नेपाल टेलिकमका प्रबन्ध निर्देशकको प्रतिस्पर्धीका लागि तोकियो अन्तरवार्ताको समय

  • Technology Khabar | २० चैत्र २०७८, आईतवार
नेपाल टेलिकमका प्रबन्ध निर्देशकको प्रतिस्पर्धीका लागि तोकियो अन्तरवार्ताको समय

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमका प्रबन्ध निर्देशकको पदका लागि दरखास्त दिएका उम्मेदवारहरुको व्यवसायिक कार्ययोजना प्रस्तुति र अन्तरवार्ता मिति तय गरेको छ।

मन्त्रालयले आज सार्वजनिक सूचनामार्फत सो प्रतिस्पर्धामा पहिलो चरणमा छनोट भएका उम्मेदवारहरुको अन्तरवार्ता र प्रस्तुतिको मिति तय गरेको हो।

सो सूचीअनुसार सोमबार र मंगलबार दुई दिन उम्मेदवारहरुको लागि अन्तरवार्ता र प्रस्तुति हुनेछ। जसमा पहिलो चरणमा सोमबार ६ जना उम्मेदवारहरुको समय तोकिएको छ भने बाँकी ३ जनाको लागि मंगलबार मिति तोकिएको छ।

मन्त्रालयले यसअघि चैत १७ गते उम्मेदवारहरुको छनोट सूची प्रकाशित गरेको थियो।

सम्बन्धित समाचार-

यी हुन् नेपाल टेलिकमको प्रबन्ध निर्देशकको दौडमा रहेका उम्मेदवारहरु, कस्ले मार्ला बाजी ?

यस प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुको अन्तरवार्ता र व्यवसायिक कार्ययोजनासहितको प्रस्तुतिपछि सिफारिस समितिले ३ जनाको नाम छनोट गर्नेछ।

सरकारले नेपाल टेलिकमको नयाँ प्रबन्धक निर्देशक नियुक्तिको लागि सञ्चार मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालको नेतृत्वमा गठन गरेको सिफारिस तथा छनोट समितिले दिने ३ जना उम्मेदवारहरुमध्येबाट एक जनालाई प्रबन्ध निर्देशक पदमा नियुक्ति गरिनेछ।

नेपाल टेलिकमको नियुक्ति प्रक्रियाको बारेमा जानकार स्रोतले भने यसै साताभित्र सरकारले नयाँ प्रबन्ध निर्देशक नियुक्ति गर्ने तयारी गरेको जानकारी दिएको छ।

विवादमा परेर २ महिना भन्दा लामो समयदेखि पद खालि रहेको र आगामी स्थानीय निर्वाचनको लागि लागू हुने आचार संहिताले रोक्ने हुँदा सकेसम्म छिटै नियुक्ति गर्ने योजना रहेको स्रोतको दाबी छ।

सो पदका लागि ९ जना उम्मेदवारहरु छनोट सूचीमा रहेका छन्।

यो पनि हेर्नुस्-

दूरसञ्चार प्राधिकरणको नयाँ सदस्य नियुक्तिको लागि सिफारिस समिति गठन

प्रकाशित: २० चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार