किन थुने नेपाल टेलिकमका कर्मचारीहरुले प्रबन्ध निर्देशक अधिकारीलाई कार्यकक्षमा ? यस्तो छ कारण

Technology Khabar ६ श्रावण २०७८, बुधबार

किन थुने नेपाल टेलिकमका कर्मचारीहरुले प्रबन्ध निर्देशक अधिकारीलाई कार्यकक्षमा ? यस्तो छ कारण

कर्मचारी विनियमावली संशोधनको विषयलाई लिएर नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई आफ्नै कर्मचारीले मंगलाबार रातभर कार्यालयमा थुनेका छन् । कर्मचारीहरूले आफ्ना माग पुरा गराउन दबाब स्वरुप सरकारी दूरसञ्चार कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक अधिकारीलाई कार्यकक्षमै घेराबन्दी र धर्ना गरेका थिए ।

उनीहरुले यसअघि प्रतिबद्धता पुरा गरेअनुसार कर्मचारी विनियमावली संशोधन नगरिएको भन्दै अधिकारीलाई थुनेका हुन् ।

उनलाई बिहान मात्र घर जान दिईएको एक कर्मचारीले जानकारी दिए ।

‘विनियमावली संसोधनको  माग र सहमति पुरा नगरेकोमा कार्यकक्षमा धर्ना दिईएको हो । माग पुरा गर्ने भन्नुभएको छ,’ उनले भने ।

पछिल्लो केही समययता कर्मचारी विनियमावली संशोधनको विषयलाई लिएर टेलिकम कर्मचारी युनियनहरू संयुक्त रुपमा आन्दोलनरत छन् ।

व्यवस्थापनले सो विनियमावलीलाई संसोधन गर्न  र संचालक समितिमा छलफल गरेर पास गराउन सहमत भएको बताउँदै आएको थियो ।

हालका सचिव हरि प्रसाद बस्याल बुधबारदेखि नै अवकाश हुन लागेका हुँदा सो भन्दा अगाडी नै संसाेधन गर्ने यसअघि बताईएको थियो ।

कर्मचारीहरुले अधिकारीसँग सो विनियमावलीमा के के संसाेधन गरिन्छ भन्ने विषय माग गर्दा साे बारेमा झारा टार्ने जवाफ दिएको एक कर्मचारीले बताए ।

“कर्मचारीहरुले सो बारेमा संसोधन हेर्न चाहेका थिए तर उहाँले नदेखाई झारा टार्ने जवाफ दिनुभयो,” उनले भने ।

विनियमावली संसोधनमा प्रबन्ध निर्देशक, उप प्रबन्ध निर्देशक (डीएमडी), निर्देशक जस्ता सिनियर तहका कर्मचारी स्वतः अवकाश हुने पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने उनीहरूको माग छ । यसअघि उप प्रबन्ध निर्देशक ५ वर्ष पुगेपछि तथा निर्देशक आठ वर्ष पछि स्वतः अवकासमा जानुपर्ने व्यवस्था रहेको थियो ।

तर नयाँ विनियमावली अनुसार सो व्यवस्था हटाएर पुन कर्मचारी तल्लो तहमा नै फर्कन सक्ने किसिमको व्यवस्था गरिएको बताईएको छ ।

तर यसले टेलिकमका कर्मचारीको वृत्ति विकासमा अवरोध हुने भन्दै कर्मचारी युनियनहरुले यसको विरोध गर्दै आएका छन् ।

मन्त्रिपरिषदले स्वीकृत गरेको निर्देशिका अनुरूप हुँदा प्रबन्ध निर्देशक अधिकारी समेत हालको कार्यकाल सकिएपछि पहिलेकै निर्देशक तहमा फर्किन पाउने भएका छन् तर यस बारेमा कर्मचारीहरुले विरोध गर्दै आएका छन् ।

यस अघिको स्वतः बढुवा अनुसार योग्यता भएका कर्मचारीको ८ वर्षमा, सवारी चालकको ९ वर्षमा र योग्यता नभएका तर काम सन्तोषजनक भएको अवस्थामा १० वर्षमा स्वतः बढुवा पाउने व्यवस्था लोकसेवाले हटाइदिएको छ ।

यसअघि विनियमावली संसोधन र कर्मचारी  पदस्थापनलगायतकै विषयमा तत्कालिन सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा उपस्थित भएको टेलिकमको वार्षिकोत्सवमा नै कर्मचारीहरुले कालोपट्टिसहित विरोध गरेका थिए ।

उनले त्यसबेला कर्मचारीहरुको विरोध प्रदर्शनलाई नौटंकीको संज्ञा दिएका थिए ।

तस्वीरः टेलिकमका कर्मचारी सुरेश रौनियारको फेसबुक पेजबाट

TK Viber

प्रकाशित: ६ श्रावण २०७८, बुधबार

Loading...