नेपाल टेलिकमलाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी, शर्त तोकियो

Technology Khabar २३ श्रावण २०७७, शुक्रबार

नेपाल टेलिकमलाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी, शर्त तोकियो
Classic Tech

अनुज राज

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफूले पाउनुपर्ने माग दाबी गर्दै आएको १८०० मेगाहर्ज ब्याण्डको ५ मेगाहर्ज फ्रिक्वेन्सी मन्त्रालयअन्तरगतको समितिले नेपाल टेलिकमलाई दिएको छ ।

मन्त्रालयमा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको शुक्रबार बसेको बैठकले टेलिकमलाई १८०० मेगाहर्ज ब्याण्डमा ५ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको सो समितिको बैठकले टेलिकमलाई अधिकतम सीमा भित्रको ५ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको हो ।

समितिको बैठकले टेलिकमलाई यसअघि अक्सन गरिएको मूल्य प्रति मेगाहर्ज ५ करोड ८० लाखको दरमा दिने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दियो ।

‘सरकारी कम्पनीलाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी फ्रिक्वेन्सी दिने निर्णय गरिएको छ, कम्पनीले ५ करोड ८० लाख रुपैयाँ प्रति मेगाहर्ज रकम तिर्नुपर्ने शर्त राखिएको छ,’ मन्त्रालय स्रोतले दाबी गर्यो ।

समितिको बैठक करिब १ वर्षपछि बसेको हो । सो समितिमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, पर्यटन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवहरु सदस्य रहन्छन् ।

समितिले निर्णय गरेसँगै नेपाल टेलिकमले सो मूल्यमा ५ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्न पाउनेछ । जसको लागि टेलिकमले अब नेपाल दूरसञ्चार प्राधिकरणमा फ्रिक्वेन्सीको लागि निवेदन दिनुपर्ने हुन्छ ।

यसअघि नेपाल टेलिकमले आफूले अक्सन अवार्डको भन्दा कम मूल्यमा फ्रिक्वेन्सी पाउनुपर्ने दाबी गर्दै प्राधिकरण तथा मन्त्रालयमा निवेदन दिएको थियो ।

जसमा १८०० मेगाहर्जको फ्रिक्वेन्सी अक्सन(बोलकबोल)को समयमा कबोल गरेको ५ करोड १ हजार प्रति मेगाहर्जको मूल्यमा दिनुपर्ने दाबी टेलिकमले गर्दै आएको छ ।

तर दूरसञ्चार प्राधिकरणले भने सो मूल्यमा दिन नसकिने भन्दै ‘अक्सन प्राइस’ मा नै फ्रिक्वेन्सी दिने बताएको थियो ।

प्राधिकरणले आफूले भनेको सस्तो मूल्यमा फ्रिक्वेन्सी नदिने भएसँगै टेलिकम मन्त्रालय गएको थियो । जसमा मन्त्रालयले सो बारेमा प्राधिकरणसँग समेत जानकारी लिएको थियो ।

नेपाल टेलिकमसँग हाल १८०० मेगाहर्ज ब्याण्डमा १५ मेगाहर्ज फ्रिक्वेन्सी रहेको छ भने कम्पनीले रेडियो फ्रिक्वेन्सी नीतिअनुसार अधिकतम २० मेगाहर्जसम्म प्रयोग गर्न सक्दछ ।

यसअघि गत मंसिरमा नेपालमा नै पहिलो पटक १८०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी अक्सन गरेको थियो । जसमा निजी मोबाइल अपरेटर एनसेल आजीयाटा लिमिटेड(तत्कालिन एनसेल प्रालि)ले ५ करोड ८० लाख रुपैयाँ कबोल गर्दै अक्सन जितेको थियो । अक्सन जितेसँगै एनसेलले ९ मेगाहर्ज फ्रिक्वेन्सी लिएको थियो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने निर्णय भएको बारेमा आफूलाई जानकारी नभएको बताए।

यो पनि हेर्नुस्-

अक्सन गुमाएको टेलिकमलाई सस्तो मूल्यमा १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी दिन माग

 

प्रकाशित: २३ श्रावण २०७७, शुक्रबार

Comments are closed.

Loading...