Technology Khabar २५ चैत्र २०७८, शुक्रबार
काठमाडौं ।
नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले आज चैत २५ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन्।
उनलाई नेपाल सरकार मन्त्रिपरिषदको २०७८ चैत २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो ।
सरकारले गरेको उनको नियुक्ति निकै विवादमा परेको छ। उनलाई नै प्रबन्ध निर्देशक बनाउन भनेर सरकारले नियोजितरुपमा कार्यविधि नै परिवर्तन गरिएको भन्दै विरोध हुँदै आएको छ। त्यसैगरी उनको कार्यकालमा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक रहँदा बेतिथीहरु भएको भन्दै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा नै उल्लेख रहेको छ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रति आभार प्रकट गरेको टेलिकमले जनाएको छ।
सो अवसरमा उनले कार्यालय प्रयोजनका सबै काम कारवाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालितरुपमा तत्काल कार्यान्वयनमा लैजाने संरचनामा ढाली कम्पनीका सबै सेवाहरुलाई आम जनताको सहज र सुलभ पहुँचमा पुर्याउनका लागि हामी सबै प्रतिबद्ध हुनुपर्ने बताए। उनले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेको जारी विज्ञप्तीमा उल्लेख छ।
पदभार ग्रहण गर्दै उनले नेपाल सरकारको सुचना प्रविधिमार्फत राष्ट्रलाई सम्वृद्ध बनाउने र मुलुकभरका आम जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहुँचमा पुर्याउने अन्तर्निहित उद्देश्यसँगै राष्ट्र र जनताप्रतिको अहंम दायित्वबोधका साथ कम्पनीलाई नम्बर १ संस्थाकारुपमा कायम राख्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
टेलिकमकाअनुसार पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक, अन्य बरिष्ठ अधिकृत, कम्पनीमा क्रियाशील कर्मचारी युनियनका पदाधिकारी एवं कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो।
प्रबन्ध निर्देशक पौडेल यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत थिए । उनले सो केन्द्रमा सन् २००४ देखि कार्यरत रही कम्प्युटर इञ्जिनियर, सहायक निर्देशक तथा उपनिर्देशकको जिम्मेवारी वहन गरिसकेका छन्।
उनले सन् २००८ मा दक्षिण कोरियाको कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (काइस्ट) बाट सूचना प्रविधिमा स्नातकोत्तरको उपाधि हासिल गरेका छन्।
यो पनि हेर्नुस्-
नेपाल टेलिकममा नियुक्ति पाएका सुनिल पौडेल उपयुक्त व्यक्ति भएको सञ्चारमन्त्रीको दाबी
प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार