Technology Khabar ३१ बैशाख २०७७, बुधबार
काठमाडौं ।
अनुज राज
स्मार्ट टेलिकमले आधारभूत सेवाको लाइसेन्सको किस्ता बापतको रकम बुझाउने समय थप गरिदिन पुनः माग गरेको छ।
स्मार्टले आठौं किस्ताको लाइसेन्स शुल्क तिर्न यसअघि दिईएको समय अवधि अपुग भएको र हाल विषम परिस्थिती भएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको हो छ।
स्मार्टले कोभिड-१९ को कारणले बैंकहरु नै असहजरुपमा संचालन भईरहेको बेला ऋण लिनसमेत असहज भएको भन्दै लाइसेन्स नविकरणको समय थप गरिदिन माग गरेको हो ।
स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले मन्त्रालयमा लाइसेन्सको किस्ता रकम तिर्ने समय थप गरिदिन निवेदन दिएको जानकारी दिए ।
‘अहिलेको अवस्थामा बैंक नै आंशिक संचालन भएको र कार्यालयसमेत संचालन गर्न कठिन भएकोले समय थप गरिदिन निवेदन दिएका छौं, अहिलेको अवस्थामा त रकम तिर्नै कठिन छ,’ प्रमुख प्रशासन अधिकृत राजभण्डारीले टेक्नोलोजीखबरसँग भने ।
नेपाल दूरसञ्चार प्राधिकरणले केहि दिनअघि रकम तिर्न भन्दै पत्र पठाएको भएपनि रकम तिर्ने अवस्था नरहेको भन्दै मन्त्रालयमा नै पुनः निवेदन दिएको बताए । यसअघिको निवेदनमा वैशाख मसान्त समय थप भएपनि कम्तिमा असार मसान्तसम्मको समय थप हुने अपेक्षासहित अनुरोध गरिएको जानकारी दिए।
उनले कोभिड-१९ को कारण गरिएको लकडाउन सकिएको अवधिपछि थप समय दिएर रकम तिर्ने व्यवस्था सरकारले गरिदिए सहज हुने स्पष्ट पारे ।
वैशाख १ गतेभित्र स्मार्टले आफ्नो आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र शुल्क तिर्नुपर्ने थियो तर कम्पनीले लकडाउनको कारण रकम तिर्न नसकिने भन्दै चैतमा नै थप समय दिन माग गर्दै मन्त्रालयमा निवेदन दिएको थियो ।
सो निवेदनमा सुनुवाई गर्दै मन्त्रिपरिषदले कम्पनीलाई बैशाख मसान्तभित्र रकम तिर्ने समय थप गरिदिएको थियो । सोहि आधारमा नेपाल दूरसंचार प्राधिकरणले स्मार्टलाई पत्र पठाउँदै रकम तिर्न भनेको थियो ।
प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले पनि स्मार्टले रकम तिरेको जानकारी नभएको बताए।
‘स्मार्ट टेलिकमले आज अन्तिम दिन रकम तिरेको जानकारी आएको छैन्, कुनै निवेदन पनि दिएको छैन्, मन्त्रालयमा दिएको भए थाहा भएन्,’ प्रवक्ता अर्यालले भने ।
केहि दिनअघि प्राधिकरणले थपिएको म्याद भित्र रकम तिर्न पत्र पठाएको जानकारी उनले दिए ।
स्मार्ट टेलिकमले आफ्नो लाइसेन्सको आठौं किस्ता बापतको रकम थप गरिएको समय वैशाख मसान्त भित्र १ अर्ब २५ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
अर्कोतर्फ कम्पनीका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीका अनुसार आजसम्म सिमितरुपमा कार्यालय संचालन गरिएको तर भोलीदेखि घरबाटै काम गर्ने उल्लेख गरे।
‘लकडाउनमा कडाई भएसँगै कार्यालय संचालन गर्ने अवस्था छैन्, त्यसैले हामी ‘वर्क फ्रम होम’ मा रहन्छौंं,’ उनले भने।
यो पनि हेर्नुस्-
स्मार्ट टेलिकमलाई लाइसेन्स नविकरणको शुल्क बैशाख मसान्तभित्र तिर्न पाउने सुबिधा
प्रकाशित: ३१ बैशाख २०७७, बुधबार