काठमाडौं ।
चीन सरकारले अबदेखि बालबालिकाहरुले दिनमा एक घण्टाभन्दा बढी अनलाइन गेम खेल्न नपाउने नियम लागू गरेको छ।
चीनको नेशनल प्रेस एन्ड पब्लिकेशन एडमिनिस्ट्रेशनले सरकारी समाचार संस्था सिन्हवालाई बताए अनुसार बालबालिकाहरुले हरेक दिन साँझ ८ देखि ९ बजेसम्म १ घण्टामात्र अनलाइन गेम खेल्न पाउनेछन्।
यसबाहेक सरकारले यो तोकिएको समयबाहेक अन्य समयमा गेम खेल्नबाट बाट बालबालिकालाई रोक्न गेमिङ कम्पनीहरुलाई पनि निर्देशन दिएको छ। यसै महिनाको शुरुवातमा एउटा सरकारी अखबारले अनलाइन गेमलाई ‘आध्यात्मिक अफीम’ का रुपमा व्याख्या गरेको थियो।
सरकारले यो समयसीमाको पालना राम्ररी भए नभएको अनुगमनका लागि अनलाइन गेमिङ कम्पनीहरुको निरीक्षण पनि बढाउने नियामक संस्थाले जनाएको छ।
यसअघि नियामकले बालबालिकाको अनलाइ गेम खेल्ने समय अन्य दिनमा १ घण्टा ३० मिनट र बिदाका दिनमा ३ घण्टा कायम गरेको थियो।
यो निर्णय बालबालिकाहरुमा धेरै समय अनलाइन गेम खेल्नाले निम्तिने नकारात्मक प्रभावको चिन्तालाई मध्यनजर गरेर आएको बुझिएको छ।
यो नियम आउनुभन्दा एक महिनाअघि एउटा सरकारी अखबार इकोनोमिक इन्फर्मेशन डेलीले थुप्रै किशोर किशोरीमा अनलाइन गेमिङको लत बसेको र उनीहरुमा नकारात्मक असर देखिन थालेको दावी गरेको थियो।
उक्त लेखका कारण विभिन्न अनलाइन गेमिङ कम्पनीका शेयर मूल्यमा गिरावट पनि आएको थियो।
गत जुलाइमा चिनियाँ गेमिङ जायन्ट टेन्सेन्टले बालबालिकालाई राति १० देखि बिहान ८ बजेसम्म गेम खेल्नबाट प्रतिबन्ध लगाउन फेसियल रिकग्निशन सिस्टम ल्याउन लागको बताएको थियो।
बीबीसीबाट
सम्बन्धित समाचार
चीनले अनलाइन गेमलाई इलेक्ट्रोनिक ड्रग नाम दिएपछि शेयरको मूल्यमा गिरावट
अनलाइन गेमलाई आध्यात्मिक अफीम भनिएपछि टेन्सेन्टले नाबालिगले खेल्न पाउने समय घटायो
प्रकाशित: १४ भाद्र २०७८, सोमबार