एनसेलले मोबाइल सेवाको अनुमतिपत्र नवीकरणको लागि ६ अर्ब ५० करोड रुपैयाँ तिर्यो

Technology Khabar ३१ असार २०७७, बुधबार

एनसेलले मोबाइल सेवाको अनुमतिपत्र नवीकरणको लागि ६ अर्ब ५० करोड रुपैयाँ तिर्यो
एनसेलको ललितपुर नख्खुमा रहेको यसअघिको कर्पोरेट कार्यालय। फाइल फोटो

मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले जीएसएम मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुर वापत सरकारलाई ६ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ ।

कम्पनीले मोबाइल सेवाको अनुमतिपत्रको पहिलो नवीकरणको अन्तिम किस्ता तथा दोस्रो नवीकरणको दोस्रो किस्ता बापत सो रकम सरकारी खातामा जम्मा गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले एनसेलले नवीकरण दस्तुर बापतको रकम बुझाएको जानकारी दिए ।

‘कम्पनीले हिजै खातामा जम्मा गरेको र आज हामीलाई पत्र पठाएर जानकारी दिएको छ,’ उनले भने ।

प्राधिकरणकाअनुसार कम्पनीले पहिलो नवीकरणको आठौं तथा अन्तिम किस्ता वापत दुई अर्ब ५० करोड रुपैयाँ बुझाएको छ। यसैगरी दोस्रो नवीकरणको दोस्रो किस्ता बापत चार अर्ब रुपैयाँ जम्मा गरेको छ ।

कम्पनीले त्यसमा अग्रिम कर कट्टि गरेर सरकारलाई २ अर्ब ५० करोडअन्तरगतको २ अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा ४ अर्ब रुपैयाँअन्तरगतको ३ अर्ब ४० करोड रुपैयाँ जम्मा गरेको हो ।

एनसेलले पहिलो नवीकरणको रकम बुझाएसँगै सरकारलाई पहिलो नवीकरण बापत कुल २० अर्ब रुपैयाँ बुझाएको छ ।

तत्कालीन स्पाइस नेपाल प्रालिको नाममा कम्पनीले मोबाइल सेवाको अनुमति पत्र २०६१ भदौ १६ मा प्रतिस्पर्धाका आधारमा पाएको थियो ।

मोबाइल सेवा अनुमति पत्रका लागि बढाबढ गर्दा एनसेलले १० वर्षको लागि २१ करोड रुपैयाँ अनुमतिपत्र दस्तुर तिर्ने र पहिलो नवीकरण दस्तुर ५ वर्षमा २० अर्ब रुपैयाँ बुझाउने शर्तसहित सबैभन्दा बढी रकम बोलकबोल गरेर अनुमतिपत्र हात पारेको थियो ।

नेपाल टेलिकमले भने मोबाइल सेवाको अनुमतिपत्रको पहिलो नवीकरणको अन्तिम किस्ता तथा दोस्रो नवीकरणको दोस्रो किस्ता बापतको कुल रकम ५ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ सोमबार नै जम्मा गरिसकेको छ।

यो पनि हेर्नुस्-

नेपाल टेलिकमको मोबाइल सेवाको पहिलो अनुमति पत्रको २० अर्ब रुपैयाँ सबै चुक्ता

TK Viber

प्रकाशित: ३१ असार २०७७, बुधबार

Loading...