Technology Khabar २ चैत्र २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, २ चैत । विश्वको सबैभन्दा धेरै मूल्यवान कम्पनी कुन हो भनेर प्रश्न गर्दा उत्तर एउटै आउँछ त्यो हो टेक कम्पनी एप्पल (Apple) । विश्वको सबैभन्दा धेरै मूल्यवान र धनी कम्पनीको रुपमा आईफोन निर्माता कम्पनीको नाम आउने गर्दछ । यो क्रमलाई एप्पलले अहिले पनि कायमै राखेको छ ।
विश्वको सबैभन्दा मूल्यवान कम्पनीको पहिलो स्थान एप्पलले कायम राखेको हालै सार्वजनिक ब्राण्ड फाइनान्सको रिपोर्टले देखाएको छ । ब्राण्ड कन्सल्ट्याण्ट ब्राण्ड फाइनान्सले हालै सार्वजनिक गरेको ग्लोबल ५०० २०१६ रिपोर्टमा विश्वको सन् २०१६ को लागि मूख्य मूल्यवान ब्राण्डको रुपमा एप्पल पहिलो स्थानमा रहेको छ । 
अमेरिकी टेक कम्पनी एप्पलको कुल ब्राण्ड मूल्य सन् २०१६ मा १ लाख ४५ हजार ९ सय १८ मिलियन अमेरिकी डलर अर्थात १४५.९ बिलियन रहेको छ जुन सन् २०१५ मा पहिलो स्थानमा रहँदाको तुलनामा १७ हजार ६ सय १५ मिलियन डलरले बढि हो ।
रिपोर्टमा सन् २०१६ मा सर्च इन्जिन तथा एन्ड्रोयड अपरेटिंग सिस्टमको मालिक कम्पनी गूगल दोस्रो स्थानमा रहेको छ । गूगलले यो वर्ष अर्को कन्ज्यूमर इलेक्ट्रोनिक्स समूह सामसुंग ग्रुपलाई तल झारेर दोस्रो स्थानमा आउन सफल भएको छ । गूगलको यो वर्षको कूल ब्राण्ड मूल्य ९४ हजार १ सय ८४ मिलियन अमेरिकी डलर रहेको छ । अघिल्लो वर्ष गूगल तेस्रो स्थानमा हुँदा यसको ब्राण्ड मूल्य ७६ हजार ६ सय ८३ मिलियन डलर रहेको थियो ।
सामसुंग (Samsung group)

ब्राण्ड फाइनान्सको रिपोर्टअनुसार विश्वको चर्चित स्मार्टफोन मेकर तथा इलेक्ट्रोनिक्स कम्पनी सामसुंग ग्रुप यो वर्ष तेस्रो स्थानमा रहेको छ । सामसुंगलाई यो वर्ष गूगलले उछिनेर दोस्रोमा हुँदा कम्पनी तेस्रो मूल्यवान कम्पनीको रुपमा रहेको हो । यो वर्ष सामसुंगको ब्राण्ड मूल्य ८३ हजार १ सय ८५ मिलियन अमेरिकी डलर रहेको छ, यो मूल्य सन् २०१५मा दोस्रो स्थानमा हुँदा ८१ हजार ७ सय १६ मिलियन डलर थियो । सामसुंग ग्रुप तेस्रो स्थानमा झरेपनि कम्पनीको ब्राण्ड भ्यालू भने १ हजार ४ सय ६९ मिलियन डलरले बढेको देखिन्छ । 
त्यस्तै मूल्यबान ब्राण्डको सूचीमा ई-कमर्श साइट अम्याजन डटकम (Amazon.com) चौथो स्थानमा रहेको छ, जसको ब्राण्ड भ्यालू ६९ हजार ६ सय ४२ मिलियन डलर रहेको छ ।
यो सूचीको पाँचौं स्थानमा टेक कम्पनी तथा सफ्वेयर निर्माता माइक्रोसफ्टले (Microsoft) ओगटेको छ । माइक्रोसफ्टको यो वर्षको ब्राण्ड भ्यालू ६७ हजार २ सय ५८ अमेरिकी डलर रहेको छ ।
माइक्रोसफ्टलाई पछ्याउँदै मोबाइल नेटवर्क कम्पनीहरु भेरिजोन (Verizon) र एटी ए टी (AT & T) छैठौं र सातौं स्थानमा रहेका छन भने वालमार्ट आठौं तथा चाइना मोबाइल नवौं स्थानमा रहेका छन् । टप टेन सूचीको अन्तिम स्थानमा भने वेल्स फार्गो कम्पनी रहेको छ ।
सन् २०१६ को मूल्यबान ब्राण्ड भ्यालू भएका कम्पनीहरुको सूची हेर्दा पहिलो दश स्थानमध्ये ८ वटा कम्पनीहरु अमेरिकी रहेका छन भने एउटा कोरियन तथा एउटा चीनिया ब्राण्ड रहेका छन् ।
मूल्यवान कम्पनीको सूचीमा १० कम्पनीमध्ये ८ वटा कम्पनीहरु टेक्नोलोजी, इलेक्ट्रोनिक्स वा मोबाइल फोनसँग सम्बन्धित रहेका देखिन्छन् । प्रमुख १० ब्राण्डमध्ये वालमार्ट र वेल्स फार्गो मात्र टेक्नोलोजी, इलेक्ट्रोनिक्स वा मोबाइल फोन बाहेकका कम्पनीहरु हुन् । यसमध्येको वालमार्ट रिटेल चेन कम्पनी हो भने वेल्स फार्गो बैंकिंग एण्ड फाइनान्सियल सर्भिस प्रदान गर्ने कम्पनी हो ।
प्रमुख १० को सूचीमा पहिलो स्थानमा रहेको एप्पलको सन् २०१६ को कूल ब्राण्ड मूल्य मात्र १ लाख मिलियन डलर नाघेको छ भने दोस्रो स्थानमा रहेको गूगल वा तेस्रो स्थानमा रहेको सामसुंग समूहको कूल ब्राण्ड भ्यालू १ लाख मिलियन डलर कट्न सकेको छैन् ।
एप्पलको कूल ब्राण्ड भ्यालूको रकम भन्दा गूगलको ब्राण्ड भ्यालूको रकम ५१ हजार ७ सय ३४ मिलियन अमेरिकी डलरले कम छ भने सामसुंगको ब्राण्ड भ्यालू त्यो भन्दा पनि कम अर्थात एप्पलको भन्दा ६२ हजार ७ सय ७३ मिलियन डलरले कम देखिन्छ ।
यो सूचीमा चर्चित सोसियल नेटवर्क साइट फेसबुक (Facebook) प्रमुख १० स्थानमा पर्न सकेन् । फेसबुक ब्राण्ड फाइनान्सको धेरै मूल्यवान कम्पनीको सूचीको १८ औं स्थानमा रहेको छ, जुन अघिल्लो वर्ष ३२ औं स्थानमा रहेको थियो । फेसबुकको यो वर्षको कूल ब्राण्ड भ्यालू ३४ हजार २ मिलियन अमेरिकी डलर रहेको छ ।
रिपोर्टअनुसार विश्वको प्रमुख ५० वटा मूल्यवान ब्राण्डको सूचीमा भने चीनियाँ मोबाइल फोन निर्माता कम्पनी हुवावे (Huawei) अट्न सफल भएको छ । अघिल्लो वर्ष १०४ स्थानमा रहेको हुवावे यो वर्ष ह्वात्तै बढेर ४७ नम्बरमा आउन सफल भएको छ । हुवावेको यो वर्षको ब्राण्ड भ्यालू १९ हजार ७ सय ४३ मिलियन अमेरिकी डलर रहेको छ, जबकी अघिल्लो वर्ष ११ हजार ६ सय २१ मिलियन डलर मात्र रहेको थियो ।
यो सूचीको प्रमुख १०० स्थानमा चर्चिक कोरियाली कम्पनी एलजी (LG) भने अटाउन सकेन् । इलेक्ट्रोनिक्स एण्ड मोबाइल फोन निर्माता समूह एलजी ग्रुप सूचीको १०२ औं स्थानमा रहेको छ । त्यसैगरी अघिल्लो वर्ष सूचीमा नै नरहेको एपमा आधारित ट्याक्सी सेवा कम्पनी उबर (Uber) यो वर्ष १०९ स्थानमा आउन सफल भएको छ ।
प्रकाशित: २ चैत्र २०७२, मंगलवार