Technology Khabar १५ कार्तिक २०८०, बुधबार
काठमाडौं ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को विवादास्पद भुक्तानीको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणका आर्थिक प्रशासन शाखाका उपनिर्देशक तथा लेखा प्रमुखको रुपमा कार्यरत सुरेश बस्नेतले राजीनामा दिएसँगै रिक्त पदमा नयाँ लेखा प्रमुख तोकिएका छन्।
प्राधिकरण व्यवस्थापनले आर्थिक प्रशासन शाखामा नै कार्यरत रहेका शाखाकै वरिष्ठ कर्मचारी सहायक निर्देशक विजय कुमार राय यादवलाई लेखा प्रमुखको जिम्मेबारी दिएको प्राधिकरण स्रोतले बताएको छ।
लेखा प्रमुखले प्राधिकरणको बजेट व्यवस्थापन, लेखा, कारोबारका साथै भुक्तानी प्रकृयाको जिम्मेबारी निभाउने गर्दछन्।
“प्राधिकरण नेतृत्वले हिजै (सोमबार) नै पत्र दिईसकेको छ। हाल सिग्नेचरी संसोधनको प्रकृयामा रहेको छ,” स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।
यसअघि प्राधिकरणका लेखा प्रमुख रहेका बस्नेतले दूरसञ्चार प्राधिकरण नेतृत्वले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को भुक्तानीका लागि उच्च दबाब दिएसँगै पदबाट राजीनामा दिएको स्रोतले बताएको थियो।
स्रोतकाअनुसार उनले व्यक्तिगत स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपनि उनलाई एमडीएमएसको टेण्डर पाएको भेण्डर कम्पनी न्यूमेरा(एम) एसडीएन.बिएचडी. मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि इण्डिया र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चरलाई रकम भुक्तानी गर्न चर्को दबाब रहेको थियो।
हेर्नुस सम्बन्धित समाचार-
उनको राजीनामा लगत्तै प्राधिकरणले भने अर्को कर्मचारीलाई आर्थिक प्रशासन तथा लेखाको कार्य गर्ने अधिकारसहितको जिम्मेवारी दिने तयारी गरिरहेको थियो। तर दशैं बिदाको समय र त्यसअघिनै लेखा प्रमुखको राजीनामा विवादमा परेसँगै प्राधिकरण व्यवस्थापनले केहि समय रोकिएर नयाँ लेखा प्रमुख तोकेको हो।
यस बिचमा लेखा र आर्थिक प्रशासनको अधिकार र जिम्मा दिनका लागि नेपाल दूरसञ्चार प्राधिकरण आर्थिक प्रशासन विनियमावली, २०७३ नै संसोधनको तयारीसमेत भएको स्रोतले त्यसबेला बताएको थियो।
यादबलाई नयाँ लेखा प्रमुखको जिम्मेबारी तोकिएसँगै अब विवादित एमडीएमएसको रकम भेन्डरलाई भुक्तानी दिने जिम्मा पनि उनैमा आएको देखिन्छ।
स्रोतले एमडीएमएसको विवादित भुक्तानी जसरी पनि गराउने योजना रहेको बताएको छ। जहाँ, नयाँ लेखा प्रमुखले एमडीएमएसको लागि करिब ७ लाख डलरको भुक्तानी गर्नुपर्नेछ।
प्राधिकरणकै अर्को स्रोतले एमडीएमएसको पछिल्लो भुक्तानीनै विवादित भएपछि व्यवस्थापनले आफू अनुकुल लेखा प्रमुख ल्याएको दाबी गरेको छ।
“अब सजिलै एमडीएमएसको भुक्तानी हुने देखिन्छ। नयाँ लेखा प्रमुख प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र प्रशासन महाशाखा प्रमुख दिपेश आचार्यसँग नजिकका व्यक्ति हुन्,” स्रोतले दाबी गर्यो, “यो हेर्दा प्राधिकरण नेतृत्व जसरी पनि एमडीएमएसको भुक्तानी तत्कालै गराउनुपर्ने दबाबमा भएको देखिन्छ। र सोहीअनुसार भुक्तानी गराउने योजना हुनसक्छ।”
जानकारीको लागि, प्राधिकरणको आर्थिक प्रशासन शाखा; प्रशासन महाशाखा अन्तरगतका तीन शाखाहरु मध्ये एक हो। प्राधिकरण भित्र आर्थिक प्रशासन शाखाका प्रमुखलाई नै लेखा प्रमुखको जिम्मेबारी दिँईँदै आएको छ।
यसैबीच तेस्रो स्रोतले बताएअनुसार, नयाँ लेखा प्रमुखको जिम्मेबारीले प्राधिकरण भित्र कर्मचारीहरुबीच थप विवाद बढाउने देखिएको छ। यसअघिका लेखा प्रमुख उप निर्देशक भएको र हाल जिम्मेबारी पाएका यादब सहायक निर्देशक भएको हुँदा त्यसले पनि अन्य कर्मचारीहरुबीच समस्या र मतभिन्नता हुने देखिएको स्रोतको दाबी छ।
यसअघि लेखा प्रमुख रहेका बस्नेतले राजीनामा दिएसँगै प्राधिकरण कर्मचारी युनियन समेत आन्दोलित भएको थियो। यस बारेमा युनियनले दबाब दिई भुक्तानी गर्न लगाउने अधिकारीको बारेमा उच्चस्तरिय छानबिन टोली गठन गरी छानबिन गर्न समेत विज्ञप्तीमार्फत माग गरेको छ।
सम्बन्धित समाचार-
दूरसञ्चार प्राधिकरणका लेखा प्रमुखको राजीनामा बारेमा उच्चस्तरीय छानबिन गर्न कर्मचारी यूनियनको माग
के छ हालको लेखा सम्बन्धित विनियमावलीमा ?
विनियमावलीको परिभाषामानै “लेखा प्रमूख” भन्नाले कार्यालयको लेखा सम्बन्धी काम गर्ने मूख्य कर्मचारी सम्झनू पर्छ भन्ने लेखिएको छ।
राजीनामा दिनुअघिसम्म उक्त लेखा प्रमुखको जिम्मेवारीमा बस्नेत रहेका थिए। अब सो जिम्मेबारी यादवले पाएका छन्।
विनियमावलीको कोष तथा खाता सञ्चालन सम्बन्धी व्यवस्थाअन्तरगत विनियम ५ को उपविनियम ५ मा केन्द्रीय कोषको खाता सञ्चालन अध्यक्ष वा निजले तोकेको वरिष्ठ अधिकृत र लेखा प्रमूख वा निजले तोकेको लेखातर्फका कर्मचारीबाट वा विद्युतीय माध्यमबाट हुने लेखिएको छ।
यसैगरी कुनै कार्यको लागि भेण्डरले राखेको धरौटी खाता संचालनमा पनि लेखा प्रमुख रहने व्यवस्था रहेको छ।
विनियमावलीकाअनुसार प्राधिकरणको कारोबारको सिलसिलामा भएको आम्दानी खर्चको हिसाब तथा धरौटी र जिन्सीको हिसाब स्पष्ट देखिने गरी तथा लेखामा भिड्ने कागजातहरु समेत सिलसिलाबद्ध र अद्यावधिकरुपमा रीत पूर्वकको लेखा राख्ने कर्तव्य र उत्तरदायीत्व कार्यालय प्रमुख तथा लेखा प्रमुखको हुनेछ।
यसका साथै विनियम ३३ अनुसार सम्पत्तिको जिम्माअन्तरगत कार्यालयमा रहेको नगद, बैंक मौज्दात, चेक र त्यसको श्रेस्ता लेखा प्रमुख वा निजले तोकेको अधिकारीको जिम्मामा रहने उल्लेख छ।
अझ विनियम ४४ मा लेखा प्रमुखको काम र कर्तव्य स्पष्ट लेखिएको छ।

हालको विनियमावलीको विनयम ५५ मा रहेको अन्य कर्मचारीबाट काम गराउन सक्ने प्रावधानलाई टेकेर नयाँ जिम्मेबारी दिईएको स्रोतले बताएको छ।
उक्त प्रावधानमा लेखिएको छ, “यस विनियमावली बमोजिम कुनै कर्मचारीले
गर्ने भनिएको कुनै काम त्यस्तो कर्मचारीको व्यवस्था नभएसम्मको लागि अध्यक्षले अन्य कर्मचारीबाट गराउन सक्नेछ।”
स्मरण रहोस् यहि कात्तिक ४ गते शनिवारदेखि दशैंको बिदा शुरु भएसँगै दूरसञ्चार प्राधिकरणले फुलपातीको दिन पारेर मोबाइल दर्ता गर्न भन्दै नयाँ सूचनामार्फत १५ दिनभित्र एमडीएमएसमा मोबाइल फोन दर्ता गराउने म्याद दिएको छ।
हेर्नुस् सम्बन्धित समाचार-
दशैं बिदा शुरु भएसँगै एमडीएमएसमा मोबाइल फोन दर्ता गराउन प्राधिकरणको आदेश
प्रकाशित: १५ कार्तिक २०८०, बुधबार