Technology Khabar २६ भाद्र २०७७, शुक्रबार
मोबाइल अपरेटर कम्पनी स्मार्ट टेलिकम प्रालिले आफूले तिर्नुपर्ने नवीकरणको बाँकी रकम भदौ मसान्तभित्र समेत तिर्न नसक्ने भन्दै पुनः म्याद थप गरिदिन निवेदन दिएको छ ।
स्मार्ट टेलिकमले गत साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा म्याद थप गरिदिन र किस्ताबन्दीमा रकम तिर्ने सुबिधा दिनका लागि माग गर्दै निवेदन दिएको हो ।
कम्पनीले देशभर कोरोना भाइरसको महामारीले लकडाउन र निषेधाज्ञा भएको तथा बैंकहरुले ऋण दिन नसक्ने अवस्था भएको भन्दै आधारभूत टेलिफोन सेवाको अनुमतिपत्रको नवीकरण दस्तुर बापतको आठौं किस्ता रकम तिर्ने म्याद थप गर्न माग गरेको हो।
कम्पनीले सरकारलाई रोयल्टी, फ्रिक्वेन्सी, नविकरणलगायतका दस्तुरहरु तिर्नुपर्दछ । जसमा कम्पनीले नविकरण दस्तुर तिर्न सकेको छैन् । यस्तो रकम कम्पनीले १ अर्ब २५ करोड रुपैयाँ सरकारलाई बुझाउनुपर्ने थियो । कम्पनीले अझै सो रकम तिर्न नसक्ने भन्दै थप अवधि माग गर्दै आएको हो ।
गत वर्ष २०७६ चैत्रको अन्तिममा नै भुक्तानी गर्नुपर्ने सो नवीकरण रकम कम्पनीले त्यसअघि नै रकम तिर्न नसक्ने भन्दै थप समयको माग गर्दै मन्त्रालयमा निवेदन दिएको थियो । सो निवेदन उपर मन्त्रिपरिषदको बैठकले सुनुवाई गर्दै बैशाखसम्मको म्याद थप गरिदिएको थियो भने त्यसपछि पनि रकम तिर्न नसकेपछि पुन समय थप गरेर दोस्रो पटकको लागि भदौ मसान्तसम्मको म्याद थप गरिदिएको थियो ।
अहिले तेस्रो पटक म्याद थप गर्न दिएको निवेदनमा पनि कम्पनीले लकडाउन भएको र विदेशी लगानी ल्याउने प्रयास भईरहेको कारणसहित उल्लेख गरेको छ ।
मन्त्रालयलाई दिएको सो निवेदनको बारेमा स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत बोधार्थ दिएको छ।
प्राधिकरणका एक अधिकारीले स्मार्टको मन्त्रालयलाई दिएको पत्रको बोधार्थ आएको जानकारी दिए ।
पत्रअनुसार कम्पनीले सरकारलाई तिर्नुपर्ने १ अर्ब २५ करोड रुपैयाँ किस्ताबन्दीमा ५ वर्ष अवधिमा तिर्नेगरि सुबिधा दिनका लागि माग गरेको छ।
यो पनि हेर्नुस्-
सरकारले थपिदियो स्मार्ट टेलिकमको म्याद, नवीकरण दस्तुर अब भदौ मसान्तसम्म तिर्दा हुने
प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार