टेलिकमका कर्मचारीहरुसँग वार्ताको वातावरण बनाउन मन्त्रालयको सहजीकरण टोली गठन

Technology Khabar १४ श्रावण २०७८, बिहीबार

टेलिकमका कर्मचारीहरुसँग वार्ताको वातावरण बनाउन मन्त्रालयको सहजीकरण टोली गठन
धर्नामा कर्मचारीः नेपाल टेलिकमका कर्मचारीहरु कम्पनीको मुख्यालयमा धर्ना बस्दै ।

बिगत १० दिनदेखी  नेपाल टेलिकमका कर्मचारीहरुको आन्दोलन जारी भईरहेको सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आन्दोलनकारीसँग वार्ता गर्ने वातावरण बनाउनका लागि समन्वय गर्ने भएको छ।

मन्त्रालयले हालै आन्दोलनरत कर्मचारीहरुलाई पत्र पठाउँदै सहजकर्ता र समन्वयनकर्ता खटाएको जानकारी दिएको छ ।

सो सहजीकरण टोलीले आगामी दिनमा नेपाल टेलिकम व्यवस्थापन र आन्दोलनकारी कर्मचारीहरुबिच वार्ता हुने वातावरण बनाउने बताईएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शोभाकान्त पौडेलले आफ्नो मातहतमा भएका विषयहरुलाई समन्वयन र सहजीकरण गर्नु स्वभाविक भएको बताए ।

“मन्त्रालयको मातहतको कम्पनी भएको हुँदा सहजीकरण गर्न प्रयास गरिएको हो। वार्ता कम्पनीको व्यवस्थापन र कर्मचारी बिच नै हुने हो । त्यसको लागि भूमिका बनाई दिनेछ,” उनले टेक्नोलोजीखबरसँग भने।

उनले वार्ता गर्ने र समस्या समाधान गर्ने कार्य भने टेलिकमको नै भएको र मन्त्रायलले त्यसमा सहयोग मात्र गर्ने बताए।

धर्नामा कर्मचारीः नेपाल टेलिकमका कर्मचारीहरु कम्पनीको मुख्यालयमा धर्ना बस्दै ।

अर्कोतर्फ आन्दोलनरत कर्मचारीहरुको तर्फबाट नेपाल दूरसञ्‍चार राष्‍ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव प्रसाद पनेरुले सहजकर्तामा संस्थान प्रमुख रामप्रसाद सापकोटा र समन्वयनकर्ताको रुपमा महेन्द्र प्रसाद साँखीको नामसहित पत्र आएको जानकारी दिए ।

“हामीलाई मन्त्रालयले सहजीकरणको लागि पत्र पठाएको छ र हाम्रो वार्ता टोलीसँग त्यस बारेमा छलफल गरेर मन्त्रालयमा जानेछौं” उनले भने, “तर यसअघि धेरैपटक कर्मचारीहरुसँग वार्तामा बसेको हुँदा मन्त्रालयले अपनत्व लिएमा मात्र आन्दोलन रोकिनेछ।”

उनकाअनुसार पटक पटक वार्ता गरिरहने तर कर्मचारीहरु भने पिडित भईरहने हुँदा ठोस निष्कर्ष आउने गरि सहमति गरिनेछ ।

“हामीले पनि सहज होस र समस्या समाधान होस भनेर केन्द्रिय कार्यालयमा मात्र आन्दोलन गरिरहेका छौं, हाम्रो माग भनेको बोर्ड सदस्यसहितको वार्ता टोली गठन गरेर मात्र सहमतिमा जाने हो,” पनेरुले भने ।

धर्नामा कर्मचारीः नेपाल टेलिकमका कर्मचारीहरु कम्पनीको मुख्यालयमा धर्ना बस्दै ।

साउन १ गतेदेखि लागू भएको नयाँ नेपाल दूरसञ्चार कम्पनी कर्मचारी विनियमावलीको विरोध गर्दै कर्मचारीहरु साउन ५ गतेदेखि आन्दोलनरत रहेका छन् ।

सोहि सिलसिलामा कर्मचारीहरुले टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई एक रात कार्यकक्षमा नै थुनेका थिए ।

उनीहरुले प्रबन्ध निर्देशक, उपप्रबन्ध निर्देशक, निर्देशक जस्ता वरिष्ठ तहका कर्मचारी स्वतः अवकाश हुने पुरानै व्यवस्थालाई निरन्तरता दिन माग राख्दै आएका छन् । यसअघिको विनियमावलीमा उपप्रबन्ध निर्देशक ५ वर्ष पुगेपछि तथा निर्देशक ८ वर्षपछि स्वतः अवकासमा जानुपर्ने व्यवस्था रहेको थियो।

तर नयाँ विनियमावली अनुसार सो व्यवस्था हटाएर पुन कर्मचारी तल्लो तहमा नै फर्कन सक्ने किसिमको व्यवस्था गरिएको बताईएको छ ।

त्यसैगरि स्वतः बढुवा अनुसार योग्यता भएका कर्मचारी ८ वर्षमा, सवारी चालक ९ वर्षमा र योग्यता नभएका तर काम सन्तोषजनक भएको अवस्थामा १० वर्षमा स्वतः बढुवा हुन पाउने व्यवस्था समेत लोकसेवा आयोगले हटाइदिएको छ ।

यो पनि हेर्नुस्-

किन थुने नेपाल टेलिकमका कर्मचारीहरुले प्रबन्ध निर्देशक अधिकारीलाई कार्यकक्षमा ? यस्तो छ कारण

स्वीरः टेलिकमका कर्मचारी सुरेश रौनियारको फेसबुकबाट

यस्तो छ नयाँ विनियमावली-

NTC_biniyamabali_
TK Viber

प्रकाशित: १४ श्रावण २०७८, बिहीबार

Loading...