“लुटेर लगेको उपकरणहरु विद्युत प्राधिकरणले अझै फिर्ता गरेन” -इन्टरनेट सेवा प्रदायक

Technology Khabar १८ आश्विन २०७८, सोमबार

“लुटेर लगेको उपकरणहरु विद्युत प्राधिकरणले अझै फिर्ता गरेन” -इन्टरनेट सेवा प्रदायक
नेपाल विद्युत प्राधिकरण चितवन बितरण केन्द्रका कर्मचारी पोलमा रहेको इन्टरनेटको तार काट्दै। फाइल तस्बिर

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले देशभर पोल भाडा विवादमा काटिदिएको इन्टरनेट केबुलको तारहरु सेवा प्रदायकहरुले जडान गरेका छन्।

उनीहरुले हिजो र आजसम्ममा सबै काटिएका तारहरु व्यवस्थापन र जडान गर्ने काम गरिसकिएको जानकारी दिएका हुन् । विशेषगरि चितवन भरतपुरमा धेरै स्थानमा तार काटिएको र इन्टरनेटको मुख्य तार नै काटिएकोमा जडान गर्न समय लागेको बताए ।

इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधिर पराजुलीले काटिएको तारहरु जडान गर्ने कार्य गरिसकिएको बताए । “ग्राहकहरुले इन्टरनेट सेवा नआउने बित्तिकै हामीलाई गुनासो गरेका थिए । त्यसैले विवाद मिलेसँगै सबै अप्टिकल फाइबर केबुलहरु जोडिसकेका छौं,” उनले भने ।

उर्जा र सञ्चार मन्त्रालयको हस्तक्षेपछि इन्टरनेटको तार नकाट्ने प्रतिबद्धता जनाएको नेपाल विद्युत प्राधिकरणले सेवा प्रदायकहरुबाट जबर्जस्ति लगेको उपकरणहरु भने फिर्ता दिएको छैन् । विभिन्न सेवा प्रदायकहरुले इन्टरनेट तार मर्मत तथा जडानमा प्रयोग गर्ने उपकरणहरु विद्युत प्राधिकरणले जबर्जस्ति विभिन्न स्थानबाट उठाएर लगेको थियो । त्यसबेला ती उपकरणहरु पोल भाडा नतिरेसम्म नदिने बताउँदै आएको थियो।

हाल विवाद समाधान गर्ने प्रकृया शुरु भईसक्दा र तार नकाट्ने सहमति भईसक्दा पनि विद्युत प्राधिकरणले उपकरणहरु फिर्ता दिन नमानेको आइस्पानका अध्यक्ष पराजुलीले बताए ।

“हाम्रा सेवा प्रदायकहरुबाट विद्युत प्राधिकरणले लुटेर लगेको उपकरणहरु अझै फिर्ता दिन मानेको छैन् । उपकरणहरु लिनका लागि राजस्व तिर्छु भनेर कागतपत्रमा हस्ताक्षर गरेपछि मात्र दिने भनेर आनाकानी गरिरहेको छ, यो सहमतिको विरुद्ध हो,” अध्यक्ष पराजुलीले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार विशेषगरि भरतपुरमा लगेको विद्युत प्राधिकरणले उपकरणहरु फिर्ता दिन नमानेको हो । उनले यसको लागि पहल भईरहेको तर विद्युत प्राधिकरणले सहजरुपमा उपकरण फिर्ता दिने नदेखिएको दाबी गरे ।

यो पनि हेर्नुस्-

पोलभाडा विवाद मिलाउन दुई मन्त्रालयको हस्तक्षेप, कात्तिक भित्र विद्युत प्राधिकरणसँग सेवा प्रदायकहरुले सम्झौता गर्नुपर्ने

प्रकाशित: १८ आश्विन २०७८, सोमबार