स्मार्ट टेलिकमको मूल्य निर्धारण गर्न न्यून आवेदन, सूची दर्ताको लागि दूरसञ्चार प्राधिकरणको दोस्रो सूचना

Technology Khabar ९ जेष्ठ २०८०, मंगलवार

स्मार्ट टेलिकमको मूल्य निर्धारण गर्न न्यून आवेदन, सूची दर्ताको लागि दूरसञ्चार प्राधिकरणको दोस्रो सूचना
स्मार्ट टेलिकम प्रालिको ललितपुरमा रहेको ग्राहक सेवा केन्द्र। फाइल तस्बिर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिलाई अधिनमा लिएसँगै त्यसको सम्पत्ति व्यवस्थापन गर्नका लागि मूल्य निर्धारण समिति गठन गर्न सूचीमा दर्ता हुन आव्हान गरेको छ।

प्राधिकरणले यसअघि २०८० बैशाख २२ गते सार्वजनिक सूचनामार्फत सूचीमा दर्ता हुन १५ दिनको समयसहित आव्हान गरेको थियो।

हेर्नुस् सम्बन्धित समाचार-

अधिनमा लिएको स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्न मूल्याङ्कनकर्ता खोज्दै दूरसञ्चार प्राधिकरण

तर उक्त अवधिमा एक मात्र आवेदन परेसँगै पुन सूचीमा दर्ता हुन सूचना प्रकाशित गरिएको बताईएको छ।

प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले आज जेठ ९ गते दोस्रो पटक प्रकाशित गरेको सूचनामा पुनः १५ दिनको समय तोकिएको छ।

सूचनामा भनिएको छ, “अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठन गर्न तपसिल बमोजिमको योग्यता भएका व्यक्तिहरुबाट १५ दिन भित्र सिलबन्दी सूची दर्ता गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि पुनः यो सूचना प्रकाशन गरिएको छ।”

सूचनाअनुसार संयोजक हुनका लागि प्रचलित कानून बमोजिम सूचिकृत मूल्याङ्कनकर्ता (भ्यालुएटर) भई उक्त हैसियतमा कम्तीमा पन्ध्र वर्ष काम गरेको वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरी कम्तीमा पन्ध्र वर्ष लेखापरीक्षकको रुपमा काम गरेको वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी व्यवस्थापनको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको व्यक्ति हुनुपर्नेछ।

यस्तै मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरेको व्यक्ति वा सूचिकृत सम्पत्ति मूल्याङ्कनकर्ता- सदस्य (भ्यालुएटर), सूचना प्रविधि वा दूरसञ्चार क्षेत्रको विज्ञ, तथा कानून वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको कार्य अनुभव प्राप्त व्यक्तिले सदस्य हुन पाउने व्यवस्था रहेको छ।

सूचनाअनुसार प्रत्येक पदका लागि फरक-फरक आवेदन दिनुपर्ने देखिन्छ।

प्राधिकरणले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार उक्त सूची तयार गर्न लागेको हो।

सूचनाअनुसार सिलबन्दी कोटेशनको बाहिर सिलबन्दी कोटेशनमा उल्लेख भएको पद स्पष्ट लेख्नुपर्नेछ।

प्रकाशित: ९ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया