इन्टरनेट सेवाको शुल्क ३०० रुपैयाँसम्म बढाउने सेवा प्रदायकहरुको प्रस्ताव

Technology Khabar ३१ भाद्र २०७८, बिहीबार

इन्टरनेट सेवाको शुल्क ३०० रुपैयाँसम्म बढाउने सेवा प्रदायकहरुको प्रस्ताव
NTC_Advt

इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणले पोल भाडा नघटाई तार काटिदिने चेतावनी दिएपछि पोल भाडा तिरेर ग्राहकहरुको लागि सेवा शुल्क बढाउने तयारी गरेका छन्।

उनीहरुले अहिलेकै भाडा दरमा पोल भाडा तिर्नुपर्ने अवस्था आएको खण्डमा पोल भाडा तिर्ने तर सेवाग्राहीलाई शुल्क बढाउने प्रस्तावमा सहमति गरेका हुन् ।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपालले बुधबार निर्णय गरेर आज नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दर्ता गराउँदै उपभोक्ता सेवा शुल्क बढाउन प्रस्ताव गरेको हो। आज निवेदन दर्ता गराउने क्रममा रहेको बताईएको छ।

सो प्रस्तावअनुसार संघले न्यूनतम प्रति ग्राहक वा प्रति लाइन १५० रुपैयाँ प्रति महिना सेवा शुल्क बढाउन माग गरेको छ । जसमा सेवा प्रदायकहरुले सो शुल्क हालको शुल्कमा जोडेर लिन पाउनेछन् ।

प्रस्तावित शुल्कअनुसार शहरी र ग्रामीण क्षेत्रका उपभोक्ताहरुको लागि फरक शुल्क वृद्धि गर्ने भनिएको छ।

आइस्पानका अनुसार ग्रामीण क्षेत्रमा प्रति ग्राहक ३०० रुपैयाँ र शहरी क्षेत्रमा १५० रुपैयाँ शुल्क बढाउन सहमतिका लागि माग गरेको छ।

‘बुधबारको बैठकमा सहमति भएपछि आज निवेदन दर्ता गरिने भएको हो,’ एक सेवा प्रदायकले भने ।

विद्युत प्राधिकरणले हालको अवस्थामा पोलको भाडा दर समायोजन गर्ने नदेखिएको र सो बारेमा शुल्क तिरेर सम्झौता गर्न वा तार काटिदिने चेतावनीपछि उनीहरुले सो सहमति गरेर औपचारिक प्रस्ताव गरेका हुन् ।

सोहीअनुसार दूरसञ्चार प्राधिकरणमा निवेदन दिएर अनुमति पछि मात्र शुल्क वृद्धि हुनेछ। अनुमति नपाएको अवस्थामा भने शुल्क वृद्धि गर्न समस्या हुनेछ ।

सेवा प्रदायकहरुले ग्राहकहरुलाई कुनैपनि सेवामा शुल्क लिँदा सो शुल्क प्राधिकरणबाट अनुमति लिनुपर्ने कानूनी प्रावधान छ ।

यसअघि विद्युत प्राधिकरणसँग बैठक राखेर सहमति गर्न पटक पटकको प्रयास असफल भएपछि उनीहरुले अन्तिममा शुल्क बढाउने निर्णय गरेका हुन् ।

‘हामीले सबै स्थानमा र सरोकारबालाहरुसम्म पुगेपनि सो बारेमा कुरै सुन्न नचाहेपछि बाध्य भएर यो प्रस्ताव गरेका हौं,’ एक सेवा प्रदायकले भने ।

 

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार