टेलिकमको सेवा ठप्प हुनुमा व्यवस्थापन र भेण्डरहरुको चरम लापरबाही, कास ट्रेडिङ्गद्वारा मनलाग्नी सिस्टम मर्मत

Technology Khabar १० फाल्गुन २०७९, बुधबार

टेलिकमको सेवा ठप्प हुनुमा व्यवस्थापन र भेण्डरहरुको चरम लापरबाही, कास ट्रेडिङ्गद्वारा मनलाग्नी सिस्टम मर्मत
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

यही २०७९ माघ ३ गते नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नेटवर्क अवरुद्ध हुनुमा कम्पनीका व्यवस्थापनका कर्मचारीहरु तथा भेण्डरहरुको चरम लापरवाही भएको देखिएको छ।

उक्त दिन दिउँसो करिब १ घन्टा ४५ मिनेटसम्म टेलिकमको सेवा ठप्प भएको थियो जसको बारेमा सेवाग्राहीहरुले सामाजिक संजालमा गुनासो गरेका थिए। यसबाट टेलिकमका करिब २ करोड १६ लाख (दूरसञ्चार प्राधिकरणको कात्तिक मसान्तसम्मको तथ्याङ्क) सेवाग्राहीहरु पूर्णरुपमा प्रभावित बनेका थिए।

त्यस समय नेपाल टेलिकमबाट अन्य कम्पनीका नेटवर्कमा फोन कल जाने आउने भएपनि टेलिकम भित्रकै फोन नम्बरहरुमा भने कुराकानी गर्न कठिन भएको थियो।

सम्बन्धित समाचार-

नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको समस्या समाधान

त्यस बेलामा नेपाल टेलिकममा क्रियाशिल युनियनहरुले समेत माघ ३ गते अपरान्ह करिब १२ बजेदेखी जीएसएम र पिएसटिएन सेवाहरु केही समय पूर्णरुपमा अवरुद्ध भई सेवाग्राहीहरुले भोग्नु परेको सास्ती र कम्पनीले व्यहोरेको क्षति प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै जिम्मेबारलाई कारबाही गरी दोषीबाट क्षतिपूर्ति भराउनसमेत माग गरेका थिए।

सम्बन्धित समाचार-

टेलिकमको सिस्टम डाउन गराउने दोषी उपर कारबाही गरी क्षतिपूर्ति असुल गर्न कर्मचारीहरुको माग

उक्त समस्याका कारण टेलिकमलाई लाखौं रुपैयाँ घाटा हुनुका साथै कर्मचारीहरु र भेण्डरहरुको चरम लापरबाही र गैरजिम्मेबार कार्य भएको उक्त समस्याको लागि गठित अध्ययन समितिले जनाएको छ।

सञ्चारतथा सूचना प्रविधि मन्त्रालयले सहसचिव गौरब गिरीको संयोजकत्वमा गरेको छानबिन समितिको प्रतिवेदनअनुसार टेलिकम भित्र विभिन्न कमजोरीहरु र गैर जिम्मेबारीपूर्ण कार्यहरु देखिएको उल्लेख छ।

समितिले उक्त समस्याबाट टेलिकमले एकैदिन करिब ४६ लाख रुपैयाँदेखि ५२ लाख रुपैयाँसम्म नोक्सानी बेहोरेको उल्लेख छ।

यसैगरी सिस्टममा अवरोध हुँदा पालना गर्नुपर्ने प्रकृया र मर्मतको कार्यमा  वार्षिक मर्मत सम्झौता (एएमसी) पाएको कम्पनी एशिया इन्फो (एआई)लाई जानकारी नै नदिई त्यसको स्थानीय पार्टनर कम्पनी कास ट्रेडिङ्गले हचुवाको भरमा मर्मत गर्न खोज्दा समस्या देखिएको खुलासा समेत भएको छ।

समितिको प्रतिवेदनमा नेपाल टेलिकम र मर्मतसम्भारको जिम्मेवारी पाएको एसिया इन्फो बीच समन्वय नभएको उल्लेख छ। त्रिपुरेश्वरस्थित डीआर साइटको स्टोरेज कन्ट्रोलरमा एक्सेस गर्न नसकेको विषयमा टेलिकमका कर्मचारीले सुन्धारा साइटमा उपस्थित रहेको भेण्डरलाई मौखिकरुपमा र भाइबरमार्फत जानकारी गराएको दाबी गरेपनि टेलिकमको उक्त दाबीलाई पुष्टि गर्ने कुनै आधार नभेटिएको लेखिकएछ।

मेन्टेनेन्सको जिम्मा पाएको एसिया इन्फोलाई जानकारी नै नदिई उसको स्वीकृति बिना तथा समस्याको जटिलताको अध्ययन र विश्लेषण नै नगरी एआईका प्रतिनिधि कम्पनी कास ट्रेडिङका प्रतिनिधिले मेन्टेनेन्स गर्न खोज्दा सिस्टम आउटेज भएको थियो। यसक्रममा टेलिकमका कर्मचारीले भनेअनुसार जानकारी दिएको दाबी र मर्मतसम्भारको जिम्मेवारी पाएको कम्पनीले दिएको दाबीमा परस्पर विरोधाभाषपूर्ण देखिएको ठहर गरिएको छ।

यसका साथै १३ जनवरीमा नै स्टोरेज कन्ट्रोलर (नोड १) फल्ट आएको विषयमा अनभिज्ञ रहेको बताएसँगै एआईसँग स्पष्टिकरण माग गर्नुपर्ने उल्लेख छ। त्यस्तै मेन्टेनेन्समा टेलिकमको उच्च व्यवस्थापन तहलाई समेत जिम्मेबार बनाउनुपर्ने भनिएको छ।

नेपाल टेलिकमको सीआरटीबी (कन्भरजेन्ट रियल टाइम बिलिङ्ग) प्रणालीका आपूर्तिकर्ता तथा मर्मतसंभार गर्ने जिम्मा पाएको संस्था एशिया इन्फोको स्थानीय सब भेण्डर कास ट्रेडिङ्गका प्राविधिकको विलिङ्ग प्रणालीसँग सम्बन्धित त्रिपुरेश्वर स्थित डिआर साइटमा रहेको फल्टी स्टोरेज कन्ट्रोलर (नोड १)लाई उक्त प्रणालीबाट डिट्याच गरी बाहिर निकाल्दा बिलिङ्ग सिस्टम पूर्ण रूपमा आउटेज हुन गई नेपाल टेलिकमका सेवाहरू अवरूद्ध हुन पुगेको थियो। यसरी कास ट्रेडिङ्गका प्राविधिकले त्रिपुरश्वर स्थित डिआर साइटबाट फल्टी स्टोरेज कन्ट्रोलर (नोड १)लाई निकाली सुन्धारास्थित डिसी साइटमा पुगे पश्चात निजहरूले नेपाल टेलिकमका दूरसञ्चार सेवाहरू अवरुद्ध भएको जानकारी पाएका थिए।

त्यस पस्चात बिलिङ्ग एप्लिकेसन सर्भर र लिंक बिचको सम्पर्क टुटेपछि सेवा ठप्प भएको थियो।

अर्कोतर्फ समितिकाअनुसार टेलिकमका अधिकारीहरुले नियामक निकायले दिने गरेको निर्देशनसमेत नटेर्ने गरेको देखिएको छ।

यसअघि २०७८ असार ९ गतेको समस्याको बारेमा नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन समेत पालना नगरिएको देखिएको छ। उक्त निर्देशनमा सिस्टम कन्फिगरेशनहरु परिवर्तन गर्दा त्यस्तो सिस्टमको कम्तीमा पनि २४ घण्टा निरन्तर मनिटरिङ्ग गर्न र सेवा प्रदायकले आफ्नो पूर् स्वीकृति तथा जानकारी बिना आपूर्तिकर्ता कम्पनीलाई कुनै सिस्टम कन्फिगरेसनहरु परिवर्तन गर्न नदिने र आवश्यकताअनुसार ब्याकअप लिएर मात्र सिस्टम कन्फिगरेशनहरु परिवर्तन गर्न भनिएको थियो तर उक्त निर्देशन पालना नै गरिएको थिएन।

छानबिन समितिले टेलिकमको सेवा अवरुद्ध हुनुमा टेलिकमको व्यवस्थापन, मर्मतको जिम्मा पाएको एआई र उसको स्थानीय भेण्डर कम्पनी कास ट्रेडिङ्गबीच समन्वय नै नभएको भेटेको छ। यसमा मेन्टेनेन्स प्लान नहुनु, जिम्मेबार निकायहरुबीच समन्वयन नहुनु र आफूखुशी मेन स्टोरेज तथा सर्भर क्षेत्रमा प्रवेश गरी कार्ड निकाल्ने र सेवा अवरुद्ध भएपछि मात्र समन्वयको प्रयास गरी सेवा सुचारु गर्न प्रयास गरिएको देखिएको ठहर छ।

यस्तोमा सहकार्य गर्नुको साटो मेन्टेनेन्सको संवेदनशीलता नबुझेको र जथाभावी प्रवेश गरी आकस्मिक जोखिम बढाएको उल्लेख छ। यसले टेलिकमको सेवाको गुणस्तरमा सँधै प्रश्नचिन्ह लाग्ने अवस्था सिर्जना गरेको समितिले भनेको छ।

समितिले भविश्यमा मेन्टेनेन्स जस्तो संवेशनशील कार्य गर्दा योजना बनाई सबैको समन्वय र उपस्थितिमा मात्र गर्न सुझाब दिएको छ भने मापदण्ड अनिवार्य पालना गर्न भनेको छ। यसका साथै टेलिकमका मर्मतमा प्रत्यक्ष संलग्न पदाधिकारीहरुलाई जिम्मेबार बनाउनुपर्ने दूरसञ्चार प्राधिकरणले दिएका निर्देशनहरु पालना गर्नुपर्ने, उच्च व्यवस्थापन तह त्यति जिम्मेबार र स‌ंवेदनशील नभएकोमा जिम्मेबार भई प्रस्तुत हुनुपर्ने एआईसँग भएको सम्झौताअनुसार मर्मत कार्य नियमित गराउनुपर्ने लगायतका अल्पकालिन सुझाब दिएको छ।

यसैगरी समितिले दिर्घकालिन सुझाबअन्तरगत टेलिकमका बिलिङ्ग प्रणालीको हार्डवेयरहरु एजिङ हुँदै गएकोले हालको मेन्टेनेन्स प्रोसिड्यूरलाई पुनरावलोकन गर्न भनेको छ। बिलिङ्ग सिस्टममा रहेको क्रिटिकल र नन क्रिटिकल कम्पोनेन्टहरु पहिचान गरी सोही आधारमा मात्र मर्मत गर्न भनिएको छ भने बिलिङ्ग प्रणालीलाई दुई भागमा बिभाजन गरी डिआर र डिसी साइट राखिएको भएपनि दुबैमा समस्या भएको भन्दै बिजनेस कन्टिन्यूटी प्लान र डिजास्टर रिकभरी सेन्टरको आधारमा कम्प्लिट डिजास्टर रिकभरी सेन्टर फरक फरक स्थानमा हुनेगरी संचालन गर्न भनिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १० फाल्गुन २०७९, बुधबार

ताजा समाचार