Technology Khabar १९ पुष २०८०, बिहीबार
काठमाडौं ।
अवैध मोबाइल फोनहरुलाई नियन्त्रण र बन्द गर्न आवश्यक हुने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) संचालनमा नरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रिपोर्टले थप पुष्टि गरेको छ।
यसअघि सरकारले पनि आफ्नो उपलब्धिमा ‘प्रणाली प्रयोगमा ल्याउने निर्णय गरिएको’ मात्र उल्लेख गरेको छ।
यसअघि सरकारकै अधिनमा रहेको अर्ध स्वायत्त तथा दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू भएको र फोनसेटहरु बन्द गरिएको दाबी गर्दै आएको थियो।
यस बारेमा टेक्नोलोजीखबरले उक्त सिस्टमनै हालसम्म संचालनमा नभएको र टेलिकम अपरेटरहरुलाई निर्देशन दिएर फोन बन्द गराएको समाचार प्रकाशित गरेको थियो।
सम्बन्धित समाचार-
एमडीएमएस संचालनमा नरहेको सरकारको स्वीकारोक्ति, उपलब्धिमा ‘प्रयोगमा ल्याउने निर्णय गरिएको’ उल्लेख
सोही सिस्टमको बारेमा मन्त्रालयले सहसचिव गौरब गिरीको संयोजकत्वमा गठन गरेको छानबिन कमिटीले समेत उक्त सिस्टम संचालनमा नरहेको उल्लेख गरेको छ।
उक्त कमिटीले समेत चार वर्षसम्म सिस्टमनै अलपत्र परेको भन्दै त्यसको थप अनुसन्धान गरिनुपर्ने सुझाब दिएको छ।
उक्त प्रतिवेदनमा भौतिकरुपले नाप्न सकिने क्षति यकिन गर्न कठिन हुने देखिएको भन्दै विषयगत एवं नैतिक दृष्टिकोणबाट अवौं रुपियाको प्रणाली खरिद गरी ६ महिना भित्रै आपूर्ति हुने निश्चित गरिएको काम चार वर्षसम्म अलपत्र पर्नु, प्रचलित नेपाल कानुन तथा विधि र प्रक्रियाहरुको पालना नगर्ने जस्ता विषयहरु यकिन गर्न नसकिने लेखिएको छ।
यस्तै प्राधिकरणले हालसम्म सिस्टम संचालनमा आएको भन्दै गलत र भ्रामक प्रचार प्रसार गरी भ्रम सिर्जना गरेको आरोप लगाएको छ।
“…छापा तथा विद्युतीय सञ्चार माध्यमहरुमा प्रणाली पूर्ण संचालनमा आईसकेको भनि गलत र भ्रामक प्रचार प्रसार गरी भ्रम सिर्जना गरिनुका साथै आरोप प्रत्यारोप गरिनु, कानून/विधि/प्रक्रिया अवलम्वन गरिदा छनौट हुने परामर्शदाता र बोलकबोल रकम पनि तुलनात्मक रुपमा कम हुन सक्ने जस्ता कुराहरु रहेका छन्,” प्रतिवेदनमा भनिएको छ।

हाल सहसचिव गिरीको प्रतिवेदन समेतको आधारमा एमडीएमएसको बारेमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले समेत छानबिन र अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १९ पुष २०८०, बिहीबार