पोलको २०० प्रतिशत बढेको भाडा नमान्ने आइस्पानको भनाई, नत्र ग्राहक सेवा शुल्क बढाउनुपर्ने माग

  • Technology Khabar | ११ भाद्र २०७७, बिहीबार
पोलको २०० प्रतिशत बढेको भाडा नमान्ने आइस्पानको भनाई, नत्र ग्राहक सेवा शुल्क बढाउनुपर्ने माग
रामशाह पथमा रहेका इन्टरनेट तथा केबल सेवाका तारहरु। फाइल तस्बिर

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले हाल बढेको पोलको भाडा दर व्यवहारीक नभएको भन्दै विरोध जनाएका छन् ।

उनीहरुले महामारीको बेलामा नेपाल विद्युत प्राधिकरणले २०० प्रतिशतसम्म पोलको भाडा बढाउनु जायज नभएको भन्दै नयाँ दर रेट नै लागू गरिएमा इन्टरनेटको भाउ बढाउने चेतावनी दिए ।

इन्टरनेट सेवा प्रदायक संघ नेपालको हिजो बसेको बैठकले समेत नेपाल दूरसञ्चार प्राधिकरणसँग यस बारेमा छलफल गर्ने र सो भाडा दर अस्विकार गर्ने निर्णय गरेको छ ।

आइस्पानका अध्यक्ष भोजराज भट्टले यो मूल्य दर नघटेमा मूल्य बढाउनुपर्ने बताए ।

‘हामीले एनटिएका अध्यक्षलाई पनि जानकारी दिनेछौं र २०० प्रतिशत बढाएको मूल्य नघटेमा इन्टरनेटको मूल्य बढाउनुपर्नेछ,’ अध्यक्ष भट्टले भने ।

उनले अहिलेको यो अवस्थामा कसैले पनि मूल्य बढाउन नहुने भन्दै २०० प्रतिशत वृद्वि सरकारको कालोबजारी भएको दाबी गरे ।

आइस्पानका पूर्वअध्यक्ष विनय बोहराले भने यसमा पुर्नविचार गरिनुपर्ने भन्दै प्रति पोलको भाडा दरको आधारमा लागू गर्नुपर्ने बताए ।

‘ग्रामीण भेगमा इन्टरनेट सेवा लैजाने भनेर भनिएको छ तर यसले गाउँमा तार लानलाई नै महंगो बनाएको छ, यसमा विचार गर्नुपर्दछ ।’ उनले भने ।

हालै विद्युत प्रधिकरणले इन्टरनेटको तार तान्न प्रयोग हुने पोलको नयाँ भाडा दर पारित गरेको छ ।

यो पनि हेर्नुस्-

विद्युतको पोल र ओपीजीडब्लू फाइबरको नयाँ भाडा दर: इन्टरनेट सेवा प्रदायकको लागि थप लागत

प्रकाशित: ११ भाद्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार