२२ अर्ब खर्च गरेको फोरजी सेवा बिस्तारकै लागि थप करोडौं रुपैयाँ खर्च गर्दै नेपाल टेलिकम

Technology Khabar ६ माघ २०७९, शुक्रबार

२२ अर्ब खर्च गरेको फोरजी सेवा बिस्तारकै लागि थप करोडौं रुपैयाँ खर्च गर्दै नेपाल टेलिकम
नेपाल टेलिकमको फोरजी सेवाको लोगो । फाइल तस्बिर
Global IME Bank

काठमाडौं ।

देशभर फोरजी सेवा बिस्तारको लागि करिब २२ अर्ब रुपैयाँ खर्च गरेको नेपाल टेलिकमले फेरी फोरजी सेवाको लागि नै थप रकम खर्च गर्ने तयारी गरेको छ।

सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल कम्पनी) ले देशभर फोरजी सेवा पुर्याएको भएपनि थप केहि स्थानहरुमा नयाँ टावर र एन्टेनाहरु राख्नुपर्ने अवस्था देखिएको भन्दै थप रकम खर्च गर्ने योजना लिएको हो।

कम्पनीले देशभरका कतिपय राखिएका टावर सेलहरुको बिचमा ‘ब्ल्याक स्पट’ देखिएको भन्दै ७०० भन्दा बढि टावर वा एन्टेनाहरु र उपकरणहरु थप गर्नुपर्ने निष्कर्ष निकालेको छ। यसको लागि कम्पनीले थप करोडौं रुपैयाँ लगानी गर्नुपर्ने भएको हो।

थप टावर र सेवा बिस्तारका लागि टेलिकमको संचालक समितिले समेत ‘ग्रीन सिग्नल’ दिईसकेको बताईएको छ।

नेपाल टेलिकम स्रोतकाअनुसार यसको लागि कम्पनीको ७०/७५ करोड रुपैयाँ थप लगानी पर्ने भएको छ।

“हाल यसको लागि अध्ययनको काम हुँदैछ, छिटै टेण्डर आब्हान हुनेछ,” स्रोतले टेक्नोलोजीखबरसँग भन्यो, “तर कति रकम लाग्छ भन्ने अझै स्पष्ट भएको छैन्।”

यो लगानी कम्पनीले फोरजी सेवा बिस्तारमा खर्च गरेको करिब २२ अर्ब रुपैयाँ भन्दा बाहिरको लगानी हुने स्रोतको दाबी छ। उनकाअनुसार ७०० भन्दा बढि स्थानमा नयाँ टावर वा एन्टेना राख्नुपर्ने हुन्छ। जसमध्ये अधिकांश साना टावर वा एन्टेना हुनसक्नेछ भने दूर्गम भेगमा ठूला टावरहरु नै थप्नुपर्नेछ। टावरसँगै त्यसमा लाग्ने उपकरणहरु समेत किन्नुपर्ने हुँदा करिब ७०/७५ करोड लाग्ने उनको अनुमान छ।

“टेलिकमले फोरजी सेवा बिस्तारको जिम्मा दिएको टेण्डरको काम लगभग सकिएको छ। देशभर सेवा पुगेपनि केहि स्थानहरुमा अझै फोरजी सेवा नलाग्ने वा कम गुणस्तरको भएको देखियो, त्यसलाई समाधान गर्न थप टावरहरु चाहिन्छ,” स्रोतले भन्यो।

तर टेलिकमकै एक अधिकारीले भने नयाँ सरकार आएको र नयाँ संचारमन्त्री आएसँगै सो टेण्डरको कार्य केहि दिनका लागि रोकिएको दाबी गरेका छन्।

“अब नयाँ संचारमन्त्रीलाई यस बारेमा ब्रिफिङ्ग गरेपछि मात्र सायद काम अगाडि बढ्ला,” ती अधिकारीले भने।

उनकाअनुसार करिब २२ अर्ब खर्चिसकेपछि पनि फोरजी सेवाकै लागि थप रकम लगानी गर्नुपर्दा टेलिकमको कमजोरी स्पष्ट देखिएको छ।

“हामीले टेण्डरमा नै देशभर फोरजी सेवा बिस्तारको काम गर्ने भनेका थियौं। यसको अर्थ ‘कार्पेट कभरेज’ भन्ने हुनुपर्ने हो। तर फेरी सोहि काममा टेलिकमको थप रकम खर्च गराईने भयो,” उनले भने।

चालू वर्षको पुस मसान्तसम्म फोरजी परियोजना सम्पन्न भएको घोषणा गर्ने तयारी भएपनि चुनावले गर्दा केहि समयपछि धकेलिएको थियो।

गत साउनमा नै टेलिकम स्रोतले फोरजी परियोजना सम्पन्न भएपनि कम्पनीले थप केहि स्थानहरुमा चालू आवमा आफैंले टावर राख्ने र सेवा बिस्तार गर्ने तयारीसमेत गरेको जानकारी दिएको थियो।

“यस्तो सेवा बिस्तार हाल फोरजी पुगे पनि गुणस्तर मापदण्डमा अपुग भएको वा थप सेवा आवश्यक पर्ने देखिएका स्थानहरुमा हुनेछन्। यसको लागि भने टेलिकमले आफ्नै खर्च र लगानीमा आवश्यक पूर्वाधार तथा उपकरणहरु जडान गर्नेछ,” त्यसबेला स्रोतले टेक्नोलोजीखबरसँग भनेको थियो।

सम्बन्धित समाचार-

फोरजी सेवा बिस्तारको काम यसै वर्ष सक्ने टेलिकमको तयारी, प्रबन्ध निर्देशक पौडेल भाँजो हाल्दै

फोरजी सेवा बिस्तारको लागि कोर र र्यानतर्फ टेण्डर पारेका जेडटिई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सीसीएसआई) कम्पनीले काम गर्दै आएका छन्।

सम्झौता हुँदा १२ महिनाभित्र देशभर सेवा बिस्तार गर्नुपर्ने प्रावधान राखिएको भएपनि कोभिड महामारीले गर्दा फोरजी बिस्तारको काममा ढिलाई भएको टेलिकमको भनाई छ।

२०७६ असोज १६ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले फोरजी सेवाको औपचारिक शुरुवात गरेका थिए। त्यसैगरी २०७८ जेठ ३ गतेदेखि फोरजी भोल्टे(4G VoLTE) को परीक्षण शुरु गरिएको थियो।

रेडियो एक्सेस नेटवर्क र्‍यान विस्तारका लागि टेलिकमले नेटवर्क एक र नेटवर्क दुई गरी तत्कालिन ५ विकास क्षेत्रलाई दुई भागमा बाँडेर टेन्डर आव्हान गरेको थियो। तत्कालिन समयमा परियोजनाको लागत कोरतर्फ करिब ३ अर्ब र र्यानतर्फ करिब १९ अर्ब ९ करोडसहित कुल २२ अर्ब ९ करोड रुपैयाँ रहेको जानकारी दिईएको थियो।

यो पनि हेर्नुस्-

टेलिकमको सिस्टम डाउन गराउने दोषी उपर कारबाही गरी क्षतिपूर्ति असुल गर्न कर्मचारीहरुको माग

Sajilo Visa

प्रकाशित: ६ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया