सरकारले थपिदियो स्मार्ट टेलिकमको म्याद, नवीकरण दस्तुर अब भदौ मसान्तसम्म तिर्दा हुने

Technology Khabar १ श्रावण २०७७, बिहीबार

सरकारले थपिदियो स्मार्ट टेलिकमको म्याद, नवीकरण दस्तुर अब भदौ मसान्तसम्म तिर्दा हुने

काठमाडौं ।

सरकारले स्मार्ट टेलिकम प्रालिको इजाजतपत्र नवीकरण दस्तुर बापतको किस्ता रकम तिर्ने म्याद र अवधि पुनः थप गरेको छ । असार २९ गते बसेको मन्त्रिपरिषदको बैठकले स्मार्टको नवीकरणको आठौं किस्ता रकम बुझाउने म्याद पुनः थप गरेको हो ।

स्मार्टलाई म्याद थप गरेर सरकारले भदौ मसान्त सम्मको अवधि दिएको छ ।
स्मार्ट टेलिकमले आफ्नो मोबाइल सेवाको अनुमतिपत्रको दस्तुर रकमको आठौं किस्ता सरकारलाई गत चैत ३० गतेभित्र बुझाउनुपर्नेमा सो अवधिमा कोभिड १९ महामारीको कारण लकडाउन भएको भन्दै रकम तिर्ने अवधि थप गर्न माग गरेको थियो ।

सोहिअनुसार सरकारले स्मार्ट टेलिकमलाई वैशाख महिनाभर रकम तिर्ने गरि म्याद थपिदिएको थियो । सो म्यादमा पनि स्मार्ट टेलिकमले रकम तिर्न नसक्ने बताउँदै पुन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सिधै सरकारलाई निवेदन दिएको थियो ।

सोहि अनुसार कम्पनीले पुन दोस्रो पटक किस्ता रकम तिर्ने म्याद सुविधा पाएको हो ।

सो बारेमा मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणसँग समेत राय लिएर पहिलो पटक बैशाख मसान्त सम्म म्याद थपिदिएको भएपनि कम्पनीले सो अवधिमा पनि रकम तिर्न सकेको थिएन् । प्राधिकरणले समेत मन्त्रालयलाई असार मसान्तसम्म स्मार्ट टेलिकमलाई समय अवधि थप दिन सकिने राय सुझाब पेश गरेपनि सरकारले त्यसलाई वेबास्ता गर्दै बैशाख सम्म मात्र म्याद दिएको थियो ।

त्यसपछि कम्पनीले पुन दोस्रो पटक निवेदन दिएको थियो र सोहि निवेदनको आधारमा हाल सरकारले म्याद थप गरिदिएको हो ।

अब स्मार्ट टेलिकमले आफ्नो आधारभूत टेलिफोन सेवाको अनुमतिपत्रको नवीकरण दस्तुर बापतको आठौं किस्ता रकम आगामी भदौ मसान्तसम्म तिरे हुने भएको छ । कम्पनीले सो अवधिमा १ अर्ब २५ करोड रुपैयाँ सरकारलाई नवीकरण दस्तुर तिर्नुपर्नेछ ।

यसअघि लाइसेन्स नै खारेजीमा परेको स्मार्ट टेलिकमलाई सरकारले मन्त्रीपरिषदबाट नै निर्णय गराएर पुर्नजिवित गरेको थियो ।

कम्पनीले सरकारलाई तिर्ने विभिन्न रोयल्टी र दस्तुरहरु समयमा नै तिर्न पटक पटक आनाकानी गर्दै आएको छ ।

यो पनि हेर्नुस्-

थपिएको अबधिमा पनि तिरेन् स्मार्ट टेलिकमले लाइसेन्स किस्ता शुल्क, फेरी समय बढाउन निवेदन

easy care

प्रकाशित: १ श्रावण २०७७, बिहीबार

ताजा समाचार