दूरसञ्चार प्राधिकरणको कार्यालय जोखिममा: कोठाकोठामा आहाल, कर्मचारी र सेवाग्राही असुरक्षित

Technology Khabar २२ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको जमलस्थित कार्यालय निकै असुरक्षित र जोखिमपूर्ण बनेको छ। पानी पर्न थालेपछि कोठाकोठामा पानी चुहिने अवस्थामा पुगेको छ।

यसैक्रममा जमलस्थित राष्ट्रिय नाचघरको भवनमा रहेको प्राधिकरणको भवनमा आज बिहान भएको वर्षापछि निकै क्षति पुर्याएको देखिएको छ।

टेक्नोलोजीखबरलाई प्राप्त केहि भिडियोहरुमा कार्यालयको संरचना कमजोर भएको र गंभिर सुरक्षा सतर्कता चाहिने अवस्था देखिएको छ।

सेवाग्राही प्रतीक्षालयको फल्स सिलिङ सोफाभरी छरपस्ट

दूरसञ्चारजस्तो अत्यावश्यकीय सेवासम्बद्ध नियामक निकायको कार्यालयमा यो हरिबिजोग हुनु भनेको साँच्चै नै लज्जास्पद अवस्था हो। कार्यालयमा वर्षाको पानी छतबाट भित्र छिरेका कारण धेरैओटा शाखाहरुमा लगाइएको फल्स सिलिङ बिग्रेका वा झरेर छरपस्ट भएका छन् भने कोठाहरुमा बाल्टिन थापिएको केहि भिडियोहरुमा देखिन्छ।

सेवाग्राही बस्ने ठाउँमा सोफामाथि फल्स सिलिङ खसेको छ भने कर्मचारीहरु कर्मचारीहरु ‘कतिबेला मरिन्छ थाहा छैन’ भन्न बाध्य भएका भिडियोमा सुनिन्छ। फल्स सिलिङ खस्दा त्यो ठाउँमा कुनै सेवाग्राही वा कर्मचारी भएको भए घाइते भएर अस्पताल पुर्याउनुपर्ने अवस्था रहेको एक कर्मचारीले बताए। यो सम्भावित दुर्घटनाको आकलन नगर्नु दु:खद् कुरा हो।

लाइसेन्स शाखामा बत्ती राखेको ठाउँबाट पानीको धारा

उता लाइसेन्स शाखामा फल्स सिलिङमा लगाइएको वर्गाकार बत्तीबाट नै धाराबाट झैं पानी झरिरहेको छ भने पानी कोठामा भरिएको एक भिडियोमा देखिन्छ। बिजुलीबत्तीबाट पानी खस्नु कत्तिको जोखिमपूर्ण होला हामी अनुमान लगाउन सक्छौं। पानीले करेन्ट शर्ट भयो भने कतिजना जोखिममा पर्लान अनुमान गर्न सकिन्न।

उक्त विभागमा एक ठाउँमा पानीले भिजाएको कागजपत्रको डङ्गुर देखिएको छ भने कोठाभरी पानी जमेको छ। तत्कालका लागि भने बाल्टी थापेर पानीलाई थप फैलन दिइएको छैन। दूरसञ्चार सम्बद्ध गोप्य र सम्वेदनशील कागजपत्र राखिएको यो शाखामा यसरी पानी खस्नुले  प्राधिकरणले यी कागजात र तिनीहरुको संवेदनशीलतालाई कत्तिको प्राथमिकता दिएको छ भन्ने प्रस्ट पार्छ।

शौचालय नजिक रहेको एउटा कोठामा त पहरोबाट पानी रसाए झैं भित्ताबाट पानी तप्किरहेको देख्न सकिन्छ। अर्को कोठामा भने एसी राखेको ठाउँमा पानीले फल्स सिलिङमा लगाएको पाता ढाडिएर खसेको देखिन्छ। लगभग सबै कोठाहरुमा सिलिङ वा भित्ताबाट पानी झरिरहेको छ भने बाल्टी थापेर राखिएको छ। पहिलोपटक प्राधिकरण पुग्ने व्यक्ति अचम्मित हुने परिदृश्यका बीच डराई डराई काम गर्न बाध्य छन् भएको कर्मचारीहरुले बताउँदै आएका छन्।

यसरी प्रत्येक कोठाको सिलिङमा पानी पस्दा कुन सिलिङ कतिबेला खस्न सक्छ भन्ने त्रासमा कर्मचारीहरु रहेको बताइन्छ। सेवाग्राहीहरु पनि यो समस्याबाट कतिबेला पीडित हुन्छन् भन्ने यकिन छैन। समग्रमा प्राधिकरणभित्र तनावको माहोल व्याप्त रहेको एक कर्मचारीले बताए।

टेक्नोलोजीखबरलाई प्राप्त भिडियोहरुमा कर्मचारीहरु तनावका बीच बसिरहेको र कोठाका टेबल कुर्सी भिजेका साथै भुईँमा पानीको आहाल जमेको देख्न सकिन्छ। कर्मचारीहरुका अनुसार केही दिनअघि पानी परेको बेला पनि कार्यालयका कोठाहरुमा यस्तै बिजोग भएको थियो।

यसअघिदेखिनै प्राधिकरणका कर्मचारीहरुको यूनियनले यसैखाले मागसहित आन्दोलन गरिरहेको छ। कमलादीबाट यता सरेदेखि नै कोठाहरु साँघुरो भएका कारण कर्मचारीहरुलाई स्वास्थ्य समस्या आउन थालेको गुनासो थियो। यसैकारणले पनि कार्यालय अर्को ठाउँमा आफ्नै भवन बनाएर सर्नुपर्ने लगायतका माग कर्मचारी युनियनले गर्दै आएको छ।

तर हालसम्म प्राधिकरण अध्यक्ष र व्यवस्थापनले कर्मचारीका मागको सम्बोधन गर्न पहल गरेको नगरेको आन्दोलनरत कर्मचारीहरुले बताएका छन्। यसैक्रममा केही दिनअघिदेखि युनियनले अध्यक्षकै कार्यकक्षअगाडि धर्ना पनि दिएको छ। तर अध्यक्ष भुपेन्द्र भण्डारी र व्यवस्थापनले कर्मचारीहरुको आन्दोलनलाई हलुका रुपमा लिएको र समाधानको पहल नगरेको गुनासो उनीहरुले गर्दै आएका छन्।

सम्बन्धित समाचार-

नेपाल दूरसञ्चार प्राधिकरण, स्वतन्त्र कर्मचारी युनियनले अध्यक्षको कार्यकक्ष अगाडि शुरु गर्यो धर्ना

माग पूरा नभएपछि दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनले शुरु गर्यो चरणबद्ध आन्दोलन

प्रकाशित: २२ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया