स्याटेलाइटबाटै गाउँ-गाउँमा तिब्रगतिको इन्टरनेट पुर्याउने तयारी, का-ब्याण्डको फ्रिक्वेन्सी खुला

Technology Khabar ८ चैत्र २०७७, आईतवार

स्याटेलाइटबाटै गाउँ-गाउँमा तिब्रगतिको इन्टरनेट पुर्याउने तयारी, का-ब्याण्डको फ्रिक्वेन्सी खुला
Classic Tech

सरकारले स्याटेलाइटबाटै गाउँ-गाउँमा तिब्रगतिको इन्टरनेट पुर्याउने योजनाका साथ का-ब्याण्डको फ्रिक्वेन्सी खुला गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगतको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको पछिल्लो बैठकले का (Ka/Kay-ay band) ब्याण्डको फ्रिक्वेन्सी खुला गर्ने निर्णय गरेको हो।

समितिले यसअघि नेपाल दूरसञ्चार प्राधिकरणको प्रस्ताव र सिफारिसमा का ब्याण्ड फ्रिक्वेन्सी खुला गरेको हो । प्राधिकरणले यसबारेमा असोजमा नै समितिमा सिफारिस गरेको थियो।

सिफारिसअनुसार का-ब्याण्डको फ्रिक्वेन्सी फिक्स्ड स्याटेलाइट सर्भिसका लागि प्रयोग हुनेछ।

जसअनुसार १९.७ गीगाहर्जदेखि २१.२ गीगाहर्जसम्म १५०० मेगाहर्ज ब्याण्ड डाउनलिंकका लागि तथा २९.५ देखि ३१ गीगाहर्जसम्म अपलिंकका लागि छुट्याइएको प्राधिकरणले उल्लेख गरेको छ।

सिफारिसको समयमा नै प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले सो फ्रिक्वेन्सी ब्याण्ड उच्च ब्याण्ड भएको र यसबाट तिब्रगतिमा इन्टरनेट सेवा प्रदान गर्न सकिने बताएका थिए।

‘गाउँमा अहिलेको भिस्याट जस्तै सानो एन्टेना राखेर तिब्रगतिको इन्टरनेट सेवा पुर्याउन सकिन्छ। हाल इन्टरनेट सेवा सहज नभएका गाउँहरु र विभिन्न स्थानहरुमा तुरुन्त सेवा दिन सकिनेछ,’ उनले टेक्नोलोजीखबरसँग भनेका थिए।

का ब्याण्डको फ्रिक्वेन्सी स्याटेलाइट उपकरणहरुको लागि प्रयोग गर्ने गरिन्छ । जसलाई हाई ब्याण्ड फ्रिक्वेन्सीको रुपमा चिनिने गर्दछ।

स्याटेलाइट फ्रिक्वेन्सीहरुमध्ये सी ब्याण्डलाई विश्वभर पछिल्लो समयमा फाइभजी नेटवर्क र कभरेजको लागि प्रयोग गर्न खालि गराईएसँगै का ब्याण्डको महत्व बढेको हो।

स्याटेलाइट फ्रिक्वेन्सीमध्ये सी ब्याण्डबाहेक केयू(Ku) ब्याण्ड र का-ब्याण्डको प्रयोग हुने गर्दछ।

फाइभजी प्रविधिको लागि स्पेक्ट्रमको अभाव हुने देखिएसँगै विकसित मुलकहरुले स्याटेलाइटको सी ब्याण्ड खालि गराउने निर्णय गरेर फाइभजी प्रविधिमा धमाधम प्रयोग गरिरहेका छन् । त्यसैले गर्दा अब स्याटेलाइट फ्रिक्वेन्सीहरुमध्ये का ब्याण्ड र केयू ब्याण्डको फ्रिक्वेन्सी बाँकी रहन्छ ।

का ब्याण्डको फ्रिक्वेन्सीलाई उच्च फ्रिक्वेन्सीको रुपमा मान्ने गरिन्छ।

विशेषगरि नेपाल जस्तो मुलुकमा भीस्याट प्रविधिका लागि यो ब्याण्डको फ्रिक्वेन्सी प्रयोग गरेर तिब्र गतिको इन्टरनेट सेवा सस्तो शुल्कमा लिन सकिन्छ । का ब्याण्डको फ्रिक्वेन्सीमार्फत अधिक ब्याण्डविथ तिब्रगतिमा र उच्च गुणस्तरमा लिन सकिन्छ जसले गर्दा ग्रामीण र दूर्गम भेगमा स्याटेलाइटमार्फत निरन्तर इन्टरनेट सेवा प्रदान गर्न सकिन्छ ।

का ब्याण्डमा २६.५ गीगाहर्जदेखि ४० गीगाहर्जसम्मको फ्रिक्वेन्सी प्रयोग गर्न सकिन्छ भने यो वेभलेन्थ (तरंगलम्बाई) को आकार १ सेन्टिमिटरदेखि ७.५ मिलिमिटरसम्म हुनेगर्दछ।

त्यसैगरि केयू ब्याण्डमा भने १२ गीगाहर्जदेखि १८ गीगाहर्जसम्मको फ्रिक्वेन्सी रेन्ज प्रयोग हुने गर्दछ।

यो पनि पढ्नुस्-

यसरी बचाएका थिए इन्जिनीयरले पड्किनै लागेको स्पेसएक्सको रकेटलाई

विकिपेडियाकाअनुसार स्याटेलाइट सञ्चारमा का ब्याण्डले उच्च ब्याण्डविथ सञ्चार सुबिधा प्रयोग गर्न सकिन्छ । यो पहिलोपटक परीक्षण र प्रयोगको लागि एसीटिएस गीगाबिट नेटवर्कमा प्रयोग गरिएको थियो । हाल यो इमर्स्याट आई-५ सिस्टम र स्पेसएक्सको स्टारलिंक स्याटेलाइट नेटवर्कमा प्रयोग हुन्छ।

का ब्याण्ड पानी पर्दा वा बादल लागेको बेलामा भने कम प्रभावकारी हुने गर्दछ । अर्थात यसलाई वाहिरी वातावरणले प्रभावित पार्दछ।

नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले का-ब्याण्डको फ्रिक्वेन्सीमा आधारित रहेर नेपालजस्तो भौगोलिक विविधता देशमा भीस्याटमार्फत तिब्रगतिको इन्टरनेट चलाउन सकिने बताए।

‘का ब्याण्ड खुला गर्न निकै पहिलेदेखि माग भईरहेको थियो । यो फ्रिक्वेन्सी ब्याण्डमा अहिलेकै भीस्याट प्रयोग गरेर दूर्गम क्षेत्रमा उच्चगतिको इन्टरनेट चलाउन सकिन्छ,’ उनले भने।

यसबाट अहिले इन्टरनेट सेवा नपुगेका वा कम गुणस्तरको समस्या भोगीरहेका क्षेत्रमा उच्चस्तरको इन्टरनेट सेवा पुग्ने उनको भनाई छ ।

यो पनि हेर्नुस्-

स्याटेलाइटबाट गाउँमा ब्रोडब्याण्ड पुर्याउने योजनामा दूरसञ्चार प्राधिकरण, नयाँ फ्रिक्वेन्सी सिफारिस

TK Viber

प्रकाशित: ८ चैत्र २०७७, आईतवार

Loading...