विदेशी कल तथा डाटा मनिटर गर्ने सिस्टम राख्न भ्यानराइज सलुसन्सलाई आशय पत्र जारी

Technology Khabar ९ मंसिर २०७८, बिहीबार

विदेशी कल तथा डाटा मनिटर गर्ने सिस्टम राख्न भ्यानराइज सलुसन्सलाई आशय पत्र जारी
NTC_Advt

नेपालमा भित्रने भ्वाइस र डाटा सेवाको अनुगमन गर्ने प्रविधि राख्न भ्यानराइज सलुसन्स एसएएललाई नेपाल दूरसञ्चार प्राधिकरणले आशय पत्र(एलओआई) जारी गरेको छ।

पछिल्लो समय विवादित रहेको सो अदालती आदेशअनुसार भ्यानराइजलाई प्राधिकरणले कामको जिम्मा दिनुपर्ने भएपछि आशय पत्र जारी गरेको हो। कम्पनीलाई गत बिहिबार आशय पत्र दिएको छ।

सर्वोच्च अदालतको आदेशसँगै सो कम्पनीलाई इन्टरनेशनल कल मनिटरिङ्ग एण्ड फ्रड कन्ट्रोल सिस्टम जडान गर्ने कामको जिम्मा दिन लागिएको हो।

यसअघि भ्यानराइज सलुसन्सले आफुले पाउनुपर्ने ठेक्काअनुसारको काम नदिएर ठेक्का प्रकृया नै खारेज गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो । सो रिटमा कम्पनीको पक्षमा वैशाख १४ गते अन्तरिम आदेश जारी गरिएको थियो भने सोहि रिटको पूर्ण पाठ कात्तिक महिनामा आएको थियो।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सो कम्पनीलाई ‘एलओआई’ जारी गरेको र कम्पनीलाई थप काम गराउने शर्त राखिएको जानकारी दिए।

“सर्वोच्चको आदेशपछि कम्पनीलाई सो काम गर्न दिने निर्णय भएको हो। तर पछिल्लो दुई वर्षमा प्रविधिमा धेरै परिवर्तन भईसकेको हुँदा त्यसलाई अपग्रेड गर्न र डाटाकोसमेत मनिटरीङ्ग गर्नेगरी सिस्टम बनाउन सहमत गराएका छौं,” अध्यक्ष खनालले भने।

उनकाअनुसार कम्पनीलाई नयाँ प्रविधिअनुसारको सफ्टवेयर लगायतका सिस्टम बनाउनुपर्ने र त्यसमा भ्वाइस मात्र नभई डाटा मनिटरिङ्ग समेत गर्ने किसिमको बनाउनुपर्नेमा सहमत गराईएको छ। यसको लागि प्राधिकरणले वार्ता टोली गठन गरेर छलफल गरेको थियो।

यसअघि प्राधिकरणले अदालतको पूर्ण पाठ आएसँगै सो सिस्टम लागू गराउन भनेर सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग ७० करोड बजेट विनियोजनको लागि अनुमति माग गरेको थियो।

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले हालको बजेट विनियोजनबाटै प्रारम्भिक रकम मिलाउने योजना लिएको छ।

उता कम्पनीलाई एलओआई दिएसँगै अब कम्पनीले सम्झौताको लागि प्राधिकरणमा जानुपर्नेछ र सम्झौता भएसँगै काम शुरु गर्नुपर्ने हुन्छ।भ्यानराइज सलुसन्सले सो प्रणालीको डिजाइन, विकास, आपूर्ति, हार्डवेयर र सफ्टवेयरको स्थापना, संचालन तथा व्यवस्थापनको कार्य गर्नेछ।

तत्कालिन समयमा कम्पनीले सो प्रणालीको सम्पूर्ण कार्य गर्नका लागि २ करोड ३७ लाख ७० हजार अमेरिकी डलरको प्रस्ताव पेश गरेको थियो।

प्राधिकरणका अध्यक्ष खनालका अनुसार सो सिस्टम बनाउन करिब ९ महिनाको अवधि लाग्नेछ।

दूरसञ्चार प्राधिकरणले मोबाइल टेलिफोन, इन्टरनेट सेवा प्रदायकहरुको क्रियाकलापलाई अनुगमन, नियमन तथा उपभोक्ताको हकहितको संरक्षणको लागि भनी सेवा प्रदायकहरुले पेश गर्ने कल ट्राफिक डिटेललाई मापन तथा अनुगमन गर्ने प्रणाली भएको सर्वोच्चले आफ्नो आदेशमा ब्याख्या गर्दै भनेको छ।

यो सिस्टमका लागि प्राधिकरणले कम्पनीलाई २ करोड ३७ लाख ७० हजार अमेरिकी डलर अर्थात आजको मूल्यमा २ अर्ब ८२ करोड ६७ लाख ११ हजार ८०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ।

यो पनि हेर्नुस्-

विदेशबाट आउने सम्पूर्ण फोन कलहरुको अनुगमन गरिने, ७० करोड रुपैयाँ बजेट छुट्याईयो

प्रकाशित: ९ मंसिर २०७८, बिहीबार