्ब रुपैयाँले पूँजी वृद्धिको अनुमति पाएको छ। उद्योगमन्त्री मात्रिकाप्रसाद यादवको अध्यक्षतामा बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको २२५ औं बैठकले युटिएललाई सो पूँजी वृद्धिको अनुमति दिएको हो ।

यसअघि दुई अर्ब रुपैयाँ पूँजी भएको युटिएलले चार अर्ब रुपैयाँ पूँजी वृद्धि गर्ने अनुमति पाएसँगै कम्पनीको कुल पूँजी छ अर्ब रुपैयाँ पुग्ने भएको छ। पछिल्लो दिनमा यूटिएललाई पुन संचालनमा ल्याउने गरि नेपाली व्यवसायीहरुले तयारी गरिरहेको बेलामा कम्पनीले पूँजी वृद्धिको अनुमति पाएको हो ।

गैर आवासिय नेपाली व्यवसायी उपेन्द्र महतोको नेतृत्वमा नेपाली व्यवसायीक घरानाहरु विशाल ग्रुप, ज्योती ग्रुप, आईएमसएस ग्रुपसहितको लगानीमा यूटिएललाई पुन संचालनमा ल्याउने तयारी भईरहेको छ ।

नेपाल व्यवसायीहरु कम्पनीको स्वामित्व हस्तान्तरणका लागि भारतीय पक्षसँगको प्रकृयामा रहेको भएपनि नेपालमा भने हालसम्म यो कम्पनी यथास्थानमा नै रहेको छ । कम्पनी छिट्टै नेपाल व्यवसायीहरुको स्वामित्वमा आउने र तत्काल सेवा शुरु गर्ने भनिएपनि नयाँ प्रविधिअनुसारको सेवा बिस्तार गर्नका लागि पूर्वाधार तयार गर्नुपर्ने हुँदा यसले सेवा स‌ंचालन गर्न अझै समय लाग्ने दूरसंचार क्षेत्रका विज्ञहरुको अनुमान छ ।

यूटिएलले माघ महिनामा पूँजी वृद्धिको आवेदन गरेको थियो ।

कम्पनीले दूरसंचार सेवाको एकिकृत लाइसेन्स लिँदाको शर्त अनुसारको बुझाउन बाँकी रकम पाँचौ किस्तामा २० करोड ४१ लाख ८७ हजार ८ सय रुपैयाँ बुझाई सकेको छ। कम्पनीले लाइसेन्स लिएपछिको लाइसेन्स नविकरणको रकम वार्षिकरुपमा ८ किस्तामा बुझाउने शर्तअनुसार किस्तामा रकम बुझाउँदै आएको छ ।

हालै यूटिएलको ज्वाइन्ट भेन्चर कम्पनी टेली इन्फ्रा नेपालले नेपाल दूरसंचार प्राधिकरणसँगको मुद्धामा अन्तरिम आदेश जारी गराउन सफल भएपछि कम्पनी विवादमा आएको थियो । कम्पनीले प्रदेश ४ र ५ मा ब्रोडब्याण्ड बिस्तार गर्न पाएको टेण्डर अनुसारको काम गर्न ज्वाइन्ट भेन्चर कम्पनीमार्फत गराउने प्रयास शुरु गरेपछि विवाद भएको थियो ।

नेपाल दूरसंचार प्राधिकरणको पुस सम्मको तथ्यांकिय विवरणअनुसार यूटिएलसँग करिब ५ लाख २७ हजार ग्राहकहरु रहेका छन् । यूटिएलले २०७३ साल भदौ महिनामा एकिकृत अनुमति पत्र (यूनिफाइड) लाइसेन्स प्राप्त गरेको थियो ।

प्रकाशित: १६ बैशाख २०७५, आईतवार

Comments are closed.

Loading...