पाेल भाडा र तार काट्ने सूचना बारेको विवादमा विद्युत प्राधिकरणलाई छलफलमा बोलाईयो

Technology Khabar १ आश्विन २०७८, शुक्रबार

पाेल भाडा र तार काट्ने सूचना बारेको विवादमा विद्युत प्राधिकरणलाई छलफलमा बोलाईयो
NTC_Advt

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले विद्युतको पोल भाडा बढाएको र इन्टरनेटको तार काटिदिने सूचनाको बारेमा जानकारी लिनका लागि नेपाल विद्युत प्राधिकरणलाई दोस्रो पटक छलफलमा बोलाएको छ।

विद्युत प्राधिकरणले भदौ १६ गते पहिलो पटक तार काटिदिने चेतावनीसहितको सार्वजनिक सूचना प्रकाशित गरेर इन्टरनेट सेवा प्रदायकहरुलाई समायोजन गरिएको पोल भाडा तिर्न र सम्झौता गर्नका लागि आउन भनेको थियो। पोल भाडा तिर्न नआउने र सम्झौता नगर्ने सेवा प्रदायकहरुको तार काटिदिने चेतावनी दिएको थियो।

यस विषयमा सोही समयमा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले आपत्ति जनाउँदै त्यसको विरोध गरेको थियो भने सो बारेमा दूरसञ्चार प्राधिकरणलाई समेत ध्यानाकर्षण गराएको थियो। आइस्पानले विद्युत प्राधिकरणले तार काटिदिएको खण्डमा सोहि संस्था नै जिम्मेबार हुने चेतावनी दिएको थियो।

दुबै पक्षसहितको छलफल गरेर समस्याको समाधान गर्ने उदेश्यले दूरसञ्चार प्राधिकरणले विद्युत प्राधिकरणसहित आइस्पानलाई समेत बोलाएको हो ।

दूरसञ्चार सेवा अति आवश्यक सेवा भएको साथै हाल कोभिड १९ को कारण शिक्षा, स्वास्थ्य, व्यवसाय लगायतका सेवाहरु समेत इन्टरनेट बाट नै संचालन भईरहेको व्यहारा उल्लेख गरेर सो विवाद सम्बन्धमा दूरसञ्चार ऐनले दिएको अधिकारअनुसार दूरसञ्चार प्राधिकरणले छलफल गर्न बोलाएको उल्लेख गरेकोछ।

यसअघि पनि विद्युत प्राधिकरणलाई भदौ २२ गते छलफलका लागि बोलाएकोमा सो ससंस्थाबाट कुनै प्रतिनिधि नआएको र कुनै जवाफ समेत नदिएको भन्दै पुन असोज १ गते छलफलमा आउन पत्र काटेको हो।

यसअघि पनि दूरसञ्चार प्राधिकरणले विद्युत प्राधिकरणलाई नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र लिएर मात्र त्यस्तो काम गर्न र पोल भाडा तोक्न भनेको थियो।

तर सो पत्रको समेत विद्युत प्राधिकरणले जवाफ दिएको छैन्।

यसैबिच विद्युत प्राधिकरणले पुनः नयाँ सूचना जारी गर्दै पोल भाडा तिर्न र सम्झौता गर्न सेवा प्रदायकहरुलाई म्याद दिएको छ। विद्युत प्राधिकरणले असोज १५ पछि भाडा नतिरेका र सम्झौता नभएका सेवा प्रदायकहरुको तार काटिदिने चेतावनी दिएको छ।

सम्बन्धित समाचार-

केबुल टिभी र इन्टरनेट सेवाको तार असोज १५ देखि हटाईदिने विद्युत प्राधिकरणको चेतावनी

सोहि विषयलाई लिएर आइस्पानले बिहिबार दूरसञ्चार प्राधिकरणमा निवेदन दर्ता गराउँदै ग्राहक सेवा शुल्क बढाउने प्रस्ताव गरेको छ। आइस्पानले बढेको पोल भाडाले लागत बढाउने भन्दै सेवा शुल्क बढाउन माग गरेको छ । जसअनुसार शहरी क्षेत्रमा १५० रुपैयाँ र ग्रामीण भेगमा ३०० रुपैयाँसम्म शुल्क बढाउन माग गरेको हो ।

हेर्नुस् समाचार-

इन्टरनेट सेवाको शुल्क ३०० रुपैयाँसम्म बढाउने सेवा प्रदायकहरुको प्रस्ताव

प्रकाशित: १ आश्विन २०७८, शुक्रबार