Technology Khabar ८ जेष्ठ २०८०, सोमबार
काठमाडौं ।
नविकरण नगर्दा स्वतः खारेजीमा परेको मोबाइल अपरेटर स्मार्ट टेलिकम प्रालिलाई सरकारले अधिनमा लिएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले त्यसलाई बोलकबोलमा बेच्ने तयारी गरिरहेको छ।
तर स्मार्ट टेलिकमका खुद्रा रिचार्ज कार्ड बिक्रेता व्यवसायीहरु भने आत्मदाह गर्ने अवस्थामा पुगेका छन्। उनीहरुले आफूहरुको करोडौं रकम फसेको भन्दै त्यसलाई सहजीकरण गरिदिन र रिचार्ज कार्ड फिर्ता गराईदिन माग गरिरहेका छन्।
नियामक निकाय प्राधिकरणले व्यवस्थापन समूहमार्फत हाल स्मार्ट टेलिकमलाई संचालन गरिरहेको छ भने यसको सम्पत्ति मूल्यांकन गर्ने बारेमा मूल्यांकनकर्ता खोजीरहेको छ।
तर सरकारले अधिनमा लिएपनि स्मार्ट टेलिकमका रिचार्ज कार्ड बिक्रेताहरुको फसेको करोडौं रकमको बारेमा कुनै समाधान दिन सकेको छैन्।
यसअघि नै स्मार्ट टेलिकमका खुद्रा रिचार्ज कार्ड बिक्रेताहरुले आफ्नो करिब ५२ करोड रुपैयाँ फसेपछि कम्पनीलाई अधिनमा लिएको दूरसञ्चार प्राधिकरणमा आफ्नो चिन्ता र समस्याको बारेमा ज्ञापन पत्रमार्फत बैशाख ३१ मा नै अध्यक्षलाई जानकारी दिएका छन्।
सम्बन्धित समाचार-
स्मार्ट टेलिकमलाई सरकारले अधिनमा लिएसँगै रिचार्ज र सिमकार्डको ५२ करोड रुपैयाँ जोखिममा
तर उनीहरुको रकम फिर्ता हुने/नहुने बारेमा अझै दूरसञ्चार प्राधिकरण र व्यवस्थापन समूहले केहि ठोस निकास दिन सकेका छैनन्।
यसै कारण उनीहरुले अब आफूहरु आत्मदाह गर्ने अवस्थामा पुगेको भन्दै नियामकलाई कार्यालय अगाडि नै आत्मदाह गर्ने चेतावनी दिएका छन्।
स्मार्ट टेलिकमका रिचार्ज कार्ड खुद्रा बिक्रेतामध्येका एक काभ्रेपलान्चोक बनेपा-७ का पवन सापकोटाले आफू आत्मदाह गर्ने अवस्थामा पुगेको भन्दै चेतावनी दिएका हुन्।
उनले आज नेपाल दुरसञ्चार प्राधिकरणमा निवेदन दर्ता गराउँदै आत्मदाह गर्ने चेतावनी दिएका हुन्।
उनले पत्रमा स्मार्ट टेलिकमको रिचार्ज कार्ड आफू र आफू अन्तरगतका पसलहरुमा ३० लाख रुपैयाँ बराबरको फसेको र उक्त रकम फिर्ता गर्नुपर्ने अवस्थामा रहेको बताएका छन्। उनले समस्या समाधान नभए प्राधिकरण अगाडि नै आत्मदाह गर्ने चेतावनी दिएका छन्।
उनले ६४६८ दर्ता नम्बरमा दर्ता गरेको पत्रमा भनेका छन्, “त्यो सबै कार्डहरू नगदमा खन खन पैसा गनेर आफ्नु पसिनाले कमाएको पैसा दिएर किनेको कार्ड हो। त्यसैले मेरो रिचार्ज को पैसा नपाए एनटीएको अगाडि आत्मदाह गर्नुपर्ने अबस्था आएकोले समस्या समाधान गर्ने पहल गरिदिनुहुन अनुरोध छ।”
उनले एउटा रिचार्ज बेच्ने आम जनता लुटने र साधारण मानिस मर्नुपर्ने अवस्था भएको भन्दै राज्यको कानून र न्याय पहुँचवालाको मात्र भएको गुनासो गरेका छन्।
यसका साथै उनले पछि पश्चाताप नहोस् भनेर यो निबेदन पेश गरेको भन्दै आफूले हालसम्म कसैको दुई पैसा नखाएको र इमान्दार भएर व्यवसाय गरेको बताएका छन्।
स्मार्ट टेलिकमको रिचार्ज तथा सिम कार्ड बेच्ने आधिकारीक बिक्रेता रहेका गोबिन्द घिमिरेले आफूहरु सबै सरोकारबाला निकायहरुकोमा गएको र सेवा मात्र संचालनमा ल्याईदिनु भन्दा समेत वास्ता नगरिएको गुनासो गरे।
“सञ्चार मन्त्रालयमा गएर कुरा गर्दा नेपाल दूरसञ्चार प्राधिकरण नै जानुस् त्यहाँबाट हामीलाई सूचना आउँछ भन्नुहुन्छ। बजारमा धेरै मान्छेहरु छन् जोसँग लाखौं करोडौंको कार्डहरु छ र बैंकको चर्को ब्याज तिरिराख्नु परेको छ,” उनले टेक्नोलोजीखबरसँग भने, “मैले आफैं मात्र अहिले ५ लाख रुपैयाँ मासिक बैंकको ब्याज त्यसैको लागि मात्र तिरिरहेको छु। समस्या निकै गंभिर भईसकेको छ।”
“सम्पति व्यवस्थापन नियमावली मार्फत स्मार्टका पूर्व संचालकहरुको र कम्पनीलाई सरकारले सबै सम्पत्ति र दायित्व स्वीकार गर्यो र उनीहरूले त त्यहाँबाट मुक्ति पाए तर हामी आमजनता र बिक्रेताहरु जसले रु.२०००/५०० देखि लिएर करोडौंको कार्ड राख्नेहरु सबै फसेका छौं,” उनले गुनासो गरे।
हेर्नुस् दर्ता गरिएको पत्र-

यो पनि हेर्नुस्-
अधिनमा लिएको स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्न मूल्याङ्कनकर्ता खोज्दै दूरसञ्चार प्राधिकरण
प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार