यस्तो छ फाईभजी सेवाको लागि दूरसञ्चार प्राधिकरणले प्रस्ताव गरेको फ्रिक्वेन्सी रेन्जहरु

Technology Khabar ४ फाल्गुन २०७७, मंगलवार

यस्तो छ फाईभजी सेवाको लागि दूरसञ्चार प्राधिकरणले प्रस्ताव गरेको फ्रिक्वेन्सी रेन्जहरु
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सरकारलाई आगामी पुस्ताको फाईभजी नेटवर्कका लागि प्रयोग गरिने फ्रिक्वेन्सीको सिफारिस गरेको छ।

प्राधिकरणले बोर्ड बैठक गरेर संभावित फाइभजी फ्रिक्वेन्सीहरु नेपाली टेलिकम कम्पनीहरुले उपयोग गर्न सक्ने गरि सिफारिस गरेको हो ।

सो सिफारिस सरकारअन्तरगत रहेको र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहत रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पुगेको छ । सो सिफारिसको आधारमा समितिले आवश्यक छलफल गरेर मात्र नयाँ फाइभजी फ्रिक्वेन्सीहरु खुला गर्नेछ ।

सो सिफारिस गरिएका फ्रिक्वेन्सीहरु खुला गर्ने वा नगर्ने वा कहिले गर्ने भन्ने सम्पूर्ण अधिकार समितिलाई रहेको हुन्छ। त्यसैगरि सो फ्रिक्वेन्सीको शुल्क समेत समितिले निर्धारण गर्नसक्दछ ।

प्राधिकरणद्धारा समितिलाई सिफारिस गरिएको फाइभजी फ्रिक्वेन्सीहरु विभिन्न रेन्ज र तहका रहेका छन् ।

टेक्नोलोजीखबरलाई प्राप्त कागजातहरुको आधारमा हेर्दा प्राधिकरणले टेक्नोलोजी न्यूट्रल अर्थात प्रविधि तटस्थताको आधारमा फाइभजी फ्रिक्वेन्सी खुला गर्न सिफारिस गरेको छ। यसको अर्थ हाल प्रयोग भईरहेका थ्रीजी, फोरजीका साथसाथै ५जीसहित कुनैपनि अन्य प्रविधिहरुका लागि उपयोग गर्न सकिनेछ ।

सिफारिस गरिएका फ्रिक्वेन्सी ब्याण्डहरुमा ७०० मेगाहर्ज ब्याण्ड, ८००, ८५०, ९००, १८००, २१००, २३००, २६००, ३७०० र २६ गीगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी रहेका छन् ।

प्राधिकरणकाअनुसार ७००, ९००, १८००, २१००, २३०० हाल मोबाइल टेलिकम्युनिकेसन्स सेवाहरुको लागि प्रयोगमा छ भने ८०० को फरक रेन्ज उपयोगमा छ भने केहि फ्रिक्वेन्सी रेन्ज खाली रहेको छ । हाल ८५० मेगाहर्ज ब्याण्ड सिडिएमए सेवाको लागि नेपाल टेलिकमले प्रयोग गरिरहेको छ। तर प्राधिकरणले विश्वबाटै फेजआउट हुन लागेको सिडिएमए नेपालबाट पनि फेजआउट गर्ने तयारी गरिसकेको र निर्णय समेत गरिसकेको छ । त्यसपछि सो फ्रिक्वेन्सी खाली हुनेछ ।

यस बाहेक २६०० मेगाहर्ज ब्याण्डको श्रेणीमा २५०० देखि २५७० सम्म, २६२० देखि २६९० सम्म हाम मोबाइल टेलिकम्युनिकेसन्स सर्भिसेज (एफडिडि) मा प्रयोग भएको छ भने २५७० देखि २६२०सम्म मोबाइल टेलिकम्युनिकेसन्स सर्भिसेज (टिडिडि) मा प्रयोग भईरहेको छ ।

३७०० मेगाहर्ज ब्याण्डमा भने ३३०० देखि ३८०० सम्म मोबाइल टेलिकम्युनिकेसन्स सर्भिसेजमा उपयोग गरिएको छ भने ३४०० देखि ४२०० सम्म फिक्स्ड स्याटेलाइट सेवामा उपयोग भएको छ ।

हालै अन्तराष्ट्रिय टेलिकम्युनिकेसन्स युनियन आईटियूले समेत यहि वर्षदेखि पहिचान गरेर ५जीको लागि प्रयोग गर्न सकिने भनेर खुला गरेको २६ गीगाहर्ज ब्याण्ड भने पुरै खालिरहेको उल्लेख गरेको छ।

प्राधिकरणकाअनुसार टेलिकम कम्पनीहरुलाई फाइभजी सेवाको लागि ५ मेगाहर्ज स्लटको आधारमा सोहिअनुसार थप फ्रिक्वेन्सी उपलब्ध गराउन सकिनेछ ।

प्राधिकरणले समग्रमा १४३० मेगाहर्ज फ्रिक्वेन्सी फाइभजीको लागि उपलब्ध गराउने सकिनेखरि प्रस्ताव गरेको छ भने २६ गीगाहर्जमा भने ३.२५ गीगाहर्जसम्म उपलब्ध गराउने सकिने उल्लेख गरेको छ ।

७००मेगाहर्ज ब्याण्डमा अधिकतम ४५ मेगाहर्ज, ८०० ब्याण्डमा १५ मेगाहर्ज, ८५० ब्याण्डमा १० मेगाहर्ज, ९०० मेगाहर्ज ब्याण्डमा ३५ मेगाहर्ज, १८०० ब्याण्डमा ७५ मेगाहर्ज, २१०० मा ६० मेगाहर्ज, २३०० मा १०० मेगाहर्ज, २६०० मा १९० मेगाहर्ज, ३७०० मेगाहर्ज ब्याण्डमा ९०० मेगाहर्जसम्म फाइभजीको लागि फ्रिक्वेन्सी उपलब्ध रहेको छ ।

प्राधिकरणले सिफारिस र प्रस्ताव गरेपनि उल्लेखित फ्रिक्वेन्सी ब्याण्डहरु कुन खुला गर्ने वा नगर्ने भन्ने अधिकार समितिमा निहित रहेको छ । समितिले खुला गरेपछि पनि सिधै यसलाई प्रयोग गर्न पाईने छैन् ।

यसको लागि प्राधिकरणले आवश्यक प्रकृयाअनुसार अक्सन गरेर मात्र टेलिकम कम्पनीहरुलाई दिनेछ ।

फाइभजी सेवा उपलब्ध गराउने बाटो खुल्यो, प्रस्तावित फ्रिक्वेन्सी दूरसञ्चार प्राधिकरणद्धारा पारित

TK Viber

प्रकाशित: ४ फाल्गुन २०७७, मंगलवार

Loading...