Technology Khabar १६ श्रावण २०८१, बुधबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरण, स्वतन्त्र कर्मचारी युनियनले अध्यक्षको कार्यकक्षअगाडि धर्ना शुरु गरेको छ ।
कर्मचारी युनियले यसअघि असार ३० गते अन्तिम १० दिनको समय तोकेर प्राधिकरणका अध्यक्षलाई आफ्ना मागहरु पूरा गर्न आग्रह गरेकोमा पूरा नगरेको भन्दै गत श्रावण ९ गतेदेखि चरणबद्ध विरोधका कार्यक्रमहरु शुरु गरेको थियो।
प्राधिकरण व्यवस्थापन समक्ष राखेका आफ्ना कुनैपनि मागहरु सम्बोधन नभएको भन्दै पहिलो चरणमा कालो ब्यानर र कालोपट्टि बाँधेर श्रावण ९ गते शुरु गरेको आन्दोलन अन्तर्गत आजदेखि धर्ना शुरु गरिएको हो ।
धर्नाका क्रममा विभिन्न माग समावेश गरिएको ब्यानर टाँगिएको छ । ब्यानरमा जम्मा ४ ओटा मागहरु समावेश गरिएको छ । उक्त मागहरु यस प्रकार रहेका छन् :
१. नेपाल दूरसञ्चार प्रधिकरणको आफ्नै स्वामित्वको घर / जगगा तथा भवन निर्माण कार्यको सुरनिश्चितता हुनु पर्ने ।
२. मौजुदा नेपाल दूरसञ्चार प्राधिकरणको भवनमा कार्य सम्पादनका दृष्टिकोणले उचित र पर्याप्त Oxygen र प्रकाशको न्यूनतम मापदण्ड समेत नपुगेकोले अधिकांश कर्मचारीहरु स्वास्थ्य समस्या देखिएको सन्दर्भमा उचित स्वास्थ्य वातावरणमा काम गर्ने वातावरण निर्माण गर्नुपर्ने ।
३. नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूसँग सम्बन्धित नीति, नियम, गुरुयोजना, पदपूर्ति तथा O&M सर्भे लगायतका विषयहरूमा कर्मचारीहरूको हक, हित, उत्प्रेणा, पूर्वानुमानयोग्य वृत्ति-विकास सुनिश्चितता हुने गरी तत्काल अगाडि बढाइनु पर्ने ।
४. समग्र दूरसञ्चार सुधारको लागि युनियनले पेश गरेका मागहरू अक्षरश: कार्यान्वयन हुनुपर्ने ।
यूनियनले यसअघि आफूले विभिन्न समयमा राखेका मागहरु सम्बोधन नभएको भन्दै पटक पटक व्यवस्थापनलाई माग सम्बोधनका लागि समय दिएको थियो।
धर्नामा बसेका यूनियनका कर्मचारीहरुले विभिन्न मागहरु लेखिएको प्लकार्ड पनि बोकेका थिए । जसमा ‘स्वस्थ कार्य वातावरण निर्माण गर’, ‘दूरसञ्चार क्षेत्रलाई गतिशील क्षेत्रका रुपमा विकास गर’, ‘कर्मचारीको क्षमता विकासमा ध्यान दे’, ‘कर्मचारीको वृत्ति विकास सुनिश्चित गर’, ‘कर्मचारीको स्वास्थ्यमा खेलबाड गर्न पाइँदैन’, ‘Health First’ लगायत रहेका छन्।
सम्बन्धित समाचार
माग पूरा नभएपछि दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनले शुरु गर्यो चरणबद्ध आन्दोलन
प्रकाशित: १६ श्रावण २०८१, बुधबार