अक्सनमार्फत एनसेलले पायो ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

Technology Khabar ८ बैशाख २०७८, बुधबार

अक्सनमार्फत एनसेलले पायो ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी
Classic Tech

-अनुज राज

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई फ्रिक्वेन्सी अक्सनमार्फत ९०० मेगाहर्ज ब्याण्ड र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरणको हालै बसेको बोर्ड बैठकले एनसेललाई प्रविधि तटस्थताअन्तरगत ९०० मेगाहर्ज ब्याण्ड र २१०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी उपलब्ध गराएको हो ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगतको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले दुबै ब्याण्डहरुमा प्रविधि तटस्थता अपनाउने निर्णय गरेको थियो ।  सोहि निर्णयलाई आधार मानेर एनसेललाई नयाँ फ्रिक्वेन्सी उपलब्ध गराएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

‘फ्रिक्वेन्सी समितिको निर्णयलाई आधार मानेर टेक न्यूट्रालिटीअन्तरगत एनसेललाई अक्सन मूल्यमा फ्रिक्वेन्सी दिने प्राधिकरण बोर्डले निर्णय गरेको हो,’ अध्यक्ष खनालले भने ।

उनले यसअघि एनसेलसँग गरिएको फ्रिक्वेन्सी अक्सनअन्तरगतको वार्ताद्धारा तय मूल्यमा फ्रिक्वेन्सी दिने निर्णय गरिएको जानकारी दिए ।

प्राधिकरणले यसअघि एनसेलसँग अक्सन मूल्यमा नेगोशिएसन गर्नका लागि समिति गठन गरेको  थियो भने सोही अनुसार नेगोशिएसन मूल्य तोकिएको थियो ।

अम्बर स्थापितको संयोजकत्वमा गठित सो समितिले ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सनका लागि एनसेलसँग चरणबद्ध वार्ता गरेको थियो । जसअनुसार नेगोशिएसन मूल्य तय गरिएको थियो।

तर लामो समय हुँदा पनि सो बारेमा प्राधिकरणले कुनै थप निर्णय गर्न सकेको थिएन् ।

कति पाउनेछ एनसेलले नयाँ फ्रिक्वेन्सी ?

हालको निर्णयअनुसार अब एनसेलले ९०० मेगाहर्ज ब्याण्डमा अधिकतम १.६ मेगाहर्ज पेयर्ड फ्रिक्वेन्सी प्राप्त गरेको छ भने २१०० मेगाहर्ज ब्याण्डमा ५ मेगाहर्ज पेयर्ड फ्रिक्वेन्सी प्राप्त गरेको छ।

एनसेलसँग अहिले नै ९०० मेगाहर्ज ब्याण्डमा ८ मेगाहर्ज फ्रिक्वेन्सी छ भने २१०० मेगाहर्ज ब्याण्डमा १० मेगाहर्ज फ्रिक्वेन्सी छ ।

हालको फ्रिक्वेन्सी एलोकेसनअनुसार कुनैपनि कम्पनीले ९०० मेगाहर्ज ब्याण्डमा अधिकतम ९.६ मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डमा १५ मेगाहर्ज सम्म फ्रिक्वेन्सी प्राप्त गर्न सक्दछ।

कति पर्ला फ्रिक्वेन्सी मूल्य ?

प्राधिकरण समितिले यसअघि ९०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको लागि आधार मूल्य अनपेयर्डमा प्रति मेगाहर्ज २ करोड २० लाख रुपैयाँ निर्धारण गरेको थियो भने २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीकोलागि प्रति मेगाहर्ज १ करोड २० लाख रुपैयाँ आधार मूल्य तोकेको थियो ।

सोहि मूल्यमा समितिले एनसेलसँग वार्तामार्फत रकम तय गरेको थियो । जसअनुसार ९०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता भएको खण्डमा आधार मूल्यमा ६२ प्रतिशतसम्म रकम तिर्न एनसेल तयार भएको थियो ।

त्यस्तै २१०० मेगाहर्ज ब्याण्डमा पनि प्रविधि तटस्थताअन्तरगत एनसेलले आधार मूल्यमा २५ प्रतिशतसम्म थप रकम तिर्न तयार रहेको थियो ।

आधार मूल्यलाई हेर्दा एनसेलले ९०० मेगाहर्ज ब्याण्डको प्रति मेगाहर्ज अनपेयर्डमा ३ करोड ८८ लाख ८० हजार रुपैयाँ तिर्नेछ । जसअनुसार १.६ मेगाहर्ज ब्याण्ड पेयर्डका लागि १२ करोड ४४ लाख १६ हजार रुपैयाँ सरकारले फ्रिक्वेन्सी दस्तुर बापत आम्दानी गर्नेछ ।

त्यसैगरि २१०० मेगाहर्ज ब्याण्डअन्तरगतको ५ मेगाहर्ज ब्याण्ड पेयर्डका लागि एनसेलले सरकारलाई प्रति मेगाहर्ज अनपेयर्डमा ७ करोड ५० लाख रुपैयाँ तथा पेयर्डका लागि १५ करोड रुपैयाँ तिर्नेछ ।

यसअघि नै रेडियो फ्रिक्वेन्सी समितिले ९०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता नीति अपनाउने निर्णय गरेसँगै एनसेलले प्रयोग गरिरहेको ८ मेगाहर्जको फ्रिक्वेन्सीमा पनि सो नीतिअनुसार कम्पनीले ४ जी प्रविधि चलाउन पाउनेछ।

हाल प्रयोग गरिरहेको र अक्सनबाट नयाँ पाएको फ्रिक्वेन्सीमार्फत एनसेलले अब देशभर आफ्नो फोरजी सेवा बिस्तार गर्न र गुणस्तर सुधार गर्न सक्नेछ ।

एनसेलसम्बद्ध स्रोतकाअनुसार बोर्डको निर्णयसहितको फ्रिक्वेन्सी पाउने पत्र प्राप्त गरेको छ ।

सो पत्र पाएसँगै एनसेलले सो फ्रिक्वेन्सीको लागि रकम दाखिला गरेपछि मात्र प्राधिकरणले कम्पनीलाई नयाँ फ्रिक्वेन्सी छुट्याएर प्रयोगका लागि दिनेछ ।

एनसेलले केहि वर्षअघिदेखि नै आफूले हाल प्रयोग गरिरहेको ९०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थताअन्तरगत फोरजी सेवा चलाउनका लागि प्राधिकरणमा माग गर्दै पत्र पठाएको थियो । तर सो पत्रको बारेमा प्राधिकरणले नीतिगत अस्पष्टता भएको भन्दै अस्वीकार गरेको थियो ।

सञ्चारमन्त्री पार्वत गुरुङको अध्यक्षतामा बसेको रेडियो फ्रिक्वेन्सी नीति निर्धाण समितिको गएको बोर्ड बैठकले ९०० मेगाहर्ज ब्याण्डमा पनि प्रविधि तटस्थता लागू गर्ने निर्णय गरेको थियो भने सो बैठकले नेपाल टेलिकमलाई ५जी प्रविधि परीक्षणको लागि बाटो खुला गरेको थियो ।

९०० मेगाहर्ज ब्याण्ड र २१०० मेगाहर्ज व्याण्डको फ्रिक्वेन्सीअक्सनका लागि दोस्रो सूचना निकालेको १ वर्ष भन्दा पनि बढि समयपछि प्राधिकरणले सोहि अक्सन प्रकृयाअन्तरगत एनसेललाई फ्रिक्वेन्सी दिएको हो ।

यसअघि नै एनसेलले १८०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी अक्सनमार्फत नै बोलकबोल रकममा नेपाल टेलिकमलाई हराउँदै प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँमा १८०० मेगाहर्ज ब्याण्डको ९ मेगाहर्ज पेयर्ड फ्रिक्वेन्सी जितेको थियो ।

*हेडलाइन सम्पादित

यो पनि हेर्नुस्-

एनसेलले लग्यो प्रति मेगाहर्ज ५ करोड ८०लाख रूपैयाँमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

TK Viber

प्रकाशित: ८ बैशाख २०७८, बुधबार

Loading...