स्वतः खारेजीमा परेको सीजी टेलिकमको अनुमति पत्र कागजातमा ‘किर्ते’ मिति

Technology Khabar २८ माघ २०८०, आईतवार

स्वतः खारेजीमा परेको सीजी टेलिकमको अनुमति पत्र कागजातमा ‘किर्ते’ मिति

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणमा समयमा नविकरणको लागि निवेदन नदिँदा अनुमति पत्र खारेजमा परेको सीजी टेलिकम लिमिटेडको अनुमति पत्रको कागतमा मिति नै फरक लेखिएको भेटिएको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणमा समयमा अनुमति पत्र नविरकणको लागि दस्तुरसहित निवेदन दिनुपर्ने कानूनी प्रकृया रहेको छ। तर सीजीले आफ्नो लाइसेन्सको लागि अन्तिम समयसम्म पनि निवेदन नदिँदा अनुमति पत्र स्वतः खारेजीमा परेको थियो।

प्राधिकरण स्रोतकाअनुसार सीजीले मंसिर १६ गते भित्रमा नै आफ्नो अनुमति पत्रको चौथो नविकरणका लागि निवेदन दिनुपर्नेमा मंसिर २० गते मात्र रिन्यूको लागि निवेदन दिएको थियो।

यसका साथै कम्पनीले दूरसञ्चार नियामावली २०५४ को नियम १२ को उपनियम ३ अनुसार अनुमतिपत्रको म्याद रहँदाकै बखतमा अनुमतिपत्र नवीकरण गराउन निवेदन दिन नसकेको कारण खुलाई अनुमतिपत्र नवीकरणको लागि प्राधिकरणमा निवेदन दिन सक्ने प्रावधान रहेको छ।

त्यस्तो कारण मनासिव देखिएमा प्राधिकरणले नवीकरण दस्तुरको १५ प्रतिशत थप दस्तुर लिई अनुमति पत्र नवीकरण गरिदिने सक्ने व्यवस्था रहेको छ।

तर कम्पनीले सो अवधिसमेत नाघेपछि लाइसेन्स नविकरणको लागि निवेदन दिएको प्राधिकरण स्रोतले तत्कालिन समयमा बताएको थियो। निवेदन दिएपनि उक्त अवधिमा पनि कम्पनीले नविकरणका लागि बुझाउनुपर्ने दस्तुरसमेत बुझाएको थिएन।

दूरसञ्चार नियमावलीमा तोकिएको ३ महिनाको सो अवधिमा पनि अनुमतिका लागि आवेदन नआएको खण्डमा कम्पनीको अनुमतिपत्र स्वतः खारेज हुने ऐनको दफा २५ को उपदफा ५ मा उल्लेख छ।

यहि आधारमा सीजीको अनुमति पत्र स्वतः खारेजीमा परेको हो। सो बारेमा प्राधिकरणले २०८० पुस २ गते नै अनुमति पत्र स्वतः खारेज भएको पत्र पठाएको थियो।

सम्बन्धित समाचार-

लाइसेन्स स्वतः खारेज भएसँगै सीजी टेलिकमलाई आजै पठायो प्राधिकरणले जानकारी पत्र

तर अहिले भने सीजीले आफ्नो अनुमति पत्रको समयावधि कायमै रहँदा खारेज गरिएको भन्दै निर्णय पुनरावलोकनका लागि कागजातहरु बुझाएपछि उक्त कागजातमा मिति नै फरक राखिएको खुलासा भएको हो।

सीजीले अनुमति पत्रको मिति कायम हुँदाहुँदै नियामकले स्वतः अनुमति खारेज गरेको पत्र पठाएको भन्दै प्राधिकरणका साथसाथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुनरावलोकनका लागि निवेदन दिएको बताईएको छ।

सोही निवेदनका साथमा सीजीले उपलब्ध गराएको अनुमति पत्रका कागजातमा ‘किर्ते’ मिति लेखिएको भेटिएको मन्त्रालय स्रोतले टेक्नोलोजीखबरलाई बताएको छ।

मन्त्रालय स्रोतकाअनुसार सीजीको कागजात मगाएर हेर्दा प्राधिकरणमा सो अनुमति पत्र संसोधनको समयमा फरक मितिमा अनुमति पत्र दिईएको देखिन्छ।

“सीजीसँग भएको डकुमेन्टअनुसार करिब १५ दिन पछिको मिति राखेर अनुमति पत्र दिईएको देखिन्छ,” मन्त्रालय स्रोतले भन्यो, “यसमा कस्ले वा कसरी मिति नै किर्ते गरेर थप समयावधि राखियो भनेर यसै भन्न सकिँदैन,”

मन्त्रालय स्रोतले भन्यो “सो कागजातको कुनै आधार प्रमाण वा प्रतिलिपि प्राधिकरणसँग छैन भन्ने जानकारी आएको छ। कसरी किर्ते मिति राखियो भन्ने पनि छानबिन गर्नुपर्छ।”

उक्त विषयमा सीजीले प्राधिकरणमा समेत निवेदन दिँदै गुनासो गरेको बताईएको छ। तर सो फरक मिति कसरी लेखियो भन्ने बारेमा कुनै ‘ब्याकअप’ वा आधार नभेटिएको उल्लेख छ।

“उक्त गलत मिति कसरी त्यसमा लेखियो भन्ने बारेमा कुनै कागजात भेटिएको छैन्। कसरी त्यस्तो भयो छानबिनको विषय हो,” स्रोतले भन्यो।

स्रोतकाअनुसार सीजी टेलिकमको अनुमति पत्रको सो कागजातमा १७ डिसेम्बर २००३ को अंग्रेजी मिति राखिएको छ जबकी कम्पनीको अनुमति पत्रलाई ३ डिसेम्बर २००३ तोकेर आधार र आधिकारिक मानिँदै आईएको थियो।

एक मात्र ग्रामीण दूरसञ्चार सेवाको अनुमति पत्र सीजीसँग रहेको थियो। उक्त अनुमतिसमेत सीजीले तत्कालिन एसटीएम टेलिकम संचार प्रालिलाई किनेर पाएको थियो। पछि २०७२ फागुन २१ गते उक्त नाममा संसोधन गर्दै सीजी टेलिकम राखिएको थियो।

कम्पनीको अनुमति पत्र २०६० मंसिर ५ गते जारी भएको थियो।

स्रोतकाअनुसार सीजीले अंग्रेजी मिति २१ नोभेम्बर २००३ मा अनुमति पत्र पाएको थियो र त्यसमा एलसी खोलेको मितिपछि मात्र अनुमति पत्र प्रभावकारी हुने उल्लेख गरिएको छ। सोही आधारमा एलसी खोलेको मिति ३ डिसेम्बर २००३ देखि अनुमति पत्र सक्रिय भएको वा लिएको ठहरिन्छ।

“सोही आधारमा सीजीले हालसम्म २ डिसेम्बरलाई अन्तिम मिति मानेर नविकरण गर्दै आएको थियो। र त्यसलाई स्वीकार गरेको छ,” स्रोतले भन्यो, “तर सीजीले अहिले अचानक १७ डिसेम्बर २००३ मितिसहितको अनुमति पत्रको कागजात ल्यायो। यसमा कसरी मिति गलत भयो भन्ने बुझ्न बाँकी छ।”

स्रोतकाअनुसार विंसं २०६४ सालमा कम्पनीले पश्चिमान्चल क्षेत्रमा सेवा बिस्तार र संचालन गर्नका लागि अनुमति पत्र संसोधन गराएको थियो सोही समयमा दिईएको संसोधन पत्रमा नयाँ मिति राखेको भेटिएको हो।

“उक्त समयमा प्राधिकरणको अनुमति पत्र शाखाका तत्कालिन प्रमुख रहेका दिपेश आचार्यको हस्ताक्षरमा सो फरक मितिसहितको अनुमति पत्र दिएको देखिन्छ। तर सो मिति कसरी राखियो भन्ने कुनै आधार भेटिएको छैन्,” स्रोतले दाबी गर्यो।

उक्त फरक मितिलाई आधार मान्ने हो भने कम्पनीको अनुमति पत्र करिब २५ वर्ष १५ दिन पुग्नेछ जुन दूरसञ्चार ऐन २०५३ को भन्दा विपरित हुन्छ। ऐनमा कुनैपनि दूरसञ्चार सेवाको अनुमति अधिकतम २५ वर्षसम्मका लागि तोकिएको छ।

यसैबीच उक्त विवाद संचार सचिव र संचारमन्त्रीकोमा समेत पुगेको बताईएको छ।

तर यसअघि नै दुई पटक अनुमति पत्र नविकरण गरिएको मिति ३ डिसेम्बरलाई आधार मानेर कम्पनीले स्वीकार गरेको देखिएको भन्दै प्राधिकरणको निर्णय ठिक भएको ठहर गरेको छ।

यस विषयमा मन्त्रालयका प्रवक्ता नेत्र सुबेदीले उक्त कम्पनीको अनुमति पत्र स्वत खारेजमा परेको बारेमा गुनासो आएको बताए।

“सीजीको बारेमा मन्त्रालयमा कुरा आएको हो तर प्राधिकरणले गरेकै निर्णय ठिक देखिएको हुँदा यसमा मन्त्रालयको कुनै भुमिका नहुने जानकारी दिईएको छ,” सुवेदीले टेक्नोलोजी खबरसँग भने।

सीजीको अनुमति पत्रमा मिति फरक रहेको भन्ने विषयको बारेमा प्रश्न सोध्दा उनले त्यस बारेमा आफू जानकार नभएको भन्दै थप बुझ्नुपर्ने उल्लेख गरे।

उता सीजीको ‘किर्ते’ मिति विवादले गर्दा हालसम्म अनुमति पत्र स्वतः खारेज भएको सार्वजनिक सूचना प्राधिकरणले जारी गर्न सकेको छैन्। जबकि, प्राधिकरणले लाइसेन्स खारेजीमा परेका सेवा प्रदायकहरुको बारेमा खारेजी भएको करिब एक महिना भित्र सार्वजनिक सूचना जारी गरेर जानकारी दिँदै आएको छ।

यो समाचार पढन सिफारिस-

युटिएलले हालेको मुद्दामा सरकारको जीत, बाँकी बक्यौता उठाउने र अनुमति पत्र खारेज गर्ने बाटो खुल्यो

Global Bank
easy care

प्रकाशित: २८ माघ २०८०, आईतवार