दूरसञ्चार प्राधिकरणले आन्तरिक बढुवामा ‘अयोग्य’ बनाएको निर्णय विरुद्ध उच्च अदालतको फैसला

  • Technology Khabar | १५ चैत्र २०७९, बुधबार
दूरसञ्चार प्राधिकरणले आन्तरिक बढुवामा ‘अयोग्य’ बनाएको निर्णय विरुद्ध उच्च अदालतको फैसला

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको आन्तरिक कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवा प्रकृयाको विरुद्ध परेको मुद्दामा विपक्षका नाममा अन्तिम फैसला जारी भएको छ।

बुधबार उच्च अदालत पाटनमा उक्त मुद्दाको सुनुवाई गर्दै विपक्षका विरुद्धमा फैसला जारी गरेको हो।

प्राधिकरणका निर्देशकद्वय अम्बर स्थापित र बिजयकुमार रोय तथा उपनिर्देशकहरु अच्युतानन्द मिश्र, रोजा किरण बासुकला र बिजयकुमार राय यादबले यसअघि प्राधिकरणले खारेज गरेको आन्तरिक बढुवा प्रकृया विरुद्ध मुद्दा दायर गरेका थिए।

उच्च अदालतका न्यायाधिशद्वय महेशशर्मा पौडेल र ऋषिराम दवाडीको संयुक्त इजलासले बुधबार विपक्षीको निर्णयको विरुद्ध फैसला र आदेश जारी गरेको हो।

यसअघि दूरसञ्चार प्राधिकरण पदपूर्ति समितिको बैठकले कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवा प्रकृयामा आवेदन दिएका सबैलाई ‘कुनैपनि सम्भाव्य उम्मेदवार कायम नभएकोले बढुवा सिफारिस नभएको’ भन्दै ‘अयोग्य’ घोषित गरेको थियो।

दूरसञ्चार प्राधिकरणको वरिष्ठ निर्देशकसहितको आन्तरिक बढुवा प्रकृयाको बारेमा विवाद उत्पन्न भएर मुद्दामामिला भएसँगै सबैलाई ‘अयोग्य’ भएको भन्दै सूचित गरेपछि सो विषयमा २०७९ असोज ९ गते मुद्दा दायर भएको थियो।

मुद्दामा निवेदकहरुले प्राधिकरण पदपूर्ति समितिले हचुवाको भरमा कानून भन्दा बाहिर र प्राधिकरणको कर्मचारी विनियमावली बाहिर रहेर निर्णय गरिएको भन्दै उक्त निर्णय खारेजीको माग गरेका थिए। त्यसैगरी आफूहरु योग्य भएको भन्दै आन्तरिक कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवा प्रकृयामार्फत नियुक्त गर्न समेत माग गरिएको छ।

उक्त निवेदनमा प्रत्यर्थी पदपूर्ति समितिको बदनियतपूर्ण निर्णय र सो निर्णयलाई सदर गर्ने प्रत्यर्थी प्राधिकरणको निर्णयबाट रिट निवेदकहरु अहिलेको बढुवाबाट मात्रै वञ्चित नभएर भविष्यमा रिक्त पदहरुको प्रतिशत परिवर्तन भई बढुवा हुने अवसरबाट वञ्चित हुनु पर्ने अवस्था उत्पन्न हुने जिकिर गरिएको छ।

“…जसले रिट निवेदकहरुको वृत्ति विकासको ढोका नै बन्द हुन पुग्ने देखिन्छ। साथै वरिष्ठ निर्देशक-२ पदमा २ जना उम्मेदवार भई बढुवा सुनिश्चित हुँदा पनि प्रत्यर्थी पदपूर्ति समितिको बदनियतपूर्ण निर्णय र सो निर्णयलाई सदर गर्ने प्रत्यर्थी प्राधिकरणको निर्णयबाट भविष्यमा वरिष्ठ निर्देशक पदहरुमा सम्भाव्य उम्मेदवारहरु समेत थप हुन गई बढुवाको प्रतिस्पर्धा बढ भई रिट निवेदकहरुको बढुवा हुने सुनिश्चितता कम हुँदै जाने देखिन्छ,” निवेदनमा भनिएको छ।

त्यसैगरी निवेदकहरुको बढुवा गरी प्रत्यर्थी दूरसञ्चार प्राधिकरणबाट पदपूर्ति गर्नु/गराउनु भनी प्रत्यर्थीहरुका नाममा प्रतिषेध, परमादेश लगायतको उपयुक्त आदेश जारी गराउन समेत माग गरिएको छ।

मुद्दामा प्राधिकरणसहित पदपूर्ति समित र मानव संसाधन विका तथा आन्तरिक प्रशासन शाखालाई विपक्षी रहेका छन्।

तत्कालिन समयमा प्राधिकरणले सार्वजनिक गरेको सूचनामा कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवा सम्बन्धी सूचनामा गर्नुपर्ने सिफारिसमा ‘कुनैपनि सम्भाव्य उम्मेदवार कायम नभएकोले बढुवा सिफारिस नभएको’ उल्लेख गरेको थियो।

सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणको आन्तरिक बढुवा प्रकृयामा आवेदन दिनेहरु सबै ‘अयोग्य’ !

प्राधिकरणले २०७८ मंसिर १९ गते वरिष्ठ निर्देशक, प्राविधिक निर्देशक, प्रशासन प्राविधिक अनुमगन निर्देशक, तथा उपनिर्देशकहरुको लागि कार्यक्षमताको मूल्यांकनद्धारा बढुवा गर्ने गरी सूचना प्रकाशित गरेको थियो।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार