विवादित पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा पुनः नियुक्त

Technology Khabar १६ जेष्ठ २०७९, सोमबार

विवादित पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा पुनः नियुक्त

काठमाडौं ।

सरकारले सुरक्षण मुद्रण केन्द्रमा विवादित छविका व्यक्ति विकल पौडेललाई पुन नियुक्ति गरेको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सोमबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।

उनकाअनुसार पौडेलको पदावधी एक पटकका लागि थप गरिएको हो।

पौडेललाई कार्यकारी निर्देशकमा नियुक्ति दिनका लागि सञ्चार मन्त्री कार्कीले नियम नै संशोधन गराएका थिए। पौडेललाई सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा मन्त्रिपरिषद्ले शुक्रबार पुनः नियुक्ति दिने निर्णय गरेको हो।

पौडेल यसअघि पूर्व सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाको समयमा ७० करोड घुस काण्डमा मुछिएका व्यक्ति हुन्। सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस खरिद काण्डमा एक एजेन्टसँग सञ्चार मन्त्री बाँस्कोटाले ७० करोडको डिल गरेको अडियो त्यसबेला लीक हुँदा पौडेलको नाम समेत मुछिएको थियो।सोहि अडियो काण्डपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए।

सुरक्षण मुद्रण खरीद प्रक्रिया अपारदर्शी भएको भन्दै त्यसैबेला संसदको सार्वजनिक लेखा समितिले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा र पौडेलमाथि छानविन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो।

हाल पौडेललाई कार्यकारी निर्देशकमा नियुक्ती गर्ने उद्देश्यअनुसार सञ्चारमन्त्री कार्कीले मूल आदेशको दफा ६ नै संशोधन गरेर सरकारले आवश्यक देखेमा एक पटकका लागि कार्यकारी निर्देशकको पदावधि एक पटकका लागि थप गर्न सक्ने प्रावधान राखिएको छ।

सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश यहि जेठ १२ गते सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको हस्ताक्षरमा संसोधन गरिएको थियो। जसमा कार्यकारी निर्देशकको पदावधी एक पटकका लागि थप गर्न सकिने प्रावधान राखिएको हो।

सोही प्रावधानअनुसार विकल पौडेललाई पुनः सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशकमा नियुक्ती दिईएको हो।

स्मरणरहोस् यसअघि मन्त्री कार्कीले पौडेल निकट सुनिल पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्न पदपूर्तिसम्बन्धी व्यवस्था नै संशोधन गराएका थिए। मन्त्री कार्कीले टेलिकममा सुनिल पौडेललाई नियुक्त गरेसँगै उनी सो पदका लागि उपयुक्त व्यक्ति भएको जिकिर गरेका थिए।

सम्बन्धित समाचार-

नेपाल टेलिकममा नियुक्ति पाएका सुनिल पौडेल उपयुक्त व्यक्ति भएको सञ्चारमन्त्रीको दाबी

तर सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा इमेल खरिदलगायतका प्रकरणमा मुछिएका थिए।

सम्बन्धित समाचार-

एउटै सरकारी ईमेल बनाएको झण्डै १० हजार रुपैयाँ, किनेका मध्ये २५ प्रतिशत मात्र सक्रिय !

उता विकल पौडेलले भने यसअघिदेखि नै सेटिङ्गमा केन्द्रका अधिकांश कामहरु म्याक्स र ओम्नी नामक कम्पनीहरुलाई दिँदै आएका छन्।

विकल पौडेल पछिल्लो समय नेपाल दूरसञ्चार प्राधिकरणमा जाने योजनामा रहेका थिए तर सो योजना असफल भएसँगै उनलाई मन्त्रीले केन्द्रमा नै पुनः नियुक्ति गरेका हुन्।

उनले दूरसञ्चार प्राधिकरणमा जान निकै प्रयास गरेको स्रोतले दाबी गरेको छ। तर प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सरकारले हटाउन कठिन भएपछि पौडेललाई केन्द्रमा राखिएको हो। सोही अनुसार सरकारले पुनः नियुक्ति दिएको बताईएको छ।

दूरसञ्चार प्राधिकरणको सामुदायिक विद्यालयहरुमा कम्प्युटर र इन्टरनेटसहितको आईटी ल्याब स्थापना गर्ने  परियोजना पौडेलकै योजनामा तयार भएको बताईएको छ। सो योजनाको प्राविधिक स्पेसिफिकेसन नै पौडेलले तयार पारेको बताईएको छ।

यसअघि पौडेललाई केन्द्रमा ओली नेतृत्वको सरकारले नियुक्ति गरेको थियो ।

easy care

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार